१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए सातौं एसिया प्यासिफिक क्षेत्रीय बैठक शनिवार देखी

नेपालब्रिटेन डट कम्
२० असार २०७६, शुक्रबार ०८:१८

लण्डन – म्यान्मारको याङगुनमा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को सातौं एसिया प्यासिफिक क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय महिला भेलाको तयारी पूरा भएको छ । शनिवार देखि म्यानमारको याङगुनमा आयोजना हुने भेलाका लागि प्रमुख अतिथिका रुपमा नेपालबाट उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव सहभागी हुने भएका छन् ।
कार्यक्रममा म्यानमारका लागि नेपाली राजदूत राजदूत भिम उदास विशेष अतिथिको रुपमा सहभागि हुने कार्यक्रम छ । यस्तै बैठकमा एनआरएनए संस्थापाक अध्यक्ष उपेन्द्र महतो जीवा लामिछाने, वर्तमान अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, कुल आचार्य, महासचिव बद्री केसी, सल्लाहकार डा. हेमराज शर्मा लगायत पदाधिकारी तथा आइसिसी सदस्यहरुको सहभागिता रहनेछ ।

यसैगरी भेलामा एनआरएनए मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, प्रवक्ता भुषण घिमिरे, पूर्व एसिया प्यासिफि डिआरसी गोबिन्द श्रेष्ठ, एनआरएन जापान अध्यक्ष टासी लामा,आइसीसी सचिब डि बि क्षेत्रि, आइसिसी सदस्य मनोज गोर्खाली ,महेश श्रेष्ठ, बिश्व राई, सुदिप कार्की, कपिलदेब थापा,राजु सैयद एनआरएनए एसिया महिला संयोजक जुनु गुरुङलगायत दर्जनौ देशबाट सयौ प्रतिनिधी तथा सहभागीहरु म्यानमार आइसकेकोे थापाले बताए ।

विशेषतः एसियाली मुलुकमा रहेका गैरआवासीय नेपालीहरुको सहभागितामा नेपालमा लगानी प्रर्वधन गर्ने मुख्य उद्देश्यका साथ बैठक आह्वान गरिएको हो । यसपटकको बैठक ‘नेपालको समृद्धिका लागि डायस्पोरोको भूमिका’ भन्ने विषयमा केन्द्रित हुने थापाले बताए । यस्तै बैठकमा ठूला–ठूला आयोजना एवं व्यवसायको लगानीमा भन्दा पनि साना तथा मझौला व्यवसायको लगानी र त्यसमा देखिएका नीतिगत अप्ठेरा अनि सम्भावनाबारे विशेष छलफल गरिनेछ ।

यस्तै एसियाली मुलुकका श्रम बजारमा नेपाली श्रमको प्रयोगमा रहेका समस्या पहिचान गर्दै समाधानका लागि पनि छलफल गरिने थापाले जानकारी दिए । यसैगरी विगतमा गरिएका निर्णय र प्रतिबद्धतालाई हामीले कति पूरा गर्न सक्यौ या सकेनौ भन्ने समीक्षासमेत बैठकमार्फत गरिने छ । नेपालको समृद्धिमा डायस्पोराको भूमिका कृषि, पर्यटन, एसिया प्यासिफिक क्षेत्रमा नेपालीहरुको लागि श्रम बजार, त्यहाका युवा तथा महिलाको सशक्तिकरण लगायत विषयमा पनि घनीभूत छलफल हुने थापाले बताए ।

यसैगरी एसिया प्याशिफिकको सातौ तथा महिलाहरुको दोस्रो क्षेत्रीय बैठकको तयारी पूरा भएको छ । कार्यक्रम तालिका अनुसार पहिलो दिन युवा, महिला र एनसिसी तथा आइसिसीको प्रतिवेदन प्रस्तूत हुनेछ । सम्मेलनमा विशेष गरि विभिन्न सेसनहरु सञ्चालन गर्ने तयारी रहेको छ । सम्मेलनमा आवश्यक तथा उठाउनुपर्ने विषयवस्तु उठाउँदै कसरी प्रभावकारी रुपमा सम्पन्न गर्ने भन्नेमा केन्द्रित गरिने संयोजक थापाले बताए ।

सम्मेलनमार्फत वैदेशिक रोजगारीमा गएका युवा र अध्ययनका लागि गएका विद्यार्थीहरुको भाव कसरी दर्शाउने भनेर केन्द्रित गराउने र विगतमा गरेका निर्णयलाई समिक्षा समेत गरिने कार्यक्रम तालिका छ ।
बैठकमा म्यानमार सहित थाइल्याण्ड, चीन, हङकङ, जापान, मकाउ, मलेसिया, फिलिपिन्स, सिंगापुर र साउथ कोरिया सहितका एसिया प्यासिफिक क्षेत्रका सदस्य राष्ट्र लगायत अन्य राष्ट्रका पदाधिकारीहरुको समेत सहभागिता रहनेछ ।

एनआरएन एसिया प्याशिफिक संयोजक किरण विक्रम थापाका अनुसार सम्मेलनमा एसिया क्षेत्रभित्र पर्ने १० वटा एनसिसीका प्रतिनिधिको सहभागिता रहनेछ । साथै विभिन्न क्षेत्रीय संयोजक तथा प्रतिनिधिहरुको पनि कार्यक्रममा सहभागिता रहनेछ । कार्यक्रममा लगभग ५ सयको सहभागिता रहने अपेक्षा रहेको संयोजक थापाले बताए । थापाले बैठक अहिलेसम्मकै भव्य र सभ्य हुने बताउँदैं सबै तयारी सो अनुरुप भइसकेको पनि बताए ।