पूर्णप्रसाद मिश्र।

विश्व सम्पदा सूचीमा सूचिकृत विश्वका बौद्धमार्गीको आस्थाको केन्द्र लुम्बिनी जाने सडकमा उड्ने धुलोका कारण पर्यटक आवागमनमा नकारात्मक प्रभाव परेको छ ।

धुलोले यहाँका स्थानीयवासीमा समेत नकारात्मक वातावरणीय प्रभाव परेको छ । वार्षिक लाखौँ पर्यटक आउने सांस्कृतिक सम्पदा भए पनि वातावरणीयरुपमा स्वच्छ राख्न सरोकार भएका कुनै पनि निकायले काम गरेका छैनन् ।

धुलोका कारण श्वासप्रश्वासलगायत स्वास्थ्य समस्यासमेत बढेको सुण्डी माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत बुध कुँहार बताउनुहुन्छ । “सडकमा धुलो हुन थालेपछि सधैँजसो रुघा लाग्छ, घाँटी खस्खसाउँछ, आँखा रातो हुने समस्या छ, विद्यालय गएर पढ्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो ।

सडकमा हिँड्दा आँखामा धुलोसमेत पर्ने गरेकाले आवतजावतमा समस्या हुने गरेको छ । यसका कारण विश्वका मानिसको ओहोरदोहोर हुने यो सडकका कारण पर्यटकमार्फत नकारात्मक सन्देश प्रवाह भइरहेको छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी २० लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । नेपाल भ्रमण गर्न आउने पर्यटक पुग्ने प्रमुख स्थानमध्येको लुम्बिनी जाने सडकले प्रवाह गर्ने सन्देशका बारेमा बेलैमा सरोकार भएका निकायले ध्यान दिनुपर्ने स्थानीय सदना भुज बताउनुहुन्छ ।

मायादेवी गाउँपालिकाको बेथरीबाट लुम्बिनीसम्मको सडक डेढ वर्षदेखि घाम लागेका बेला धुलो र पानी परेका समयमा हिलोले यात्रामा कठिनाइ हुने गरे पनि सरोकार भएका निकायको ध्यान जान सकेको छैन । सुण्डी माविमा कक्षा १० मा अध्ययनरत वृजमोहन यादव सडकमा गिट्टी खन्याएर छोडे पनि नमिलाउँदा सवारीले उछिट्याइ आँखामा लाग्ने गरेको गुनासो गर्नुहुन्छ ।

मायादेवी गाउँपालिका–४, वनकसिया, कोइलीहवा, महिजिदियालगायत स्थानका मूल सडक जीर्ण हुँदा आन्तरिक एवं बाह्य पर्यटक दिक्क हुने गरेका छन् । ताप्लेजुङबाट लुम्बिनी घुम्न आउनुभएका सुमन लिम्बू लुम्बिनी जाने सडकको यस्तो दुर्दशा होला भन्ने नसोचेको बताउनुहुन्छ ।

काठमाडौँबाट लुम्बिनी घुम्ने पर्यटक लिएर गइरहनुहुने पर्यटन व्यवसायी तिलक श्रेष्ठ विश्वमै बुद्ध जन्मस्थल भनेर चर्चामा रहेको लुम्बिनीलाई किन वातावरणीयरुपमा आकर्षक नबनाएको भनी विदेशीले सोध्ने गरेको सुनाउनुहुन्छ । पर्यटकले यस्ता प्रश्न गर्दा के उत्तर दिने भनी अलमलमा पर्ने गरेको अनुभव उहाँको छ ।

यहाँका सडकमा साइकल पनि पर्याप्त गुड्छन् । सडकको जीर्णताका कारण धेरैजसो साइकल दुर्घटना हुने गरेको साइकलमा सवार जगदीश लोन बताउनुहुन्छ । निर्माण व्यवसायीले कहिलेकाहीँ मात्र धुले सडकमा पानी हाल्छन् । पानी हालेको एक दुई घण्टामै सुक्ने फेरि धुलो उड्ने गरेको उहाँको गुनासो छ ।

सडक बिस्तार गर्ने नाममा किनारका रुख बिरुवा काटेकाले वातावरणीयरुपमा नकारात्मक प्रभाव पारेको छ । जेठको घाममा पहिले रुख बिरुवा भएको भागबाट हिँडिने गरेकामा काटेपछि समस्या भएको स्थानीय बुध कुहाँरको दुःखेसो छ ।

वातावरण विभागका रसायनविद् (केमिष्ट) केशव पौडेल ठेक्का सम्झौतामा वातावरण नबिग्रने गरी काम गर्न दैनिक पानी हाल्ने व्यवस्था हुने गरेको बताउनुहुन्छ । तर यस्तो व्यवस्थालाई व्यवसायीले पालना गर्ने गरेका छैनन् । सडकमा विशिष्ट व्यक्तिको आवागमन हुँदा मात्र पानी हालिन्छ । सम्झौतामा लेखिएको विषय स्थानीयवासीलाई थाहा नहुने भएकाले पनि किन पानी हालिएन भनेर कसैले खोजी गर्दैन ।

वातावरणमैत्री छैनन् उद्योग

विभागले तीन वर्षअघि लुम्बिनी क्षेत्रमा गरेको अनुगमनमा त्यहाँ सञ्चालित उद्योगले सांस्कृतिक सम्पदामा असर पु¥याएको निष्कर्ष निकालेको थियो । धुलोमात्र होइन, यहाँका उद्योगले फोहर पानी पनि निकालिरहेका छन् । रिलायन्यस पेपर मिल्स प्रालिले प्रशोधन गरेर दानव खोलामा पानी हाल्ने गरेको छ । फोहर पानीको प्रयोगशालामा परीक्षण गर्दा ‘बायोलोजिक अक्सिजन डिमाण्ड’ को मात्रा सरकारले तोकेकोभन्दा बढी पाइएको अनुगमन प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी सिद्धार्थ रिफइनरी एण्ड सल्भेन्ट्स प्रालिले निष्काशन गरेको फोहर पानी पनि मापदण्डभन्दा बढी पाइएको छ । लुम्बिनी क्षेत्रका धेरै उद्योगले वातावरणीय व्यवस्थापन प्रणाली अवलम्बन गरेका छैनन् । विश्वका धेरै उद्योगले यो प्रणालीलाई पछ्याए पनि नेपालका धेरै उद्योगले वातावरणीय पक्षमा ध्यान नदिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

लुम्बिनी–भैरहवा औद्योगिक करिडोरमा रहेका सिमेन्ट, खाद्य, इट्टा, स्टील, स्पीनिङ र सिन्थेटिक, प्लाइउड, हर्बल एवं पेपर उद्योगमा प्रयोग भएका जेनेरेटर सेट, ब्वाइलर फर्नेश आयल सेट र तिनमा प्रयोग हुने डिजेल, धानको भुस, फर्नेश आयल, दाउरा र कोइला, सिमेन्ट उद्योगबाट चुहिने सिमेन्टको धुलो त्यस क्षेत्र वरपर वायु प्रदूषणको प्रमुख स्रोत बनेको छ ।

विश्व सम्पदा सूचीमा सूचिकृत यस क्षेत्रको वातावरणीय सुधारमा सरोकार भएका निकायले बेलैमा ध्यान नदिए प्रदुषणका कारण पर्यटक आवागमनमा प्रभाव पर्नसक्ने स्थानीयवासीको चिन्ता छ ।