१४ बैशाख २०८१, शुक्रबार
Follow Us

खाल्डोमा डुबेर बालक वेपत्ता

sarusaru
१५ असार २०७६, आईतवार ०२:३८

मलंगवा : सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ श्रीनगर स्थित बाँके खोलामा अवैध रुपमा ढुङ्गा गिट्टी निकाल्ने क्रममा बनेको गहिरो खाल्डोमा परेका एक बालक वेपत्ता छन् ।

उक्त खाल्डोमा जमेको पानीमा शनिबार बिहान बालक डुबेका थिए । स्थानीय लाले रायका १२ वर्षीय छोरा अमित राय खाल्डोमा डुबेपछि वेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार करिब साढे ११ बजे साथीहरुसँग नुहाउन गएका अमित खाल्डोमा डुबी वेपत्ता भएका हुन् ।

अमितको खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराइले बताएका छन् । पानी धमिलो रहेको र खाल्डो गहिरो भएकाले पत्ता लगाउन समस्या भएको प्रहरी उपरीक्षक भट्टराइ बताउँछन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टीम अहिले खोजीकार्यमा लागिरहेको छ । यहाँ खाल्डोको भाग ४ सय मिटरभन्दा धेरै क्षेत्रफलमा फैलिएकोले बालबालिकाका लागि खतरायुक्त मानिन्छ । नगरपालिकाको ठेक्का पाएका ठेकेदारले अवैध रुपमा उत्खनन् गर्दा उक्त खाल्डो गहिरो बनेको छ ।

मापदण्ड विपरीत उत्खन्न गर्दा गहिरो खाल्डो बनेको वडा नम्बर १३ का अध्यक्ष रामकरण महतो बताउँछन् । करिब १५ देखि २० फिट गहिरो उक्त खाल्डोमा खोलामा बाढी आउँदा पानी जमेको हो । स्थानीयले भने यहाँ उत्खन्न नगर्न आग्रह गर्दैथिए । साथै खाल्डो पुर्न समेत स्थानीयले आग्रह गर्दैआएका थिए । बस्तीको नजिकै रहेकाले बालकालिका खेल्न जाने गर्थे ।
अन्नपूर्ण पोष्ट