१५ चैत्र २०८०, बिहीबार
Follow Us

वडा कार्यालयमा मजदुरले गरिदिए तालाबन्दी

sarusaru
१७ असार २०७६, मंगलवार ०३:२६

बैतडी : बैतडीको सिगास गाउँपालिका वडा नं १ को कार्यालयमा मजदुरहरुले तालाबन्दी गरेका छन् । गत साल सम्पन्न भएको खानेपानी योजनामा काम गरेको रकम नदिएको भन्दै मजदुरहरुले तालाबन्दी गरेका हुन् ।

वडा कार्यालयसम्म पुग्ने रेलापानी खानेपानी योजना गत वर्ष नै फरफराक गरिएको भए पनि आफूहरुले काम गरेको पैसा नपाएकाले तालाबन्दी गरेको स्थानीय मजदुर डम्मरसिंह पन्तले बताए । आफूहरुको समस्या समाधानका लागि पटक पटक आग्रह गरेको भए पनि समस्या सम्बोधन नभएपछि बाध्य भएर तालाबन्दी गरेको उनले बताए । उनले भने ‘हामी काम गरेर खाने मान्छे हौँ । योजनाको भुक्तानी लिएर पनि हाम्रो पैसा दिएको छैन् । हामीले के गर्ने ? जनप्रतिनिधिहरुसँग पनि पटक पटक छलफल गर्यौँ । तर हाम्रो समस्या समाधान भएन् ।’

आफूहरुले काम गरेको वापतको दुई लाखको हाराहारी रकम नपाएको अर्का मजदुर कृतसिंह पन्तले बताए । ‘मजदुरी गरेरै घरपरिवार चलाइरहेका मजदुरहरुको काम गरेको रकम भुक्तानी नगरेपछि सोमबार वडा कार्यालयमा तालाबन्दी गरेका हौँ । हाम्रो माग पूरा नहुँदासम्म तालाबन्दी खोल्दैनौँ ।’

सिगास गाउँपालिका वडा नं १ का वडाध्यक्ष गगनसिंह धामीले भने डा कार्यालयमा तालाबन्दी गरेको कुरा सुनेको र स्थानीयसँग छलफल गरेर ताला खोल्न प्रयास गरिने बताए । मजदुरहरुले नपाएको रकमका लागि गाउँसभाबाट डेढलाख पास गरिसकेकाले केही दिनभित्रै भुक्तानी गर्ने तयारी भएको पनि उनले दाबी गरे । उनले भने ‘वडा कार्यालयमा तालाबन्दी गरेको कुरा सुन्नमा आएको छ । मजदुरहरुका समस्या समाधानका लागि मैले कार्यपालिकाबाट डेढलाख बजेट विनियोजन गरेको छु ।’

१६ लाखको लागतमा निर्माण गरिएको खानेपानी योजनाको रकम मध्ये आफूहरुले काम गरेको पैसा नपाएको मजदुरहरुले गुनासो गरेका छन् । आफूहरुका माग पूरा नहुँदासम्म तालाबन्दी नखोल्ने उनीहरुले अडान लिएका छन् ।
अन्नपूर्ण पोष्ट