कुनै बेला पर्वतको कुश्मा नगरपालिका काठमाडौंभन्दा कम थिएन। सुविधामा होइन, फोहोर र धूलोधुँवामा।

अहिले तपाईं कुश्मा जानुभयो भने काठमाडौं भन्दा धेरै सफा पाउनुहुन्छ। कुश्माले आफ्नो फोहोर रूप फेरेको छ। सवारी गुड्दा उडेको धूलोले आँखै चिम्लिनु पर्ने अवस्था छैन। वा, सडकमै थुपारिएको फोहोर गन्धले नाकमुख छोप्नुपर्दैन।

यहाँका सडक सफा छन्। र, कुश्माले यो नयाँ रूपमा पाउन थालेको झन्डै तीन महिना भयो। नगरपालिकाको ट्रक बिहानै साइरन बजाउँदै घरघरै आउँछ। साइरन सुनेपछि कुश्मावासी नगरपालिकाले दिएको ठूलो प्लास्टिक झोलामा फोहोर बोकेर सडक आइपुग्छन्। भएभरका फोहोर भने फाल्न पाउँदैनन्। किनकि, हरेक दिन आउने ट्रकमा हरियो स्टिकर टाँसिएको हुन्छ। र, यसले कुहिने फोहोर मात्र लान्छ।

नकुहिने फोहोर के गर्ने भन्नुहोला, साताको दुई दिन रातो स्टिकर टाँसेको अर्को ट्रक आउँछ। दिउँसो आउने यो ट्रकले नकुहिने फोहोर लिएर जान्छ।

यो व्यवस्थाले मुख्य दुई कुरामा फाइदा भएको छ।

पहिलो, फोहोरको प्रकारअनुसार व्यवस्थापन।

दोस्रो, जनता आफैंले कुहिने र नकुहिने फोहोर पहिचान गर्न सक्ने भए।

यसले दीगो रूपमै फोहोर व्यवस्थापनमा सघाउ पुर्याउने मेयर रामचन्द्र जोशी बताउँछन्।

‘कुश्माको फोहोर पनि अन्तका सहरमा झैं अस्तव्यस्त थियो,’ उनले भने, ‘हामीले छोटो समयमै तह लगाउन सक्यौं।’

उनका अनुसार असार १ गतेदेखि फोहोर व्यवस्थापनमा झनै सुधार गरिएको छ। कुहिने र नकुहिने फोहोर व्यवस्थापन थालिएको भने दस महिना भयो। यसअघि नगरभरिको फोहोर मोदीखोला, बडगाउँ वन र क्याम्पस छेउको खाली जग्गामा फालिन्थ्यो। यत्रतत्रको फोहोरले दुर्गन्धित भएपछि हिँड्नै मुश्किल थियो।

नगरपालिकाले सामुदायिक स्रोत तथा वातावरणीय विकास केन्द्र (सेक्रेड नेपाल) सँग सहकार्य गर्दै फोहोर व्यवस्थापन सुरू गरेको छ। नगरपालिकाले ‘जिरो वेस्ट म्यानेजमेन्ट’ अन्तर्गत फोहोर उठाइरहेको छ। बजारबाट उठाइएको फोहोर पाँच किलोमिटर टाढा व्यवस्थापन गरिन्छ।

कुश्मामा फोहोर उठाउने हरियो र रातो स्टिकर भएका गाडी
व्यवस्थापन भनेको फाल्ने होइन नि, मल बनाउने र बिक्री पनि गर्ने। नकुहिनेमध्ये पुनः प्रयोग हुनसक्ने गर्ने, नसकिने कवाडीमा बिक्छ।

काठमाडौंबाट साढे दुई सय किलोमिटर टाढाको कुश्माले बेलैमा आफ्नो ठाउँका निम्ति यति पहल गर्दा काठमाडौं भने ‘मौन’ नै देखिन्छ। महानगरले नुवाकोटको सिसडोलमा फोहोर थुपार्दै आएको छ। त्यो ठाउँ पनि उहिल्यै भरिएको। जेनतेन धानिएको छ। तर हरेक ४-५ महिनामामा फोहोर विवाद चुलिन्छ र काठमाडौंवासीको आँखा-नाक-मुख पोल्न थाल्छन्।

यही साता यस्तै भएको थियो। घरका फोहोर उठे पनि काठमाडौंका सडक दुर्गन्धित नै छन्। महानगरबाट दैनिक पाँच मेट्रिकटन फोहोर संकलन हुन्छ। महिनामा एक सय ५० मेट्रिकटनभन्दा बढी फोहोरले सिसडोलमा नयाँ पहाड बनाउँछ।

यति धेरै फोहोर व्यवस्थापन कसरी गर्ने? महानगरलाई टाउको दुखाइ त हो, तर दीगो समाधान प्रयास उसले थालेको देखिँदैन। बञ्चरेडाँडामा वैकल्पिक उपाय खोजिए पनि हालसम्म कुनै उल्लेख्य काम भएको छैन।

‘३० वर्ष फोहोर फ्याक्न मिल्ने ठाउँ बञ्चरेडाँडाँमा छ,’ महानगर प्रवक्ता ईश्वरमान डंगोल भन्छन्, ‘फराकिलो पनि छ।’
सेतोपाटी