१५ चैत्र २०८०, बिहीबार
Follow Us

प्रहरीको कुटाइबाट पत्रकार कार्की गम्भीर घाइते

नेपालब्रिटेन डट कम्
२२ असार २०७६, आईतवार ०७:१३

नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) प्रहरीको कुटाइबाट गम्भीर घाइते हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुई प्रहरीले गए राति पत्रकार महासङ्घ सिन्धुलीका अध्यक्ष कार्कीलाई कुटपिट गरेका हुन् ।

प्रहरीको कुटाइबाट घाइते हुनुभएका कार्कीको सिन्धुलीमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडाँै लगिएको छ । शनिबार राति सिन्धुलीको शिवनगरको एक होटलमा खाजा खाँदै गर्दा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत काभ्रे खावा–६ घर भएका ३० वर्षीय प्रहरी हबल्दार सनमसिं लामा र काभ्रे पनौती–७ बस्ने २८ वर्षीय प्रहरी जवान विकास स्याङतानले विनाकारण योजनाबद्ध तरिकाले कुटपिट गरेका हुन । अध्यक्ष कार्कीको टाउकोमा गम्भीर चोट लागेको सिन्धुली अस्पतालले जनाएको छ ।

पत्रकार महासङ्घ सिन्धुली शाखा पूर्वअध्यक्ष मीनकुमार दाहालसँग कुरा गरिरहेका बेला प्रहरी हबल्दार सनम लामाले मोबाइलमा भिडियो कैद गरेको र भिडियो किन खिचेको डिलिट गर्नुस् भन्दा दुई प्रहरीले मोटरसाइकलको हेल्मेटलगायतका अन्य वस्तुले टाउकोमा हिर्काइ भागेको मीनकुमार दाहालले बताउनुभयो । पहिला फोटो खिचेर बाहिर कतै पठाएको अनि पछि भिडियो खिच्ने बहाना बनाएर कुटपिट भएको उहाँको भनाइ छ । प्रहरीको कुटाइबाट आफू पनि सामान्य घाइते भएको उहाँले बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घले घटनाको विरोध गर्दै घाइतेको उपचार र दोषीलाई कानूनी कारवाही गर्न माग गरेको छ । पत्रकार महासङ्घ सिन्धुलीका अध्यक्षलाई प्रहरीले नै कुटपिट गरेको तर प्रहरी प्रमुख तथा प्रमुख जिल्ला अधिकारीबाट घटनाको विषयमा सन्तोषजनक सम्बोधन नभएको पत्रकार महासङ्घ सिन्धुलीका उपाध्यक्ष विमला पाण्डेले बताउनुभयो ।
यता जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा राति नै पत्रकारले कार्यालय घेराउ गरेपछि प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले दुवै प्रहरी नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान गरेर दोषी भए कारवाही गर्ने बताउनुभएको छ । घाइतेको उपचार गर्ने व्यवस्था मिलाउने प्रतिबद्धतासमेत उहाँले गर्नुभएको छ ।