१३ बैशाख २०८१, बिहीबार
Follow Us

दाजुभाई, दिदीवहिनीबीच सौहार्दताको प्रतिक ‘भाईटीका’

नेपालब्रिटेन डट कम्
१६ कार्तिक २०७३, मंगलवार ११:३४

रत्ननगर । नेपालीहरुको दोस्रो ठुलो चाड तिहार । यसलाई यमपञ्चक समेत भनिन्छ । तिहारको पनि आज मुख्य दिन भाईटिका । विशेषगरी दाजुभाई र दिदीवहिनीहरुको सम्बन्धको प्रतिकको रुपमा भाईटीका लगाएर मनाउने दिन ।

तिहारको पाँचौं दिन आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा र निष्ठापुर्वक सुखशान्ति दिर्घायु तथा श्रद्धा र ऐश्वर्यको कामना गर्दै चितवनमा पनि मनाईएको छ ।

धादिंङ गजुरीबाट चितवनमा भाईटिकाका लागि आउनुभएकी पार्वती अर्याल मुख्यगरी दाजुभाई र दिदी बहिनीको सम्बन्धको प्रतिक भाईटीका भएको बताउनुहुन्छ । परम्पराअनुसार दिदिवहिनीहरुले भाईलाई पुजा गरी सप्तरंगी टिका लगाएर मिष्ठान्न भोजन गराई भाईटीका मनाईन्छ ।

यस्तै, दाजुभाईले पनि दिदी वहिनीलाई यसैगरी टिका लगाएर गच्छेअनुपार दक्षिणा तथा उपहार दिने र आपसी सौहार्द र खुसी साटेर भाइटीका मनाउने गरिन्छ ।

पंडित हरिप्रसाद शर्मा दाजुभाई दिदीवहिनीको सम्बन्धको प्रतिक नै भाईटीका भएको बताउँदै तिहारले सुखशान्ति, समृद्धि र भाईचाराको विकासको कामना गरेर मनाईने बताउनुहुन्छ ।

चितवनमा कतिपयले भाइटीकाको उत्तम समय ११ बजेर ५२ मिनेटमै लगाएका छन् भने कतिपय दिदीवहिनीहरुले केही अघि र केहीपछि पनि टिका लगाएका छन् । समयमै टिका लगाएको बताउनु हुने गोमा न्यौपाने दिदी बहिनी र दाजुभाईका लागि दर्शैं भन्दा पनि महत्वपूर्ण चाड तिहार भएको बताउनुहुन्छ ।

‘टाढा गएका दाईभाईहरु घरमा आउँछन्, दिदीवहिनीहरुको भेट हुन्छ, बर्षदिनभरीको सुखदुःख साट्ने दिन पनि तिहार हो,’ न्यौपाने भन्नुहुन्छ, ‘दाजुभाईले दिदीवहिनी र दिदीवहिनीले दाजुभाईलाई टिका लगाएर पुज्ने दिन भएकाले भाइटिकाको महत्व ठुलो छ ।’

आज टिकाका बेला दिदीबहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर पुजा गर्छन् । सप्तरंगी टीका लगाई मखमली, सयपत्री तथा गोदावरीको माला लगाईदिन्छन् । त्यसपछि मिष्ठान्नहरु विभिन्न प्रकारका मसला ओखर, कटुस, रोटी, चकलेट, फलफूल, नरिवल, मकैफूला तथा अन्य खानेकुराहरु दिईन्छ ।

चितवन शक्तिखोरमा पाँच दाजुभाईलाई टिका लगाउन आउनुभएकी अम्बिका घिमिरे अरु बेला माईत आउन नपाएपनि तिहारमा नियमित आउने गरेको बताउनुहुन्छ । यो पटक पनि उहाँले भाईलाई सप्तरंगी टीकाले रंग्याउनुभयो ।

मखमली र सयपत्री माला लगाई दीर्घायु तथा सुस्वास्थ्यको कामना गरिएको घिमिरेले बताउनुभयो । दाजुभाईले पनि टिका लगाई गच्छे अनुसारको दक्षिणा दिएर शुभकामना साटासाट भएको उहाँ बताउनुहुन्छ ।

स्थानीय लोकनाथ ढुंगाना विहे गरेर टाढा गएका दिदीबहिनीहरु समेत आउने र दाजुभाई समेत कामको सिलसिलामा बाहिर भएपनि यो बेला आउने हुँदा तिहार आफैंमा सौहार्दताको चाडको रुपमा आफुले लिने गरेको बताउनुहून्छ ।
– नारायण ढुंगाना