१३ बैशाख २०८१, बिहीबार
Follow Us

अष्ट्रेलियाबाट सुरु भयो चुनावसम्बन्धी नियमावली उलङ्घन

नेपालब्रिटेन डट कम्
२१ असार २०७६, शनिबार ०८:११

काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाको नयाँ कार्यकालका लागि भएको निर्वाचनमा नियमावली उलंघन भएको छ । संघको राष्ट्रिय महाधिवेशन सञ्चालनसम्बन्धी नियमावली विपरित चुनाव भएको हो ।
नियमावलीमा उम्मेदवारले राजनीतिक, क्षेत्रीय, जातीय वा धार्मिक आधारमा कुनै समूह वा प्यानलको आधारमा चुनाव लड्न नपाउने व्यवस्था भएपनि सोको उलंघन गर्दै एनआरएन अष्ट्रेलियामा समावेश र साझा समूहको नाममा दुई प्यानलबीच चुनावी भिडन्त भएको हो ।
समावेशी (नेकपा निकट) प्यानलको नेतृत्व दिनेश पोखरेलले गरेका छन् भने साझा (काँग्रेस निकट) प्यानलको नेतृत्व केशव कडेलले गरेका छन् ।

शनिबार भएको निर्वाचनमा दुबै प्यानलका उम्मेदवारले आफ्नो पक्षमा मत तान्न निर्वाचन अवधिमा समेत आचारसंहिता विपरितका कार्यहरु गरेको गुनासो आएको छ। केही उम्मेदवारले सोबारेको उजुरी एनआरएन निर्वाचन आयोगमा गरेका छन् । उनीहरुले निर्वाचनका बेला मतदातालाई आफ्नो पक्षमा पार्न एसएमएस पठाएरको भन्दै उजुरी गरेका हुन् । अष्ट्रेलियामा रहेका एक एनआरएन नेताले नेपालको संसदीय निर्वाचनलाई झल्को दिनेगरी एसएमएस आतंक फैलाउने काम भएको भन्दै यसलाई रोक्न आफूहरुले एनआरएन निर्वाचन आयोगलाई जानकारी गराएको बताए ।
उनका अनुसार अहिले निर्वाचन आयोगले सम्बन्धित उम्मेदवारलाई यस्तो कार्य नगर्न सचेत गराएको छ । तैपनि एसएमएस पठाइने कार्य भने रोकिएको छैन।
नयाँ नेतृत्व चयनका लागि अष्ट्रेलियाका आठ वटै राज्यमा शनिबार निर्वाचन भइरहेको हो । अष्ट्रेलियामा मतााधिकार भएका ११ हजार ६११ मतदाता रहेका छन् । जसमा सबैभन्दा बढी सिड्नीमा ४ हजार ६४५ मतदाता रहेका छन् ।
निर्वाचनको मतपरिणाम शनिबार रातीसम्ममा आइसक्ने एनआरएन अष्ट्रेलियाले जनाएको छ ।