१३ बैशाख २०८१, बिहीबार
Follow Us

बाबुरामले पनि ओलीलाई सुनाए निदुली ज्यातिषीको कथा

नेपालब्रिटेन डट कम्
२० असार २०७६, शुक्रबार १६:३१

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले भ्यागुताको कथा सुनाउँदै समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईलाई व्यङ्ग्य गरेपछि डा भट्टराईले पनि सामाजिक सञ्जालबाटै उनीप्रति कटाक्ष गरेका छन् ।

उनले ओलीलाई निदुली ज्यातिषीको संज्ञा दिँदै ओली निदुली ज्योतिषी जस्तै कागताली परेर अहिलेको ठाउँमा आइपुगेको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा भट्टराईले भनेका छन्, ‘हाम्रो पालामा तीन कक्षामा पढाइने घमण्डी भ्यागुतोको कथा हालेर प्रमले श्रोताहरूलाई हँसाउनुभएछ ! त्यो संगै निदुली नाम गरेका बाहुन कसरी काकताली परेर ठूलो ज्योतिषी कहलिन पुगेका थिए भन्ने कथा पनि सुनाइदिएको भए अझ ठूलो हाँसो फुट्थ्यो कि !’
समाजवादी पार्टीका कल्पना धमलालगायतको पार्टी प्रवेश कार्यक्रममा ओलीले यो कटाक्ष्मा गरेका थिए ।

निदुली ज्योतिषीको कथाः निदुली बाहुन साँझमा ससुराली पुगेछन्।

कथा यस्तो छ-निदुली बाहुन साँझमा ससुराली पुगेछन्।

सासू भित्र सेलरोटी पकाउँदै रहिछन्।ज्वाइँ बाहिर पिंढीमा बसेर बाँसका सिन्का भाँच्दै रोटी गन्न थालेछन्!पकाइसकेपछि सासूले ज्वाइँलाई देखिछन् र चारवटा रोटी थालमा राखेर ज्वाइँलाई दिइछन्!ज्वाइँले भनेछन्-‘रोटी पाके दुइ बीस चार, ज्वाइँका भागमा किन चार?’ठ्याक्कै रोटीको संख्या मिलेपछि गाउँभर सासूले ज्वाइँ अब्बल ज्योतिष भएको प्रचार गरिछन्।गाउँमा धोबीको गधा हराएको रहेछ।धोबीले ज्वाइँसंग हराएको गधा पत्ता लगाइदिन भनेछन्!अब पर्यो फ़साद!भोलिपल्ट विहानैको शुभसाइतमा आउन आग्रह गर्दै मध्यरातमा सबैसुतेपछि ज्वाइँले टाप कसेछन्।

भाग्दै जाँदा बाटोमा उखुवारीमा गधा चर्दै गरेको देखेछन्! के खोज्छस् दृष्टिविहीन,आँखा!ज्वाइँ ससुराली घर फर्केर सुतेछन्!भोलिपल्ट जोखाना हेरेझैं गरेर धोवीलाई गधाको इतिवृत्त बताएछन्!अब के चाहियो?निदुलीको ख्याति राजदरबारसम्म पुगेछ।राजाले दरबारमा बोलाएछन् र हराएका हीरा-जवाहरत पत्ता लगाउन भनेछन्।बस्न कोठा दिएछन्!अब पर्यो महाफसाद!भागौं,पहरा छ! कोठामै बर्बराएछन्-‘रोटी गनीगनी जैसी कहाएँ;धोबीको गधा उखुवारी पाएँ;अब आयो निदूली तेरै काल!’पल्लो कोठामा सुतेकी नोकर्नीले सुनिछ!उसको नाउँ पनि निदूली रहेछ!उसले रूँदै आएर भनिछ-‘बाजे मेरो ज्यान बचाइदिनोस्,हीरामोती मैले चोरेर फलानो ठाउँमा राखेकीछु।’निदूली राजज्योतिषी बनेर धनधान्य भएछन! अब आफै बुझौं हाम्रो अहिलेको राजज्योतिषी को हो!