१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सिङ्हानीया हत्याकाण्डका आरोपी पूर्वसांसदलाई जन्मकैद फैसला

नेपालब्रिटेन डट कम्
१७ असार २०७६, मंगलवार १७:०५

धनुषा– जनकपुरका सञ्चार उद्यमी अरुण सिङ्हानीया हत्याकाण्डका आरोपी पूर्वसांसद एवं राज्यमन्त्री सञ्जय साहलाई जिल्ला अदालत धनुषाले आज जन्मकैदको फैसला सुनाएको छ ।

यसअघि अदालतले पाँच जनाको ज्यान जाने गरी भएको जनकपुर बम काण्डमा साहलाई जन्मकैदको सजाय सुनाएको थियो । सिङ्हानीया हत्याको करीब १० वर्षपछि गत १४ जेठदेखि जिल्ला अदालत धनुषामा सुनवाई शुरु भएको थियो । मुद्दाको सुनवाई गर्दै जिल्ला अदालत धनुषाका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले पूर्वसांसद साहसहित दुई जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

अदालतले हत्यामा संलग्न रहेको भन्दै सुटर मनक लामालाई पनि जन्मकैदको सजाय सुनाएको छ । लामाले सञ्जयले भनेपछि आफूले सिङ्हानियाको हत्या गरेको अदालतसमक्ष बयान दिएका थिए । साह अहिले ललितपुरको नख्खु कारागारमा छन् भने लामा पूर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागारमा छन् ।

यसैगरी साहको नजिकका भनिएका रामविनोद यादवलाई तीन वर्ष, एकलाल सहनीलाई १० वर्ष, चन्द्रदीप यादवलाई १० वर्ष, पवन लामालाई १० वर्ष र मुकेश चौधरीलाई २० रुपैयाँ जरिवाना गरिएको हो । घटनामा संलग्न भनिए पनि रामकरण, ओमप्रकाश यादव र अंसी राईनले सफाइ पाएका छन् भने दीपेन्द्रलाई मुलतबीमा राखिएको छ ।