८ बैशाख २०८१, शनिबार
Follow Us

हत्यारालाई फाँसीको माग गर्दै कालंगा जलविद्युत आयोजनामा तोडफोड, १५ करोडको क्षती

नेपालब्रिटेन डट कम्
२१ असार २०७६, शनिबार ०८:०८

बझाङ । सोमबार राती भएको युवती हत्याको घटनालाई लिएर आक्रोसित बुङ्गलका स्थानियले निर्माणाधिन कालंगा जलविद्युत आयोजनाको विभिन्न स्थानमा तोडफोड गरेका छन । तोडफोडबाट आयोजनामा १५ करोड बराबरको क्षती भएको आयोजना कार्यालयले जनाएको छ । गत मंगलबार विहान बुङ्गल नगरपालिका २ को खोचे भगाड भन्ने ठाउँको सडक किनारामा मृत अवस्थामा फेला परेकी बुङ्गल नगरपालिका २ की ललिता धामीको हत्याको विषयलाई लिएर आन्दोलन भएको हो । डडेल्धुरा जिल्ला परशुराम नगरपालिकामा पर्ने जोगबुढाका माधब बोहराले हत्या स्विकार गरी सकेका छन । उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । बोहरा कालंगा हाइड्रोमा एक्साभेटर अपरेटरको काम गर्दै आएका थिए ।
स्थानिय महेन्द्र उच्च माध्यमिक विद्यालय र सुल्जन प्राथमिक विद्यालयका शिक्षक र विद्यार्थीहरुले शुक्रबार विहानै देखी आयोजनाका क्याम्प, गाडी तथा मेसिनहरुमा तोडफोड सुरु गरेका थिए । भिड नियन्त्रणमा लिनको लागि प्रहरीले पाँच सेल अश्रु ग्यास समेत प्रहार गरेको छ ।
नेपाल प्रहरी र ससस्त्र प्रहरीको थप बल बुङ्गल तर्फ परिचालन गरिएको भए पनि अराजक भिड नियन्त्रणमा नआएको डिएसपी सुर्यबहादुर केसीले बताए ।
उत्तेजक भिडले रनलेकमा रहेको मुख्य क्याप्प र कार्यालय, विराबगरमा रहेको निर्माण क्याम्पमा तोडफोड गरेर कार्यालय तथा बन्दोबस्तीका सामानहरुमा क्षती पुर्याएको उनको भनाइ छ ।
‘१५ करोड बराबरको क्षती भएको प्रारम्भिक अनुमान छ’ आयोजनाका संस्थापक विरेन्द मल्लले बताए । प्रशर्दनकारीहरुले प्रहरीको मोटरसाइकलमा समेत तोडफोड गरेका छन ।
मल्लले भने ‘तोडफोड अझै चलिरहेको छ । हाम्रा मान्छेहरु त्यहा“बाट लखेटिएका छन । कहाँ कति क्षती भएको छ भनेर विवरण संकलन गर्ने अवस्था नै छैन’ उनले हत्याको निहुँ बनाएर जलविद्युत आयोजनाको काममा अवरोध गर्न खोजेको बताए ।
स्थानिय महेन्द्र उच्च माध्यमिक विद्यालय र सुल्जन प्राथमिक विद्यालयका शिक्षकहरुले विद्यार्थीहरुलाई उचालेर आयोजनाको संरचना तथा उपकरणहरुमा तोडफोड गरेको आयोजना कार्यालयको आरोप छ ।
। आफ्नै छोरीको मृत्यूको विषयलाई लिएर आन्दोलन भैरहेको भए पनि मृतकका परिवारलाई यस विषयमा कुनै जानकारी नभएका ममताका बुवा कलक बहादुर धामीले बताए । उनले भने ‘प्रहरीले दोषीलाई पक्राउ गरेर कारबाहीको प्रक्रिया अगाडी बढाइसकेको छ । किन आन्दोलन गरिरहेका छन भन्ने कुरा हामीलाई नै थाहा छैन । यो विषयमा हामी सँग कसैले सरसल्लाह पनि गरेको छैन’