१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएन युरोप भेलामा २८ देशका ५ सय प्रतिनिधि सहभागी हुने

नेपालब्रिटेन डट कम्
१८ असार २०७६, बुधबार १९:४८

लण्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ युरोपेली भेलामा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल प्रमुख अतिथि हुने भएका छन्।

अगस्ट ३ र ४ मा इटालीको राजधानी रोममा आयोजना हुने एनआरएनए युरोप क्षेत्रीय बैठक तथा महिला सम्मेलनलाई पोखरेलले सम्बाेधन गर्ने कार्यक्रम तय भएको गैरआवासीय नेपाली संघ युरोप क्षेत्रीय संयोजक शिव बरुवालले जानकारी दिए।

संघका युरोपस्थित २८ देशका राष्ट्रिय समिति लगायत विश्वभरका अन्य देशका प्रतिनिधी समेतको सहभागिता हुने सो सम्मेलनमा उपप्रधानमन्त्री, मन्त्रीलगायतका विशिष्ट व्यक्तिहरुलाई समेत निमन्त्रणा गरिएको बरुलाले बताए।

भेलामा उद्योग वाणिज्य संघ, पर्यटन सम्बद्ध विशिष्ट व्यक्तिलगायत गैरआवासीय नेपाली संघका पदाधिकारीहरु, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने, शेष घले, संघका सल्लाहकार डा. हेमराज शर्मा लगायतको उपस्थिती रहने छ ।

भेला नेपालमा गैरआवासीय नेपालीहरुको लगानी र पर्यटन प्रवर्द्धनमा केन्द्रीत हुने बरुवालले जनाए। बरुवालले भने, नेपाल सरकारले अघि सारेको समृद्ध नेपालनिर्माणमा आ–आफ्नो स्थानबाट योगदान गर्न प्रोत्साहन गरी नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनेको छ भन्ने सन्देश प्रवाह गर्ने हाम्रो लक्ष्य हुनेछ।

भेलाकै अवसर पारेर नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० को प्रचारप्रसार गर्ने उद्देश्यले नेपाल भ्रमण वर्ष २०२० को औपचारिक कार्यक्रमको शुरुवात गरिने बताएको छ।

यसैबीच संघको १० औं महिला भेला समेत युरोप क्षेत्रीय भेला समेत सोही अवसरमा आयोजना गरिने छ। संघकी युरोप क्षेत्रीय महिला संयोजक संगित मरहट्टाका अनुसार भेलामा युरोपस्थित २० भन्दा बढी देशमा महिलाहरुको भेलामा सहभागिता रहने छ।

भेलामा संघको महिला फोरमलाई संस्थागत गर्ने बिषय लगायत युरोप क्षेत्रमा नेपाली महिलाहरुले भोगेका समस्याहरुको बारेमा भेला केन्द्रीत हुने मरहट्टाले बताइन्।

इटालीको रोमस्थित अरजाइफ प्यालेस होटलमा आयोजना हुने सो सम्मेलनको आवश्यक व्यवस्थापनको तयारी पुरा भैरहेको गैरआवासीय नेपाली संघ इटलीका महासचिव छविलाल कंडेलले जनाए। कंडेलले सम्मेलनमा भाग लिन आउने प्रतिनिधिहरुलाई तत्काल होटल बुकिङ गर्न आग्रह गरेका छन्।

सम्मेलनमा मध्यपूर्व, अष्ट्रेलिया, अमेरिका लगायत विभिन्न मुलुकबाट समेत एनआरएन लगायत पत्रकार र कलाकार गरी करीब ५ सय जना प्रतिनिधि सहभागी हुनेछन्।