८ बैशाख २०८१, शनिबार
Follow Us

लोकसेवा विज्ञापन रोक्ने निर्देशन सच्याउन संसदीय समितिमा माग

नेपालब्रिटेन डट कम्
२१ असार २०७६, शनिबार ०२:३८

काठमाडौं । स्थानीय तहका लागि लोकसेवा आयोगले गरेको विज्ञापन रोक्न निर्देशन दिएको संसदीय समितिमा निर्देशन फिर्ता गर्न सांसदहरूले माग गरेका छन् । संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबार बसेको बैठकमा सांसदहरूले विज्ञापन रोक्न दिइएको निर्देशन सच्याउन माग गरेका हुन् । सांसदको माग सँगै समितिले आफ्नो निर्णय सच्याउने संकेत देखिएको छ । यद्यपि सर्वोच्च अदालतले संसदीय समितिको निर्देशनलाई खारेज गर्दै लोकसेवाको विज्ञापन सुचारु राख्ने फैसला यस अघि नै गरिसकेको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ण्ट पार्टी (नेकपा)का सांसद विजय सुब्बाले स्थानीय तहको कर्मचारी भर्नासम्बन्धी लोकसेवा आयोगलाई दिइएको निर्देशनमा गल्ती गरिएको स्वीकार गर्न सभापति शशि श्रेष्ठसँग माग गरे । उनले शुक्रबार समितिको बैठकमा लोकसेवा आयोगले खुलाएको सो विज्ञापनमा केके रहेछ ? भन्ने थाहा नभई लोकसेवा आयोगलाई निर्देशन दिएको पाइएको उल्लेख गर्दै गल्ती स्वीकार गरेर अघि बढ्न समितिका सभापति श्रेष्ठसँग माग गरेका हुन् । ‘लोकसेवा आयोगले खुलाएको सो विज्ञापनमा केके रहेछ भन्ने थाहा रहेनछ, लोकसेवा आयोगको ऐन कहाँ छ ? त्यहाँ समावेशी सिटहरू कति छन् ? थाहा भएपछि बोल्नुपर्ने,’ उनको प्रस्ताव छ, ‘अहिलेसम्म थाहा रहेनछ, अब लोक सेवा आयोगसँग सो सम्बन्धमा पुनः जानकारी मागौं, थाहा पाऔं, लियौं अनि गल्ती गरिएछ भनेर समीक्षा गरौं ।’ राजधानी दैनिकमा खबर छ ।