६ बैशाख २०८१, बिहीबार
Follow Us

प्राकृतिक सम्पदा संरक्षण गर्न सबै एकजुट हुनुपर्छ : सभामुख महरा

sarusaru
२० असार २०७६, शुक्रबार ०२:३२

दाङ्ग । सङ्घीय संसद्का सभामुख कृष्णबहादुर महराले दाङको देउखुरी विभिन्न सम्भावना बोकेको क्षेत्र भएको बताएका छन्।

लमही नगरपालिकाले विश्व वातावरण दिवसको अवसर पारेर आज यहाँ आयोजना गरेको वृहत वृक्षरोपण कार्यक्रममा उनले पछिल्लो समय विभिन्न बहानामा वन जङ्गल मास्ने प्रवृत्ति बढेकामा चिन्ता व्यक्त गरे।

वन जङ्गल जोगाउन सामुदायिक वनका उपभोक्ता स्वयम् सक्रिय हुनुपर्ने सभामुख महराको धारणा थियो। उनले सङ्घीय संसद्मा वातावरण परिवर्तनबारे बहस चलिरहेको बताए। प्राकृतिक सम्पदाको संरक्षण गर्न सबै एकजुट हुनुपर्ने उनको भनाइ थियो।

‘सबैको ध्यान वन जोगाउने तिर हुनुपर्छ। अनि मात्र नेपाललाई सधैँ हरियाली देख्न पाइन्छ’, सभामुख महराले भने। सो अवसरमा उनले लोपोन्मुख सतिसालको बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए।

कार्यक्रममा सांसद मेटमणि चौधरीले मुलुकलाई हरियालीको रुपमा विकास गर्न देशभर वृहत वृक्षरोपण तथा वनको संरक्षणको आवश्यकता रहेको बताए।

लमही नगरपालिकाका नगरप्रमुख कुलबहादुर केसीले जिल्लाका स्थानीय तहलाई सङ्घीय सरकार र प्रदेश सरकारको बजेटले छुन नसकेको गुनासो गरे।
डिसी नेपाल