१२ बैशाख २०८१, बुधबार
Follow Us

सिसडोलमा स्थानीय र प्रहरीबीच झडप

sarusaru
१६ असार २०७६, सोमबार ०२:२६

नुवाकोट : काठमाडौ उपत्यकाबाट संकलित फोहोर विसर्जन गरिँदै आएको नुवाकोटको ओखरपौवास्थित सिसडोलमापुन विवाद उत्पन्न भएको छ । शनिबार स्थानीयवासी र प्रहरीबीच झडप भयो । प्रहरीले लाठीचार्ज गरी फोहोर फाल्यो ।

विभिन्न माग राखी फोहोर रोक्न बसेका स्थानीयमाथि प्रहरीले लाठी चार्ज गरेको थियो ।स्थानीयको जग्गा अधिग्रहण गरिनु पर्ने, सिसडोलको विकल्पमा अबदेखि वन्चरेडाँडामा फोहोर सिसर्जन केन्द्र निर्माण गरिनु पर्ने माग राख्दै स्थानीयले ५ दिनदेखि फोहोर फाल्न अबरोध पुर्‍याएका थिए ।

स्थानीयवासीको मागलाई वेवास्ता गरी प्रहरीले लाठीचार्ज गरेको ककनी वडाध्यक्ष चन्द्रबहादुर बलामीले गुनासो गरे। बलामीका अनुसार प्रहरीको लाठीचार्जबाट स्थानीयलाई घाइते भएका छन्। घाइतेहरुको काठमाडौका विभिन्न अस्पताल र स्थानीय स्वास्थ्यसंस्थामा उपचार भइरहेको उनले जानकारी दिए ।

स्थानीय चन्द्रमान बलामीको नेतृत्वमा गठित सिसडोल व्यवस्थापन संघर्ष समितिले सरकारले आफूहरुको माग सम्बोधन नगरी प्रहरी परिचालन गरी जनतामाथि दमन जारी राखे कडा संघर्षमा पनि उत्रिने चेतावनी दिएको छ ।

समितिका सदस्य उमेशमान श्रेष्ठ बलामीले प्रहरीले लाठीचार्ज गर्दा १५ जना स्थानीय घाइते भएको र २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए। माथिको आदेशको पालना गर्न आएको भन्दै पुगेका नेपाल र सशस्त्र प्रहरी गरी एकसय जनाको प्रहरी टोली र स्थानीयबीच झडप भएको थियो । झडपमा बालाजु प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक बालनरसिंह राणा घाइते भएको प्रहरीको भनाइ छ । प्रहरी र स्थानीयबीच झण्डै तीन घण्टा तनावपूर्ण अवस्था उत्पन्न भएको थियो । झडपपछि पक्राउ परेका केही स्थानीयलाई विदुर ल्याइएको छ भने केहीलाइ काठमाडौँ लगिएको छ ।

काठमाडौ उपत्यकामा संकिलत करिब दैनिक ३५० ट्रिपरले सिसडोलमा फोहोर फाल्ने गरेका छन्। दुई वर्षका लागि फोहोर फालिने भनेको सिसडोलमा १३ वर्ष बितेर डांडो नै भरिदासमेत विकल्प खोजिएको छैन।

प्रहरीले फोहोर फाल्न गएको गाडीमाथि आक्रमण हुने आशंकाले सुरक्षाका लागि प्रहरी गएको र स्थानीयसँग विवाद भएको नुवाकोट प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक कृष्णवहादुर पल्लिमगरले जानकारी दिएका छन्।

प्रहरीको सहयोगमा शनिबार दुई घण्टाको अवधिमा ५६ ट्रिपर फोहोेर फालिएको मगरले बताए ।
अन्नपूर्ण पोष्ट