१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए नर्वेको छैठौ अधिवेशन सम्पन्न, सहमतिमा निर्वाचन हुने

नेपालब्रिटेन डट कम्
१८ असार २०७६, बुधबार १३:२२

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद, नर्वेको छैठौ राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । राष्ट्रिय अधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं क्षेत्रीय संयोजक शिव कुमार बरुवाल र राष्ट्रिय समन्वय परिषद नर्वेका अध्यक्ष संजीवकुमार थापाले पानसमा बत्ती बालेर गर्नुभएको थियो।

गत आइतवार सम्पन्न अधिवेशनमा संजीवकुमार थापाले अध्यक्षता गर्नुभएको राष्ट्रिय अधिवेशन कार्यक्रम संस्थाका महासचिव राजु अर्यालले संचालन गर्नुभएको थियो।

प्रथम उपाध्यक्ष शालिग्राम अर्यालले सबैलाई कार्यक्रममा स्वागत गर्नु भएको थियो। राष्ट्रिय अधिवेशनको प्रथम चरणको औपचारिक कार्यक्रममा राष्ट्रिय समन्वय परिषद, नर्वेका सल्लाकारज्यूहरु तथा अग्रज व्यक्तित्वहरु र विभिन्न संघ संस्थाका प्रमुखहरुले अधिवेशनको पूर्ण सफलताको कामना गर्नु भएको थियो।

प्रमुख अतिथि एवं क्षेत्रीय संयोजक शिव कुमार बरुवालले संसारभर झन्डै ८० वटा संघको राष्ट्रिय समन्वय समितिहरु रहेको जानकारी गराउनु भयो। वहाँले नेपालको समृद्धिकोलागि परोपकारी काम मात्रै पर्याप्त नभएको र एनआरएन हरुको प्रत्यक्ष लगानी, शिप र दक्षताको आवश्यकता रहेको बताउनु भयो।

दोश्रो चरण बन्दसत्रमा महासचिव राजु अर्यालले बार्षिक प्रतिबेदन तथा कोषाध्यक्ष बिना नेवार श्रेष्ठले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो। सामान्य परिमार्जन सहित सर्बसम्मत रुपमा बार्षिक तथा आर्थिक प्रतिबेदन पारित गरिएको थियो। विधान संशोधन समितिको तर्फबाट आइसीसी सदस्य द्वारिका महर्जनले विधान संशोधनका प्रस्ताबहरु प्रस्तुत गर्नु भएको थियो।
छैठौ राष्ट्रिय अधिवेशनमा उपस्थित सदस्यहरु बीच गहन छलफल भई विधान संशोधनका प्रक्रिया सम्पन्न गरिएको थियो। कार्यसमितिमा पदाधिकारी संख्या थप एवं एक उपाध्यक्ष सहित एक तिहाइ सदस्य ओस्लो बाहिरबाट प्रतिनिधित्व महत्वपूर्ण संशोधनका रुपमा रहेका छन्।

यस अघि मिति २०१९ जून ८ मा हुने भनिएको राष्ट्रिय समन्वय परिषद, नर्वेको छैठौ राष्ट्रिय अधिवेशन सम्पन्न गर्न असम्भव भएपछि स्थगित गरिएको थियो। राष्ट्रिय अधिवेशनको निर्वाचन प्रक्रियालाई लिएर उठेको आलोचना, बिरोध र असन्तुष्टीहरुलाई सम्बोधन गर्दै छलफल र समस्या समाधानकोलागि धेरै प्रयासहरु पनि भएका थिए। यूरोप क्षेत्रीय संयोजकज्यूको सहयोग र सल्लाह अनि पहलमा विभिन्न चरणमा सहमतिका प्रयासहरुपछि नयाँ कार्यसमिति निर्माण नयाँ प्रक्रियाबाट पूनः शुरु गर्ने निम्न बमोजिमको निर्णयहरु सहित छैठौ राष्ट्रिय अधिवेशन सम्पन्न गरिएको छ।

राष्ट्रिय अधिवेशन अघि गठन गरिएको निर्वाचन समितिलाई अधिवेशनमा धन्यवाद ब्यक्त गर्दै बिदाइ गरियो। २, नयाँ निर्वाचन समिति निर्माणमा डा सुरज थापा ९संयोजक० , प्रो, डा बिशाल कुमार सिटौला, नबराज गुरुङ, सन्तोष बानिया र मनिष बुढाथोकीलाई सदस्यहरुमा चयन गरिएको छ। यो समितिले सम्पूर्ण निर्वाचन नयाँ प्रक्रियाबाट गर्नेछ।

अध्यक्ष संजीव कुमार थापाले प्रस्तुत गर्नुभएको नयाँ निर्वाचन समितिको प्रस्तावलाई अधिवेशनमा उपस्थित सदस्यहरुले पारित गरे पश्चात वहांले वर्तमान कार्यसमिति बिघटन गरिएको घोषणा गर्नुभयो। निर्वाचन सम्पन्न गरि नयाँ कार्यसमिति निर्माण नभए सम्म सोहि कार्यसमितिले कार्य सम्पादन गर्ने निर्णय पनि अधिवेशनमा गरिएको थियो। कार्यक्रममा २०० भन्दा माथि पंजीकृत सदस्यहरुको उपस्थिति रहेको थियो।