१४ बैशाख २०८१, शुक्रबार
Follow Us

संशोधन प्रस्ताव दर्ताको लागि अन्तिम तयारी : मन्त्री पौडेल

नेपालब्रिटेन डट कम्
१५ कार्तिक २०७३, सोमबार ०५:२६

बाबियाचौर । शिक्षामन्त्री धनीराम पौडेलले सरकारले संविधान संशोधन प्रस्ताव दर्ताको लागि अन्तिम तयारी गरेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल जिल्ला शाखा म्याग्दीले आज बिहान बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले संशोधन प्रस्तावले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनको वातावरण बनाउन सघाउ पुग्ने धारणा राख्नु भयो ।

मधेस केन्द्रित, सत्ता साझेदार, प्रतिपक्ष र नागरिक समाजसँग छठ अघिनै संशोधनको विषयमा सहमति कायम गर्ने पहल भइरहेको मन्त्री पौडेलले जानकारी दिनुभयो ।

संविधान संशोधन, निर्वाचन आयोगको तयारी र निर्वाचन सम्बन्धित कानुन निर्माण, स्थानीय तहको सिमाना निर्धारणसँगै चुनावमा भाग लिने सबै राजनीतिक दलको प्रतिबद्धतासहितको वातावरण बनाउन सरकारले जोड दिएको मन्त्री पौडेलको भनाइ थियो ।

मन्त्री पौडेलले हालै संशोधन भएको शिक्षा ऐन कार्यान्वयनका लागि नियमावली निर्माण कार्य अन्तिम चरणमा पुगेको र शिक्षा आयोग गठनको तयारी भएको तथा अस्थायी शिक्षक व्यवस्थापनका लागि प्रक्रिया अघि बढिसकेको जानकारी दिनुभयो ।

जनताको गुणस्तरीय शिक्षामा पहुँच बढाउने, विद्यालयको पहुँचमा आएका विद्यार्थीलाई टिकाउने र दक्ष बनाउन यसै वर्षदेखि सात वर्षे विद्यालय क्षेत्र विकास योजना लागू गरेको मन्त्री पौडेलले बताउनुभयो ।

सामुदायिक विद्यालयप्रति विश्वासको वातावरण बनाउन सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी पढाउने शिक्षकलाई प्रोत्साहनका लागि पुरस्कृत गरिने मन्त्री पौडेलले जानकारी दिनुभयो ।

उहाँले शिक्षक राजनीतिक दलको कार्यसमितमा बस्न नपाउने व्यवस्था कार्यान्वयनका लागि नागरिक समाज र सरोकारवालाबाट सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।