१३ बैशाख २०८१, बिहीबार
Follow Us

सेफ्टी ट्यांकमा निसास्सिएर चार जनाको मृत्यु

sarusaru
१५ असार २०७६, आईतवार ०२:४८

सेफ्टी ट्यांकभित्र निसास्सिएर मोरङको सुनवर्षी नगरपालिकामा शनिबार चार जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार सुनवर्षी नगरपालिका-९ डायनियास्थित मस्जिदको सेप्टिक ट्यांकको ढलानको काठको सेटिङ खोल्न छिरेका सात मजदुरमध्ये चार जनाको मृत्यु भएको हो।

प्रहरीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिकाका २० फिरोज आलम, २५ वर्षीय मोहम्मद सहनवाद, ४५ वर्षीय कपिल आलम, २२ वर्षीय ओसिव आलम छन्।

घाइते भएका ४० वर्षीय दाउद मियाँ, ४८ वर्षीय हेमन्त मियाँ र ४० वर्षीय डाम्रा मियाँ उपचारपछि घर फर्केका छन्। घाइते भएका सातै जनालाई उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल ल्याइएको थियो। उपचारका क्रममा चार जनाको मृत्यु भएको हो।

दिउँसो करिब साढे तीन बजे उनीहरू सेफ्टी ट्यांकको सेटिङ खोल्न छिरेका थिए। ‘भित्र अक्सिजनको कमी भएका कारण मृत्यु भएको प्रारम्भिक अनुमान छ,’ मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले सेतोपाटीसँग भने, ‘घटनाबारे अनुसन्धान गरिरहेका छौं।’

उनका अनुसार ट्याङकी निकै गहिरो रहेको त्यहाँभित्र केही पानी पनि जम्मा भएको थियो।

सेफ्टी ट्यांकमा पसेको लामो समयसम्म कोही पनि ननिस्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुग्दा सबै बेहोस् थिए। तत्काल उद्धार गरेर प्रहरी सबैलाई अस्पताल लगेको थियो।

सेतोपाटी