७ बैशाख २०८१, शुक्रबार
Follow Us

सर्वधर्मसमभाव र विश्वअभ्युदय


१४ असार २०७३, मंगलवार १२:१६

hqdefault–डा. जगमान गुरुङ ।

विषय र प्रसङ्ग अनुसार धर्म शब्दको विभिन्न व्युत्पत्ति र अर्थ गरिएको छ । यथार्थमा श्रद्धा, विश्वास, भक्ति, मान्यता र तदनुरूपको आचरण नै धर्म हो । जसरी डोरीले घाँस, दाउरालाई बाँधेर भारी मिलाउन सकिन्छ, त्यसरी नै धर्मसूत्रले मानिसको मन, मस्तिष्कलाई पवित्र र जीवनलाई सुव्यवस्थित एवं सुखमय बनाउँदछ ।
दर्शन एउटा चिन्तन हो । यसैगरी दर्शन एउटा अनुभूत दृष्टिकोण हो, किनभने दृश्यते इति दर्शनम् भनेर दर्शन शब्दको व्युत्पत्ति गरिएको छ तर जे देखिन्छ, त्यो दर्शन होइन, देखिएको वस्तुप्रतिको अनुभूत दृष्टिकोण दर्शन हो । धर्मले त्यस दार्शनिक चिन्तन एवं दृष्टिकोणलाई विधानद्वारा सुव्यवस्थित बनाउँदछ । संस्कृतिले उक्त दार्शनिक चिन्तन र दृष्टिकोणलाई लोक व्यवहारद्वारा आफ्नो जीवनमा अपनाउँदछ । अतः संस्कृति मानिसको जीवनशैली हो । सभ्यता मानिसको भौतिक विकासको नमूना हो भने संस्कृति चाहिँ उन्नत मानव मस्तिष्कको विकासको द्योतक हो ।
अहिले यस संसारमा विभिन्न धर्म एवं धार्मिक सम्प्रदायहरू प्रचलित छन् । सबै धर्मको उद्देश्य संसारमा शान्ति स्थापना गरेर यसलाई सुखमय बनाउनु हो । यस प्रयोजनको लागि प्रत्येक धर्मले आ–आफ्ना नीति तथा आचारसंहिता तय गरेका छन् । सबै धर्मको उद्देश्य यस संसारलाई सुखमय बनाउने भएतापनि नीति, नियम, मान्यता र आदर्श भने फरक–फरक छ । यसरी धार्मिक नीति, नियम, मान्यता र आदर्श फरक–फरक भएतापनि सबै धर्मको दार्शनिक चिन्तनमा भने समन्वय र सामन्जस्यता पाइन्छ । सबै धर्मको दार्शनिक चिन्तनमा अन्तरनिहित यही समन्वय र सामन्जस्यताको भाव नै सर्वधर्मसमभाव हो । यस लेखमा यही सर्वधर्मसमभावको विश्लेषण र संश्लेषण गर्ने प्रयास गरिएको छ ।
हिन्दू धर्मको दार्शनिक चिन्तन उपनिषद्मा पुगेर टुङ्गिन्छ । अतः उपनिषद्को दार्शनिक चिन्तनलाई वेदान्त अथवा ज्ञानको पराकाष्ठा अवस्था मानिएको छ । उपनिषद्को मुख्य विवेच्य विषय जीव, जगत र ब्रह्म हो । उपनिषद्ले जीव र ब्रह्मको बारेमा यसरी विवेचना गरेको छ, जस्तै–
ॐ पूर्णमदः पूर्णमिदं पूर्णात्पूर्णमुदच्यते ।
पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ।।
(पूर्णम्+अदः=पूर्णमदः, अदः=त्यो, त्यो=ब्रह्म, पूर्णम्=पूर्ण छ, पूर्णम्+इदम्=पूर्णमिदं, इदम्=यो, यो=जीव, पूर्णम्=पूर्ण छ, किनभने पूर्णात्=पूर्णबाट अर्थात् ब्रह्मबाट पूर्णम्=पूर्ण अथवा जीव, उद्च्यते=प्रकट हुन्छ । अन्तमा पूर्णस्य=पूर्णको अर्थात् जीवको, पूर्णम्=पूर्णत्व, आदाय=लिएर अथवा आपूmमा आत्मसात् गरेर, पूर्णम् एव=पूर्ण मात्र अर्थात् ब्रह्म मात्र अथवा ब्रह्मको सत्ता मात्र, अवशिष्यते=बाँकी रहन्छ) ।
आद्य जगद्गुरु शङ्कराचार्यले जीव, जगत र ब्रह्मको बारेमा यस प्रकारले व्याख्या गर्नुभएको छ, जस्तै–
श्लोकाद्र्धेन प्रविक्ष्यामि यदुक्तं ग्रन्थ कोटीभि ।
ब्रह्म सत्य जगन्मिथ्या जीवो ब्रह्मैव नापर ।।
(करोडौँ ग्रन्थमा जुन भनिएको छ, त्यसलाई आधा श्लोकमा भन्दछु । ब्रह्म सत्य हो, जगत मिथ्या हो, जीव ब्रह्म नै हो, अर्को होइन) ।
बृहत्दारण्यकोपनिषद्मा जीव वा आत्मालाई ब्रह्म भनेको छ, जस्तै– अयमात्मा ब्रह्म (यो आत्मा ब्रह्म हो) । यसैगरी बृहत्दारण्यकोपनिषद्मा ब्रह्मलाई खं अथवा शून्य मानिएको छ, जस्तै– ॐ खं ब्रह्म । खं यो आकाशबीज हो र आकाश सर्वव्यापक अव्यक्त शून्य तŒव हो । ब्रह्मका अव्यक्त र व्यक्त दुई रूप छन्, जसलाई शून्यं च अशून्यं च भनेको छ । ब्रह्मको शून्यरूप अव्यक्त छ र अशून्यरूप व्यक्त छ । ब्रह्मको अशून्य अथवा व्यक्तरूप जगत हो । अतः ब्रह्मको अशून्य अथवा व्यक्तरूप जगत असद्रुप हो । ब्रह्मको शून्य अथवा अव्यक्तरूप सद्रुप हो । त्यसकारण ब्रह्म सत्य जगन्मिथ्या भनेको हो । जगत यो नाना नामरूपात्मक छ । जगतको अर्थ नै नाशवान वस्तु हो । अतः ईशावास्योपनिषद्मा यत्किञ्च जगत्यां जगत् (जगत्याम्=जगत् अथावा पृथ्वीमा, यत् किञ्च=जुन कुनै, जगत्=नाशवान् वस्तु छ) भनेको छ । अतः जगत नाशवान् भएकोले यसलाई असत्य मानिएको हो ।
जगतको सम्बन्धमा विशिष्टाद्वैतदर्शनका प्रवर्तक रामानुजाचार्यको सिद्धान्त पृथक खालको छ । विशिष्टाद्वैतदर्शनको दार्शनिक सिद्धान्त यस्तो छ, जस्तै– चित् अचित् धर्मावच्छिन्नत्वं विशिष्टत्वम् (चित्=चेतन र अचित्=अचेतन् अथवा जडपदार्थ यो जगत दुवै धर्म=गुणले अवच्छिन्नत्वम्=युक्त ईश्वर, विशिष्टत्वम्=विशिष्ट हुनुहुन्छ ।)
यो जगत् ईश्वरको सृष्टि हो । त्यसकारण जतिसम्म ईश्वर सत्य छ, त्यति नै यो जगत पनि सत्य छ । यसरी चित् र अचित् गुणले युक्त ईश्वर अद्वैत अथवा केवल एउटा मात्र छ । त्यो अद्वैत र विशिष्ट ईश्वर श्रीमन्नारायण हुनुहुन्छ ।
ब्रह्मलाई शून्य मानिएको सम्बन्धमा मध्यान्तविभाग टीकाको वचन उल्लेखनीय छ । मध्यान्तविभाग टीकामा शून्यतामा शून्य स्वरूपले रहेको परम तŒवलाई ब्रह्म भनेको छ, जस्तै–शून्यता विद्यते त्वत्र तस्यामपि स विद्यते । (त्वत्र=त्यहाँ, शून्यता=शून्यता अथवा शून्य हुनुको भाव, विद्यते =रहन्छ र तस्याम् अपि=त्यसमा पनि, स=त्यो अथवा ब्रह्म, विद्यते=रहेको हुन्छ ।
भगवान् शाक्यमुनि बुद्ध अनात्मावादी थिए तर परवर्ती बौद्ध साहित्यले विशद्रूपमा शून्यताको व्याख्या गरेको छ । अतः बौद्ध दर्शनको विवेचना गर्दा यी परवर्ती बौद्ध साहित्यलाई नकार्न सकिदैन, किनभने यी परवर्ती बौद्ध साहित्यले बौद्ध दर्शनको अभावलाई पूरा गरेको छ । अद्वयवज्रसंग्रहमा शून्यतालाई सृष्टिको स्रोत मानिएको छ, जस्तै–
शून्यता बोधितो बीजं बीजात्बिम्ब प्रजापते ।
बिम्बे च न्यास विन्यासौ एतद् सर्वं प्रतीत्ययम् ।।
(शून्यता=शून्यतालाई, बीजं=बीज, बोधितो=बुझ्नू किनभने बीजात्=बीज अथवा शून्यताबाट बिम्ब=भूगोल, पृथ्वी अथवा यो जगत, प्रजायते=प्रकट हुन्छ । बिम्बे=भूगोलमा, च=पनि, न्यास=सृष्टि र विन्यास=प्रलय भइरहन्छ, अतः सर्वं=सबैलाई, एतद्=यस्तै, प्रतीत इयम्= बुझ्नू अथवा मान्नू) ।
यसैगरी बोधिचर्यावतारमा शून्यतालाई निर्वाणको कारण मानेको छ, अर्थात् शून्यतालाई नै निर्वाण मानेको छ, जस्तै– शून्यतैव निर्वाणकारणम् (शून्यता=शून्यता, एव=नै, निर्वाण=निर्वाणको, कारणम्=कारण हो) ।
यसरी उपनिषद्को पूर्णमदः पूर्णमिदंको अवधारणा र बौद्ध दर्शनको शून्यता सम्बन्धी अवधारणाको बीचमा तादात्म्यता रहेको तथा शून्यतामा शून्य स्वरूपले रहेको परमतŒवलाई वेदान्त दर्शनले ब्रह्म मानेको र त्यही परमतŒवलाई बौद्ध दर्शनले वज्र मानेको बुझिन्छ । अतः निष्कर्षतः संज्ञा अलग अलग भएतापनि तŒव भने एउटै हो भन्ने स्पष्ट हुन्छ । यसको पुष्टिको लागि चक्रशंवरतन्त्रको दुईटा मन्त्रको यहाँ उल्लेख गर्न सान्दर्भिक हुनेछ, जस्तै–
ॐ स्वभाव शुद्धः सर्वधर्मस्वभावशुद्धोऽहम् ।
(म स्वभाव अथवा आपूm भन्ने भाव अर्थात् चित्त शुद्ध भएको र सर्वधर्मस्वभाव अर्थात् इन्द्रियहरूको विषयग्रहण गर्ने आसक्ति शुद्ध भएको अवस्थाको छु) ।
ॐ शून्यताज्ञानवज्रस्वभावात्मको ऽ हम् ।
(म शून्यताज्ञान दृढ अथवा स्थिर भइसकेको अवस्थाको छु ।)
यसरी चक्रशंवरतन्त्रको शून्यताज्ञानवज्रस्वभावात्मको ऽ हम्को सिद्धान्त र श्रमिद्भगवत्गीतामा उल्लेखित स्थितप्रज्ञ (समाधिमा स्थिरबुद्धिवाला) सिद्धान्तको बीचमा अन्तरसम्बन्ध रहेको पाइन्छ ।
शंको अर्थ सुख र वरको अर्थ महा हो । अतः शंवरको अर्थ महासुख हो । राग अथवा तृष्णा शून्यमा गएर विलय भएको अवस्थामा शंवरोदय हुन्छ अथवा महासुख प्राप्त हुन्छ । योगको भाषामा यस अवस्थालाई धर्ममेघसमाधि भन्दछ । जसरी यस पृथ्वीका पदार्थहरू बाफ भएर मेघ अथवा बादलको रूपमा आकाशमा आश्रित हुन्छन्, त्यसरी नै मानिसका इन्द्रियहरूको विषय ग्रहण गर्ने आसक्ति शून्यमा विलय भएको अवस्था धर्ममेघसमाधि हो । यसरी शंवर अथवा महासुख र आत्मानन्द, ब्रह्मानन्द, परमानन्द एवं सच्चिदानन्दको अवधारणाका बीच तादात्म्यता रहेको छ ।
श्रीमद्भगवत्गीतामा आत्मालाई यस प्रकारले परिभाषित गरेको छ, जस्तै–
अच्छेद्योऽयमदाह्योऽयमक्लेद्योऽशोष्य एव च ।
नित्यः सर्वगतः स्थाणुरचलोऽयं सनातनः ।।
(यो आत्मा हतियारले छेड्न नसकिने, आगोले जलाउन नसकिने, पानीले गलाउन नसकिने, हावाले सोस्न नसकिने यस्तो र नित्य, सर्वव्यापक, स्थिर, अचल तथा सनातन छ) ।
यसैगरी अद्वयवज्रसंग्रहमा वज्रलाई यसरी परिभाषित गरेको छ, जस्तै–
दृढसारमसंशीर्यमच्छेद्याभेद्यलक्षणम् ।
अदाहि अविनाशी च शून्यता वज्रमुच्यते ।।
(बडो अचल, साह्रो, फोर्न नसकिने, प्वाल पार्न नसकिने यस्तो लक्षण भएको, आगोले जलाउन नसकिने र कहिल्यै नाश नहुने शून्यतालाई वज्र भनिन्छ) ।
यसरी श्रीमद्भगवत्गीतामा गरिएको आत्माको परिभाषा र अद्वयवज्रसंग्रहमा गरिएको वज्रको परिभाषा एक समान छ ।
ऐतरेयोपनिषद्मा प्रज्ञालाई ब्रह्म भनेको छ, जस्तै– प्रज्ञानेत्रो लोकः प्रज्ञा प्रतिष्ठा प्रज्ञानं ब्रह्म ।
(प्रज्ञा समस्त जगत्को आँखा हो । प्रज्ञा सबैको आधार हो, प्रज्ञा अथवा प्रज्ञान ब्रह्म हो) ।
यसैगरी अद्वयविवरणप्रज्ञोपायविनिश्चयसिद्धिमा अभाव (असत्ता) लाई प्रज्ञा र भाव (सत्ता)लाई उपाय मानेको छ, जस्तै–अभावलक्षणा प्रज्ञा, भावलक्षणा उपाय । (अभावलक्षण (असत्ता) प्रज्ञा र भावलक्षण (सत्ता) उपाय हो) ।
यस अर्थमा भाव अभाव विनिर्मुक्त अवस्था नै निर्वाण हो र निर्वाण महासुख हो । यसरी वेदान्त दर्शनको ब्रह्म र मायाको अवधारण र बौद्ध दर्शनको प्रज्ञा र उपायको अवधारणाको बीचमा तादात्म्यता रहेको छ ।
प्रज्ञोपाय दर्शनको सम्बन्धमा मानिसहरू अलमलिएको देखिन्छ । प्रज्ञा स्त्रीलिङ्ग शब्द र उपाय पुलिङ्ग शब्द हो । अतः शब्दको आधारमा मानिसहरू प्रज्ञालाई स्त्रीतŒव र उपायलाई पुरुषतŒव मान्दछन् तर वास्तवमा प्रज्ञा र उपाय नभईकन प्रज्ञा र करूणा दुई तŒव छन् र प्रज्ञा एवं करूणा दुवै स्त्रीलिङ्ग शब्द हुन् । जगतको कल्याणको हेतु भएको हुनाले करूणालाई उपाय भनेको हो । अतः वास्तवमा उपाय भनेको करूणा हो ।
ऐतरेयोपनिषद्मा प्रज्ञालाई ब्रह्म भनेको कुरा यस अघि नै उल्लेख भईसकेको छ । यहाँ स्त्रीलिङ्ग शब्द प्रज्ञाले पुरुष ब्रह्मलाई बुझाएको छ । विषय वा प्रसङ्ग अनुसार प्रज्ञालाई ललना र भगवती पनि भनेको पाइन्छ तर प्रज्ञोपाय दर्शनको सन्दर्भमा भने प्रज्ञा पुरुषतŒव र करूणा तथा उपाय स्त्रीतŒव हो, किनभने प्रज्ञा नै शून्यता हो, शून्यता नै वज्र हो र वज्र नै पुरुषतŒव हो । अर्को अर्थमा करूणा तथा उपायलाई पद्म पनि भनेको छ र पद्म स्त्रीतŒव हो । ज्ञानसिद्धि नामक बौद्धग्रन्थबाट यो कुरा राम्ररी सिद्ध हुन्छ, जस्तै–
स्त्रीन्द्रियं च यथा पद्मं
वज्रं पुंसेन्द्रियं तथा (यथा =जस्तै, पद्मं=पद्म अथवा कमल, स्त्रीन्द्रियं=स्त्री इन्द्रिय, च=र, तथा=त्यस्तै, वज्रं=वज्र चाहिँ, पुंसेन्द्रियं=पुरुष इन्द्रिय हो) ।
यसरी प्रज्ञोपाय दर्शनको वास्तविकता राम्ररी छर्लङ्गिन्छ र प्रज्ञा पुरुषतŒव तथा करूणा एवं उपाय स्त्रीतŒव हो भन्ने गुढ अर्थ बोध हुन्छ । वेदको सार उपनिषद्को निचोड वेदान्त हो भने बौद्ध दर्शनमा प्रज्ञा अथवा शून्यताज्ञानको निचोड प्रज्ञापारमिता हो भन्ने वास्तविकता पनि यस सन्दर्भमा मननीय छ ।
यस आधारमा हिन्दू धर्म–दर्शन र बौद्ध धर्म–दर्शनका दार्शनिक सिद्धान्तहरूको बीचमा तातिŒवक अन्तर सम्बन्ध रहेको स्पष्ट हुन्छ ।
हिन्दू धर्ममा ॐकारलाई प्रणवबीज मानिएको छ । प्रणव ईश्वरवाचक शब्द हो । ईश्यावास्योपनिषद्मा ॐकारलाई परम ब्रह्म र सबै मन्त्रहरूको नायक मानिएको छ, जस्तै– ॐकारं परमं ब्रह्म सर्वमन्त्रेषु नायकम् (ॐकारं परम ब्रह्म हो र सबै मन्त्रहरूमा नायक हो) ।
यसैगरी श्रीमद्भगवत्गीतामा ॐकारलाई ब्रह्म भनेको छ, जस्तै– ओमित्येकाक्षरं ब्रह्म (ॐ यो एक अक्षररूप ब्रह्म हो) ।
अ, उ, म् यी तीनओटा अक्षर मिलेर ॐकार बनेको छ । ॐकारमा सृष्टि, स्थिति र प्रलयलाई अभिव्यक्त गरिएको छ । अ, उ, म् यी तीनओटा अक्षरको संयुक्त स्वरूप ॐकार यो सृष्टिको क्रम हो । प्रलय अवस्थामा उ, अ, म् यस्तो क्रम बन्दछ र यसको संयुक्त स्वरूप वंकार हुन्छ । अतः ॐकार सृष्टि र वंकार प्रलय अवस्था हो । ॐकारमा सृष्टि, स्थिति र प्रलयका अतिरिक्त कला, नाद र विन्दुलाई पनि प्रतीकात्मक रूपमा प्रतिबिम्बित गरिएको छ ।
ॐकारको अगाडिपट्टिको अङ्ग्रेजीको थ्रि (तीन) अक्षर जस्तो आकृति सृष्टि, स्थिति र प्रलयको प्रतीक हो । ॐकारको पछाडिपट्टिको धुपौरोको बिँडजस्तो आकृति उध्र्व त्रिकोण अर्थात् कलाको प्रतीक हो । उक्त उध्र्व त्रिकोण माथिको अर्धचन्द्रमा चिह्न नाद र विन्दुको चिह्न हो । उक्त उध्र्व त्रिकोणमाथि रहेको अर्धचन्द्रमाको आधा खोप्लेटो नाद र त्यसमाथि रहेको थोप्लो चाहिँ विन्दुको प्रतीक हो । जीव र ब्रह्मको मिलनको प्रक्रिया कला हो । जीव र ब्रह्मको मिलन नाद हो । जीव र ब्रह्मको एकात्मकता चाहिँ विन्दु हो । यसरी ॐकारमा कला, नाद र विन्दुको प्रतीकद्वारा ब्रह्मैव तेन गन्तव्यं ब्रह्मकर्म समाधिनः को दार्शनिक सिद्धान्तलाई साङ्केतिक रूपमा अभिव्यक्त गरिएको छ ।
हिन्दू धर्मको परब्रह्म परमेश्वर जस्तै ईस्लाम धर्ममा सर्वोच्च शक्तिको रूपमा अल्लाह रहेको छ । अतः अल्लाहलाई अकबर भनिन्छ । देवनागरी लिपिमा लेखिएको ॐकारलाई माथितिर फर्काइदियो भने उर्दूलिपिमा लेखिएको अरबी भाषाको अल्लाह वाचक शब्द बन्दछ । उर्दूलिपिमा लेखिएको अरबी भाषाको अल्लाह वाचक शब्दमा कला, नाद र विन्दु अङ्कित ग
रिएको पाइँदैन तर ईस्लाम धर्मको मुख्य चिह्न अर्धचन्द्र हो । यस सन्दर्भमा अर्धचन्द्रको चिह्न केवल अर्धचन्द्र मात्र नभई जीव र ब्रह्मको मिलन र एकात्मकताको प्रतीक नाद विन्दु हो भन्ने कुरा यस अघि नै उल्लेख भइसकेको छ । ईस्लाम धर्मको मुख्य चिह्न अर्धचन्द्रमा उध्र्व त्रिकोण अथवा कलाको चिह्नलाई मूर्त रूप दिएको छैन तापनि नाद र विन्दुको चिह्न अर्धचन्द्रलाई भने स्पष्ट रूपमा मूर्तरूप दिएको छ । यसबाट ईस्लाम धर्मको मुख्य चिह्न अर्धचन्द्र केवल अर्धचन्द्र मात्र नभई जीव र ब्रह्मको मिलन र एकात्मकताको प्रतीक नाद विन्दु हो भन्ने वास्तविकता राम्ररी स्पष्ट हुन्छ ।
यसरी हिन्दू धर्मको प्रणव वाचक अक्षर ॐकार एवं ईस्लाम धर्मको अल्लाह वाचक अक्षरको स्वरूप एउटै हो भन्ने वास्तविकता राम्ररी स्पष्ट हुन्छ । यसका अतिरिक्त जुन तŒवलाई हिन्दू वेदान्त दर्शनले खं ब्रह्म भनेर परिभाषित गरेको छ, शून्यतामा शून्य स्वरूपले रहेको त्यही परम तŒवलाई ईस्लाम धर्मले निराकारको रूपमा मानेको छ ।
ईस्लाम धर्ममा सिया र सुन्निका अतिरिक्त अर्को एउटा लोकप्रिय मत छ, त्यो हो सुफी मत । सुफी मतले जाति भेद र धर्म भेदलाई मान्यता दिँदैन । सुफी मत दर्शन र भक्तिमा आधारित छ । सुफी मतको गुरुलाई सन्त भन्दछ । सन्त शुद्ध संस्कृत भाषाको शब्द र हिन्दू धर्मको साधुलाई बुझाउने एउटा उपाधि हो । सच्चरित्रवान् त्यागी व्यक्तिलाई सन्त भनिन्छ । यसरी सुफी मतले संस्कृत भाषाको हिन्दू उपाधि सन्तलाई अपनाएको छ ।
हिन्दू धर्ममा खासगरी नाथ सम्प्रदायको महन्तलाई पीर भन्दछ । पीर अरबी भाषाको शब्द हो । पीरको अर्थ हो धर्मगुरु । यसरी हिन्दू धर्मले अरबी भाषाको ईस्लाम उपाधि पीरलाई सकारेको छ । नाथ सम्प्रदायका प्रवर्तक मत्स्येन्द्रनाथ हुन् । गोरखनाथको समयमा नाथ सम्प्रदायको राम्रो विकास भयो । रतननाथले नाथ सम्प्रदायलाई भारतवर्षभन्दा बाहिरसम्म प्रचार प्रसार गरेर अन्तरराष्ट्रसम्म व्यापक बनाई दिए । रतननाथले काबुल, कन्दहार, खुर्सान र मक्का–मदिनाको तीर्थयात्रा गरेर आफ्नो व्यक्तित्वद्वारा त्यहाँको जनसमुदायलाई प्रभावित बनाएका थिए । मक्का र मदिनाको तीर्थयात्रा गरेको हुनाले रतननाथलाई हाँजी रतननाथ भन्दछ ।
सुफी सन्तहरूको समाधिलाई दर्गाह तथा मजार भन्दछ । यस्ता दर्गाह तथा मजारहरूमा कुनै जाति भेद र धर्म भेद हुँदैन । ईस्लाम र हिन्दू दुवै धर्मावलम्वीहरू यस्ता मजारहरूमा समान श्रद्धा र भक्तिका साथ जान्छन् । नेपालमा नवलपरासीको दाउन्नेमा स्थित मदारनाथको स्थान यस्तै सुफी सन्तको मजार हो । दाउन्नेको मदारनाथको स्थानमा हिन्दू, ईस्लाम, बौद्ध र सबै वर्गका मानिसहरू समानरूपले आफ्नो इच्छासिद्धि गर्न जान्छन् । यसैगरी धरानको चतरास्थित औलिया बाबाको मन्दिरलाई ईस्लाम धर्मावलम्वीहरू अल्लाहको स्थान मान्दछन् । हिन्दू दशनामी योगी औलिया बाबाका पूजारी छन् । औलिया बाबाको स्थानमा हिन्दू र ईस्लाम समानरूपले जान्छन् । यसरी हिन्दू धर्म, दर्शन एवं संस्कृति तथा ईस्लाम धर्म, दर्शन एवं संस्कृतिको बीचमा गहिरो अन्तरसम्बन्ध र धर्मसमभाव रहेको छ ।
हिन्दू धर्मले जन्मनु, मर्नु यो भवचक्रबाट मुक्त हुन गोविन्दको नाम भज्ने उपदेश दिएको छ । आद्य जगत्गुरु शङ्कराचार्यद्वारा विरचित चर्पटपञ्चरिकास्त्रोत्रबाट यो कुरा राम्ररी स्पष्ट हुन्छ, जस्तै–
पुनरपि जननं पुनरपि मरणं पुनरपि जननी जठरे शयनम् ।
इह संसारे भवदुस्तारे कृपयाऽपारे पाहि मुरारे ।।
भज गोविन्दं भज गोविन्दं भज गोविन्दं मूढमते ।।
(पुनरपि=फेरि पनि, जननं=जन्म हुन्छ, पुनरपि=फेरि पनि, मरणं=मृत्यु हुन्छ, पुनरपि=फेरि पनि, जननी जठरे=आमाको गर्भमा, शयनम्=सुत्नु पर्छ । भवदुस्तारे=जन्म लिएपछि तर्न कठिन यो संसार सागर, अपारे=पार पाइनसकिने छ, अतः मुरारे=मुर दैत्यमा शत्रु हे कृष्ण ! इह संसारे=यस संसारमा, कृपया=कृपापूर्वक मलाई, पाहि=रक्षा गर्नुहोस् । त्यसकारण मूढमते=ए ! बुद्धि नभएका संसारी जीव हो ! गोविन्दं=गोविन्दको, भज=भजन गर) ।
भगवान् कृष्णका अनेकन् उपाधिमध्ये गोविन्द पनि एउटा हो । गोविन्दका अतिरिक्त भगवान् कृष्णलाई गोपाल नामबाट पनि पुकारिन्छ । गो=गाईलाई, विन्द=बुझ्नेवाला गोविन्द हुन् । यसैगरी गो=गाईलाई पाल=पाल्नेवाला गोपाल हुन् । यस सन्दर्भमा गो=गाईको लाक्षणिक अर्थ बुझ्न अत्यावश्यक छ । श्रीमद्भगवत्गीताको माहात्म्यमा उपनिषद्लाई गाईको संज्ञा दिएको छ, जस्तै–
सर्वोपनिषदो गावो दोग्धा गोपालनन्दनः ।
पार्थो वत्सः सुधीर्भोक्ता दुग्धं गीतामृतं महत् ।।
(सर्वोपनिषदो= सबै उपनिषद्हरू, गावो=गाई हुन्, दोग्धा=गाई दुहुनेवाला, गोपालनन्दनः=गोपालनन्दन भगवान् कृष्ण हुन् । पार्थ=गाण्डीवधारी अर्जुन, वत्सः=बाछा हुन्, सुधीर्भोक्ता=सज्जनहरू दूध खानेवाला हुन्, महत्=ठूलो माहात्म्य भएको, गीतामृतं=गीतारूपी अमृत चाहिँ, दुग्धं=दूध हो) ।
यसबाट यस सन्दर्भमा गाई भनेको उपनिषद् रहेछ भन्ने अर्थ बोध हुन्छ । उप=नजिक, निषद्=लैजानु अर्थात् वेदको नजिक लैजानेवाला ज्ञान अथवा तŒव उपनिषद् हो । उपनिषद् वेदको निचोड हो । अतः उपनिषद्मा विवेचना गरिएको ज्ञानलाई वेदान्त अथवा वेदको पराकाष्ठा अवस्था मानिएको छ । वेदको अर्थ हो सत्य ज्ञान । सत्य ज्ञान ब्रह्म हो । त्यसकारण तैत्तिरीयोपनिषद्मा सत्यं ज्ञानमनन्तं ब्रह्म (सत्य ज्ञान अनन्त ब्रह्म हो) भनेको छ । यसैगरी मुण्डकोपनिषद्मा ब्रह्म वेद ब्रह्मैव भवति (ब्रह्म जान्नेवाला ब्रह्म नै हुन्छ) भनेको छ ।
यसरी गोविन्दको अर्थ केवल गो=गाई अथवा ब्रह्मलाई जान्नेवाला मात्र नभएर स्वयं ब्रह्म नै हो भन्ने बुझिन्छ । यसबाट ब्रह्मलाई गोविन्द एवं गोपालको रूपमा सरलीकृत गरेर साकाररूप दिई भक्तिपूर्ण व्याख्या गरिएको पाइन्छ ।
ईसाई धर्ममा प्रभु ईसुलाई भेडा गोठालो क्जभउजबचम मानिएको छ । यस सन्दर्भमा समस्त जीवलाई भेडा र प्रभु ईसुलाई भेडा गोठालो अथवा ईश्वर मानिएको छ । त्यसकारण ईसाई धर्ममा प्रभु हाम्रा गोठाला हुन् भनेर प्रभु ईसुको भजन गाउने प्रचलन छ । गाई ज्ञानको प्रतीक र भेडा मोहको प्रतीक हो । प्रभु ईसुले भेडा अथवा जीवको मोह हटाएर जीवलाई मुक्ति दिलाउँछ भन्ने यसको आशय हो ।
पाशुपतदर्शनमा पनि समस्त जीवलाई पशु र ईश्वरलाई पति मानिएको छ । पशु अथवा जीव परतन्त्र छ र पति अथवा ईश्वर स्वतन्त्र छ । पशु अथवा जीव परतन्त्र छ भन्नाले पति अथवा ईश्वरको अधिनमा छ भनेको होे । चराचर जगत्को सृष्टि, स्थिति तथा प्रलयमा कुनै अरूको ईच्छा र कारणको अनपेक्षता नै ईश्वरको स्वातन्œयता होे । अतः पति अथवा ईश्वरले पशु अथवा जीवलाई पशुपाशको बन्धनबाट मुक्त गराउँदछ र त्यसपछि पशु अथवा जीवले शिवसायुज्य प्राप्त गर्दछ भन्ने पाशुपतदर्शनको दार्शनिक सिद्धान्त छ । यस सन्दर्भमा अविद्या र मोह नै पशुपाश र शिवसायुज्य नै कैवल्य अथवा मोक्ष हो । यसरी गोविन्द, गोपाल, भेडी गोठालो प्रभु ईसु र पशुपतिको अवधारणाको बीचमा समन्वय र सामञ्जस्यता पाइन्छ ।
यस सम्बन्धमा बाइबलको एउटा कथा यहाँ उल्लेख गर्दा सान्दर्भिक हुनेछ, जस्तै– एकपटक एउटा भेडाको पाठो आफ्नो माउ र बगालबाट छुट्टिएर हरायो । यसरी आफ्नो माउ र बगालबाट छुट्टिएर हराएको उक्त भेडाको पाठो अत्यन्तै दुःखी भयो । आफ्नो पाठो हराउँदा भेडाको माउ दुःखी भइन् र बगालका भेडाहरू पनि सबै दुःखी भए । अन्तमा आफ्नो माउ र बगालबाट छुट्टिएर हराएको उक्त भेडाको पाठो प्रभु ईसुको असीम कृपाबाट बगालमा मिसिन आयो र आफ्नो माउसँग भेट भयो । त्यसपछि आफ्नो माउ र बगालसँग भेट हुन पाउँदा हराएको उक्त भेडाको पाठो अत्यन्तै खुशी भयो, भेडाको माउ पनि खुशी भइन् र बगालका भेडाहरू पनि सबै खुशी भए ।
यो कथालाई दार्शनिक दृष्टिकोणले विश्लेषण गर्दा यहाँ भेडाको पाठोलाई जीव, भेडाको माउलाई परम तŒव र प्रभु ईसुलाई सद्ज्ञानको रूपमा प्रस्तुत गरिएको पाइन्छ । यस कथामा अबुझ जनतालाई बालकहरूलाई जस्तरी सम्झाउन दार्शनिक गूढ रहस्यलाई बालविनोदिनी कथाकोे रूपमा सरल, सरस र अत्यन्तै रोचक ढङ्गले प्रस्तुत गरिएको छ ।
वेदान्त दर्शनको ब्रह्म सत्य हो, जगत् मिथ्या हो, जीव ब्रह्म नै हो, अर्को होइन भन्ने दार्शनिक सिद्धान्तको बारेमा यस अघि नै उल्लेख भइसकेको छ । वेदान्त दर्शनको यस दार्शनिक सिद्धान्त अनुसार पूर्णब्रह्मबाट जीव प्रकट हुन्छ । त्यसकारण जीव पनि पूर्ण छ तर मायाको कारणले गर्दा जीवले अहं ब्रह्मास्मि (अहम्=म, ब्रह्म=ब्रह्म, अस्मि=हूँ) भन्ने आफ्नो वास्तविकतालाई बिर्सन्छ र म नै जन्मने वाला हूँ, म नै मर्ने वाला हूँ, यो जगत् नै सुखको खानी हो र म नै सबै प्रकारको सुख भोग्नेवाला हूँ भनेर सम्झन्छ र यस क्षरभङ्गुर जगत्को सुख भोगमा लुटपुटि रहन्छ । यसरी जीवलाई म ब्रह्म हूँ भन्ने आफ्नो वास्तविकता बोध नभएसम्म जीव जन्मने र मर्नेवाला नभए तापनि ऊ जन्मने, मर्ने भवचक्रमा घुमिरहन्छ, जीवले अनेक जन्म लिइरहन्छ र उसको मुक्ति हुँदैन । जब जीवले तŒवमसि (तत्=त्यो, त्यो=परब्रह्म, त्वम्=तिमी, तिमी=जीव, असि=हौ) को सिद्धान्तलाई बुझ्दछ, तब जीवलाई आत्मज्ञान हुन्छ । आत्मज्ञान भनेकै तŒवमसिको सिद्धान्तलाई बुझेर अहं ब्रह्मास्मिको वास्तविकता बोध गर्नु हो । त्यसपछि ब्रह्म वेद ब्रह्मैव भवति भन्ने सिद्धान्त अनुसार आत्मज्ञान भएपछि आत्मसाक्षात्कार हुन्छ । आत्मसाक्षात्कार भनेकै ब्रह्मसाक्षात्कार हो । ब्रह्मसाक्षात्कार भएपछि जीव भवचक्रबाट पार हुन्छ । भवचक्रबाट पार हुनु नै जीवको परम मुक्ति हो ।
यसरी वेदान्त दर्शनको ब्रह्म, जीव, जगत, माया र मुक्तिको अवधारणा एवं सिद्धान्त र बाइबलमा उल्लेखित प्रभु ईसु, भेडाको माउ, भेडाको बगाल र भेडाको चुल्बुले पाठोको बालविनोदिनी कथाको रहस्यको बीचमा दार्शनिक अन्तरसम्बन्ध रहेको छ ।
यसरी यथार्थमा हिन्दू, बौद्ध, ईस्लाम र ईसाई धर्मका मान्यता एवं दार्शनिक सिद्धान्तका आधारभूत तŒवहरूको विश्लेषण गर्दा तिनीहरूका बीचमा अन्तरसम्बन्ध र समन्वय कायम रहेको पाइन्छ । यस आधारमा आ–आफ्ना धार्मिक नीति, नियम, मान्यता र आदर्श फरक–फरक भएतापनि सबै धर्मको दार्शनिक चिन्तनको विन्दु भने एउटै रहेछ भन्ने सिद्ध हुन्छ । अतः विश्व धर्म–दर्शनको बीच अन्तरसम्बन्ध, समन्वय र समभाव रहेको छ । समन्वयात्मक अध्यात्मवाद र सर्वधर्मसमभाव आजको आवश्यकता हो, किनभने समन्वयात्मक अध्यात्मवाद र सर्वधर्मसमभावको आधारमा यस जगत्लाई द्वन्द्वातित बनाएर अखिल विश्वब्रह्माण्डमा प्रशान्ति स्थापना गर्न सकेमा मात्र विश्वमा समन्वय र सद्भाव कायम भई प्रशान्ति स्थापना हुन सक्छ । समन्वय र सद्भाव कायम भएपछि सहिष्णुता, सहअस्तित्व र प्रशान्ति कायम हुन्छ ।
दुई वा दुई भन्दा बढी तŒव एक साथ भयो भने त्यसबाट द्वन्द्व हुन्छ, संघर्ष हुन्छ भन्ने सिद्धान्त द्वन्द्वात्मक भौतिकवाद हो । यो द्वन्द्वात्मक भौतिकवाद पश्चिमेली चिन्तन हो । दुई वा दुई भन्दा बढी तŒव एक साथ भयो भने त्यसबाट समन्वय हुन्छ र सद्भाव बढ्दछ भन्ने सिद्धान्त समन्वयात्मक अध्यात्मवाद हो । यो समन्वयात्मक अध्यात्मवाद प्राच्य दर्शन अर्थात् पूर्वीय चिन्तन हो । अहिले यस जगतमा द्वन्द्वात्मक भौतिकवाद हावी हुँदै गइरहेको छ र समन्वयात्मक अध्यात्मवाद ओझेलमा परेको छ । त्यसकारण अहिले यो जगत द्वन्द्वमय भएको छ । अतः समन्वयात्मक अध्यात्मवादको सिद्धान्तलाई व्यवहारमा उतारेर यस जगतलाई द्वन्द्वातित बनाउनु पर्दछ । यसको लागि सर्वधर्मसमभावको महवŒपूर्ण भूमिका रहेको छ । सत्य, धर्म, शान्ति, प्रेम र अहिंसा यी पाँचओटा मानवीय गुण तथा मूल्यहरू सर्वधर्मसमभावका मूलभूत आधारहरू हुन् । त्यसकारण सर्वधर्मसमभावको आधारमा अखिल विश्वब्रह्माण्डमा प्रशान्ति व्यापक गराउनु आजको परम आवश्यकता हो ।
शवशान्ति, शिवशान्ति र प्रशान्ति गरी शान्ति तीन प्रकारका छन् । कुनै अर्काको मानसिक एवं भौतिक डर धाकबाट पीडा सहेर पनि चुप लागेर बस्नु शवशान्ति अर्थात् मुर्दाको शान्ति हो । एक अर्का प्रतिको सद्भाव र प्रेमपूर्ण वातावरणमा खुशी भई ढुक्कले हाँसेर बाँच्न पाउनु शिवशान्ति हो । यस प्रकारको शिवशान्ति कुनै एउटा व्यक्ति, परिवार, जाति, वर्ग, धर्म र कुनै निश्चित भू–खण्डको लागि मात्र नभई अखिल विश्वब्रह्माण्डमा यस प्रकारको शिवशान्ति व्यापक हुनु प्रशान्ति हो ।
त्यसकारण अन्ततोगŒवा वयं राष्ट्रे जागृयामः पुरोहिताः (हामी राष्ट्रमा अग्रगामी भई जागौँ) को सिद्धान्तलाई चरितार्थ गर्दै सर्वधर्मसमभावको आधारमा अखिल विश्वब्रह्माण्डमा प्रशान्ति व्यापक गराउन सकेमा मात्र साँचो अर्थमा विश्वअभ्युदय हुनेछ । अतः हामी सबै यस दिशा तर्फ अग्रगामी भई जागौँ ।