८ बैशाख २०८१, शनिबार
Follow Us

बेलायतबाटै चर्चित गायक कुमार पुनको सालैजो गीत रिलिज (भिडियो)

नेपालब्रिटेन डट कम्
१७ असार २०७६, मंगलवार १५:५२

लण्डन। नेपाली लोक दोहोरी गायनको क्षेत्रमा बेग्लै पहिचान बोकेका गायक कुमार पुन सालैजो गीत लिएर दर्शक-स्रोता समक्ष आएका छन् । सांगीतिक कार्यक्रमको सिलसिलामा हाल उनी बेलायतमा रहेका छन् ।
‘बामरी बामरी म भोलि गइहाल्छु बसे है रामरी’ बोलको गीतले चर्चाको शिखरमा पुगेका पुनले सालैजो गीत मार्फत म्याग्दी जिल्लाको लोकभाकालाई जर्गेना गर्न सहयोग पुग्ने विस्वास व्यक्त गरे ।
गीतमा कुमार पुन, जमुना राना र कुमारी चेपाङको स्वर रहेको छ । गीतको लय शब्द कुमार पुनले आफैँ तयार पारेका हुन् ।

स्थायी रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यो गीतको एरेन्ज सागर बिरहीले गरेका हुन् ।

गीतको भिडियोमा बद्री केसी, दिपक मैथाने मगर, सोफिया बुढा, एन्जी रोका लगायतको नृत्य रहेको छ । निर्देशन, छायांकन तथा सम्पादन मनोज गुरुङले गरेका छन् । त्यस्तै छायांक सहयोगीको रुपमा मनि गुरुङ र कोरियाग्राफी बद्री केसीको रहेको छ ।

बेलायतस्थित फ्रिमली ग्रीनमा सुटिङ गरिएको सालैजोमा म्याग्दी जिल्लाको भाषा र संस्कृति झल्केको छ । बेलायतस्थित म्याग्दी देवी स्थान समाजको सहयोगमा सो गीतको सुटिङ यहाँ गर्न सम्भव भएको पुनले बताए ।

उनले यसअघिका गीतहरुलाई जस्तै शीरमा फूल माया बोलको सालैजो भाकालाई स्रोता-दर्शकले माया गर्ने विश्वास गरे ।