१६ चैत्र २०८०, शुक्रबार
Follow Us

ढुक्क हुनुस् सरकारको नेतृत्व परिवर्तन हुँदैन : रक्षामन्त्री पोखरेल

sarusaru
१५ असार २०७६, आईतवार ०२:२३

सिन्धुली । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारको काम अहिलेसम्म राम्रो भएको र हल्लाको भरमा सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन्।

सिन्धुलीमाढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज आयोजना गरेको जननेता मदन भण्डारीको ६८औँ जन्मजयन्तीका अवसरमा नेपाल कम्युनिष्ट आन्दोलनको सफलता विषयको विचारगोष्ठी समारोहमा विरोधीका आरोपभन्दा पनि वास्ताविकता बुझ्न आग्रह गरे।

सरकार सञ्चालन आलोपालो भन्ने चर्चा धेरै भएको भन्दै उनले सरकार सञ्चालनमा आलोपालो भन्ने विषय नेकपाको सचिवालयले औपचारिक ढङ्गले नजान्ने उल्लेख गरे। दुई नेताबीच भद्र सहमति भए पनि उनले अभ्रद तरिकाले चर्चा गरेकामा असन्तुष्टि व्यक्त गरे। पार्टीमा छलफल भएमा टुङ्ग्याउने तर अनावश्यक हल्लाको पछि लागेर मन खिन्न नबनाउन कार्यकर्तालाई समेत आग्रह गरे। सरकार यसैगरी चलिरहनेमा ढुक्क हुनसमेत उनको आग्रह थियो ।

सरकारले सङ्कल्प गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना पूरा गर्ने भन्दै उनले भने, “यतिबेलाको अवस्था कस्तो छ भने खोलामा धमिलो बाढी आएको छ, तर नतरी भएको छैन, कसरी तर्ने त खोला ? खुट्टाका आँैलाले छाम्दैछाम्दै विस्तारै तरेजस्तै गरी तर्नु पर्नेछ, अहिलेको अवस्थामा थुप्रै चुनौती र अप्ठ्यारा रहेकाले सबैले जिम्मेवारीपूर्वक सोच्नुपर्नेछ।”

उनले सरकारका नीति तथा कार्यक्रम र एकतापछिको साझा निर्वाचन घोषणापत्रसँगै राखेर तुलना गर्न आग्रह गरे। अहिलेको सरकार तत्कालीन घोषणापत्रभन्दा पछि नरहेको र सरकार सञ्चालनको पाँच वर्षको अवधिमा विस्तारै सबै प्रतिबद्धता पूरा हुने विश्वास व्यक्त गरे। कार्यक्रममा सङ्घीय सांसद गणेशकुमार पहाडीले जननेता मदनभण्डारीको योजनाबद्ध तरिकाले हत्या गरिएकाले राज्यले हत्याराको पत्ता लगाउन माग गरेका थिए।
डिसी नेपाल