१४ बैशाख २०८१, शुक्रबार
Follow Us

विवेकशील नेपाली दल डलरमा चलेकाे खुलासा

नेपालब्रिटेन डट कम्
१५ असार २०७६, आईतवार १५:५०

काठमाडौं । नेपालको राजनीतिक दलले विदेशी संस्थाबाट आर्थिक सहयोग लिएको दाबी गर्दै नयाँ शक्ति विद्यार्थी युनियनले निर्वाचन आयोगमा उजुरी दिएको छ ।
नेपालको राजनीतिक दलसम्बन्धी कानुनअनुसार यस्तो सहयोग लिन नपाइने भएपनि विवेकशील नेपाली दलले आर्थिक सहयोग लिएको भन्दै युनियनले आज (आइतबार) आयोगमा उजुरी दिएको हो ।

युनियनको तर्फबाट केन्द्रीय सचिव डा. राम देव पण्डित र राजनीतिक युवा अभियन्ता मोहम्मद इरफानले आयोग कार्यालय पुगेर उजुरी दर्ता गराएका छन् । साथै उनीहरुले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई समेत भेटेर उजुरी बुझाएका छन् ।

“विवेकशील नेपाली दल’ले स्थापना कालदेखि नै विदेशी गैरसरकारी संस्थाहरुबाट पटक पटक रकम प्राप्त गरेको र गर्दै आएको करोडौं विदेशी रकम चुनावी प्रयोजनका लागि खर्च गरेको हुन सक्ने भएकाले यस विषयमा छानबिन र कारबाही हुनुपर्ने मागसहित यो उजुरी पेश गरेका छौं,” उजुरीमा भनिएको छ ।

नेपालमा २०७२ सालमा गएको महाभूकम्पका पीडितहरुको नाममा अमेरिकास्थित ‘टाउन अफ इन्डियन हेड’का उप­मेयर अमेरिकी नागरिक किरण सिटौलाले अमेरिकामा ५ करोड रकम उठाएको र जसमध्ये २ करोड ५० लाख बूढानिलकण्ठ स्कूलको पूर्व विद्यार्थी समाज (सेब्स)मा जम्मा गरिएको देखिएको युनियनको भनाइ छ । साथै ४० लाख रुपैयाँ ‘विवेकशील नेपाली दल’लाई चन्दा दिएको तथ्य सेब्सको वेबसाइटमा उल्लेख गरिएको तर बाँकी २ करोड १० लाख रुपैयाँको हिसाबकिताब कहीँकतै सार्वजनिक नगरिएको उजुरीमा उल्लेख गरिएको छ ।
विवेकशील नेपाली दलका अध्यक्ष उज्वल थापा स्वयंले टेलिभिजन अन्तर्वार्ताहरुमा सेब्स नर्थ अमेरिका र अन्य केही गैरसरकारी संस्थाहरुबाट सहयोग लिएको स्वीकार गरेका थिए ।
नेपाली कानुनअनुसार कुनै पनि स्वदेशी र विदेशी गैरसरकारी संस्थाबाट नेपाली राजनीतिक पार्टीले सहयोग लिन नपाउने व्यवस्था रहेको युनियनले आयोगलाई स्मरण गराएको छ । “नेपालमा राजनीतिक दलसम्बन्धी कानुनअनुसार विदेशबाट परोपकारी वा अन्य कुनै पनि किसिमको कामको लागि आएको रकम राजनीतिक प्रयोजनमा प्रयोग गर्न नपाइने व्यवस्था रहेको कुरा अवगत नै छ । अमेरिकी कानुनअनुसार पनि सामाजिक कार्यका लागि उठाइएको रकम कुनै पनि राजनीतिक पार्टीलाई सहयोग गर्न नमिल्ने व्यवस्था रहेको छ । यसरी नेपाली र अमेरिकी दुवै कानुनको उल्लङ्घन अमेरिकी नागरिक सिटौलाले गरेको पाइएको छ । अतः यस विषयमा पनि आयोगको ध्यानाकर्षण गराउन चाहन्छौं,” उजुरीपत्रमा भनिएको छ ।

नयाँ शक्ति विद्यार्थी युनियन नयाँ शक्ति पार्टी नेपालको विद्यार्थी संगठन हो । हाल नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच पार्टी एकता भएर समाजवादी पार्टी नेपाल गठन भइसकेको छ । तर, विद्यार्थी संगठनको भने एकता प्रक्रिया पूरा भइसकेको छैन ।