१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रा. डा. सुवेदीलाई अक्सफोर्डको महाविद्यावारिधि

नेपालब्रिटेन डट कम्
२० असार २०७६, शुक्रबार १३:५२

लन्डन — विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले प्रा.डा. सूर्यप्रसाद सुवेदी (क्यूसी, ओबिइ) लाई प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि महाविद्यावारिधि प्रदान गर्ने निर्णय गरेको छ । प्रा. सुवेदीले आफ्ना अन्तर्राष्ट्रियस्तरका प्रकाशित कृतिबाट आफ्नो विधामा उत्कृष्ट योगदान गरे वापत उक्त उपाधि दिइएको हो ।

अक्सफोर्ड जस्तो प्रतिष्ठित संस्थाबाट यस्तो सर्वोच्च उपाधि पाउँदा आफू गौरवान्वित भएको प्रा. सुवेदीले बताए । विशिष्ट प्राध्यापकहरुले पनि विरलै प्राप्त गर्ने यस्तो उपाधि पाएपछि प्रा. सुवेदी बेलायतको विशिष्टतम प्राज्ञिक व्यक्तित्व भित्र परेका छन् ।

अन्तर्राष्ट्रिय कानुनको विकासमा उल्लेखनीय योगदान गरे वापत बेलायती महारानीबाट उनले सन् २००४ मा ‘ओबिइ’ को उपाधि पाएका थिए । आफ्नो तीव्र कलममार्फत संसारभरि पढिने उच्चस्तरका ग्रन्थद्वारा न्यायपूर्ण संसारको विकासका लागि योगदान गरिरहने उनको कामलाई कदर गर्दै बेलायतकी महारानीले सन् २०१७ मा अर्को ठूलो कानूनी उपाधि ‘क्यूसी’ प्रदान गरेकी थिइन् ।

अक्सफोर्ड विश्वविद्यालयबाटै उत्कृष्ट शोधग्रन्थ वापतको पुरस्कारसहित सन् १९९३ मा विद्यावारिधि गरेका प्रा. सुवेदीले नेपालमा पनि विभिन्न मान पदवी र पुरस्कार प्राप्त गरेका छन् । यसरी राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा सबैभन्दा ठूला र धेरै मान सम्मानले विभूषित एवं प्राज्ञिक तथा शैक्षिक उपाधि प्राप्त गर्ने सम्भवतः अर्को नेपाली छैन् ।

त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका प्रा. सुवेदीले बेलायतको हल विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा प्रथम भई स्नातकोत्तर गरेका थिए ।