१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनले चाहे जस्तै नागरिकता दिइनेछ : सांसद डा. सूर्य पाठक

नेपालब्रिटेन डट कम्
२२ असार २०७६, आईतवार १२:४५

म्यान्मार । नेकपा नेता तथा प्रतिनिधिसभा सांसद सूर्य पाठकले गैरआवासीय नेपालीसहित सबै नेपाली एकजुट भएर लागिपरे नेपाललाई समृद्ध बनाउन समय नलाग्ने बताएका छन् । ‘सबै मिलेर लागिपरे नेपालले परिकल्पना गरेको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई हाम्रैपालामा मूर्तरुप दिन सकिन्छ,’ शनिबार म्यान्मारमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएन) को एसिया प्यासिफिक क्षेत्रीय बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने ।

नेपालमा लगानीको वातावरण सिर्जना भएको उल्लेख गर्दै विदेशमा सिकेको ज्ञान सिप र क्षमतालाई देशको लागि प्रयोग गर्न पनि उनले अनुरोध गरे ।
एनआरएनले सञ्चालनमा ल्याएको नलेज टान्सफर कार्यक्रमको सरहाना गर्दै पाठकले त्यसले नेपालको समुचित विकासका लागि सहयोगी भूमिका खेल्नेमा विश्वास व्यक्त गरे ।
विदेशमा कार्यरत नेपालीको श्रमबाट नेपालको कूल जीडीपीमा ३० प्रतिशत योगदान रहेको पनि सो क्रममा पाठकले बताए ।

यस्तै एनआरएनले नेपालमा कोषमार्फत गर्ने भनिएको लगानी सकारात्मक भएको उल्लेख गर्दै त्यसका लागि अनुकूलका कानूनहरु पनि तयार भइसकेको पाठकले बताए ।
‘एफडीआई नेपालमा लगानी ल्याउने भन्नुभएको छ । त्यसका लागि कानुनहरु पनि बनाइसकेका छौं’ उनले भने, ‘तपाईँहरुले जे जे भन्नु भएको थियो त्यसमा हुबहु नभएपनि तपाईँहरुले उठाएजस्तै विषयहरु समेटेर कानुन बनेर आएको छ ।’

यस्तै अहिले नेपालमा लगानी गर्ने प्रक्रिया पनि सहज बनाइएको उनको भनाई छ । ‘विगतमा लगानी गर्न नेपाल जाँदा १२ ठाउँमा जानु पर्नेमा अहिले एकल बिन्दुबाट काम गर्न सकिन्छ । सबै ठाउँको काम एकल बिन्दु सेवा केन्द्रबाटै गर्न सकिन्छ ’ उनले भने ।
उनले एनआरएन नागरिकताबारेको विधेयक अहिलेपनि छलफलको क्रममा रहेको भन्दै एनआरएनका अधिकांश माग समेटिएको पनि स्पष्ट पारे ।
एनआरएन नागरिकता गृह मन्त्रालय वा सबै सिडियो कार्यालयबाट लिन सकिने, राजनीतिक अधिकारलगायतका विषय एनआरएनको माग अनुरुप आएको उनको भनाई छ ।