६ बैशाख २०८१, बिहीबार
Follow Us

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

नेपालब्रिटेन डट कम्
१७ असार २०७६, मंगलवार १४:३७

मेचीनगर नगरपालिका-१३ स्थित डिउटीमा खटिएको प्रहरीलाई नगद १ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने मकवानपुर मनहरी नगरपालिका-२ बस्ने ४६ वर्षीय ईन्द्र तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा प्रहरी चौकी चारआलीबाट खटिएको ट्राफिक प्रहरी सहितको टोलीले ना.६ ख ११६८ नम्बरको ट्रकको कागज पत्र जाँच गर्ने क्रममा ट्रकको कागजपत्र नभएको भनी चालक तामाङले प्रहरीलाई उक्त नगद दिन खोजे पश्चात प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

सुनको सिक्री तथा नगद लुटपाट :

काठमाडौं, नागार्जुन नगरपालिका-३ मिलन चोक बस्ने ३६ वर्षीया निर्मला घिमिरेको साथबाट २ तोलाको सुनको सिक्री सोमबार दिउँसो लुटपाट भएको छ । नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिहरुले घिमिरेले घाँटीमा लगाएको उक्त सिक्री लुटी फरार भएको बताइएको छ ।
रुकुम (पूर्व), पुथाउत्तरगंगा गाउँपालिका-३ रन्मा बस्ने २९ वर्षीय बालाराम परियारको साथबाट नगद ८ लाख ५० हजार रुपैयाँ सोमबार दिउँसो लुटपाट भएको छ । रन्माबाट पिपलटुङतर्फ खच्चर लिएर जाने क्रममा सोही गाउँपालिका-५ स्थित जंगलमा नकावधारी ४ जनाको समूहले परियारलाई खुकुरी देखाई कुटपिट गर्नुका साथै उनको साथमा रहेको उक्त नगद लुटपाट गरी फरार भएको बताइएको छ ।
लुटपाटमा संलग्न फरार अभियुक्तहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।