१२ बैशाख २०८१, बुधबार
Follow Us

तारा देवी र अरुणा लामाका गीत गुञ्जदै

नेपालब्रिटेन डट कम्
२० असार २०७६, शुक्रबार ०७:३०

‘टेस्ट अफ हार्मोनी : धुनहरूमा तारादेवी र अरुणा लामा’ कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरेली सुगम सङ्गीत गायिकाको संस्था ‘हार्मोनी : द मोर्डन सङ्गस्ट्रेसेस अफ पोखरा’ ले भोलि शनिबार पोखराको सभागृहमा गरिने विशेष साङ्गीतिक कार्यक्रमको तयारी सकिएको जानकारी दिएको हो ।

आयोजक संस्थाका अध्यक्ष ईतु जोजिजुले महिला सुगम सङ्गीत गायिकाहरूको उत्थान र प्रबद्र्धनमा समर्पित सस्था भएको बताउँदै महिला गायिकाको संरक्षण र प्रवद्र्धन गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उपाध्यक्ष कौशल्या गुरुङले कार्यक्रममा अरुणा लामा र तारादेवीका चर्चित कालजयी गीत प्रस्तुत गर्दै उहाँहरू प्रति समर्पण गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा संस्थामा आबद्ध ईतु जोजिजु, कौशल्या गुरुङ, शीतल थापा, मितु पाल सिंह, अजुदा थापा, बबी सुनार, इनिशा दुरा, प्राप्ति तुलाचन लगायत सम्पूर्णको प्रस्तुति रहने जनाइएको छ । उक्त अवसरमा संस्थाले दार्जिलिङकी गायिका दावा ग्याल्मो, पोखरेली गायक कर्ण दासकी आमा तथा नृत्याङ्गना रत्न दाशलाई हार्मोनी सम्मानबाट सम्मान र उदीयमान गायिका जोनिशा पौडेललाई युवा प्रतिभाबाट सम्मान गरिने संस्थाका सचिव बबी सुनारले जानकारी दिनुभयो ।

कार्यक्रममा पोखराकै रारा चाउचाउले टाईटल स्पोन्सर गरेको छ भने अन्य विभिन्न सङ्घ संस्था तथा सञ्चारमाध्यमले सहयोग गर्ने भएका छन् ।