१२ बैशाख २०८१, बुधबार
Follow Us

मन्त्रिपरिषद्को बैठकमै भाडभैलो

नेपालब्रिटेन डट कम्
२४ असार २०७६, मंगलवार ०७:४७

काठमाडौं । मन्त्रिपरिषद्को बैठकमा मन्त्रीहरु अनुपस्थित हुने देखि बीचैमा छाडेर हिंड्ने सम्म भयो । २४ असारको विहान प्रधानमन्त्रीनिवास बालुवाटारमा ब्रेकफाष्टसहित बसेको बैठकमा सरकारको कामकारबाहीको गम्भीर समिक्षा भएको छ ।

बैठकमा सीमानाकामा तरकारी तथा फलफूलमा विषादी भए नभएको परीक्षणको विषय गम्भीरताका साथ उठेको छ । सरकारले राजपत्रमा सूचना निकालेर विषादी परीक्षण शुरु गरेलगत्तै परीक्षणका लागि प्राविधिक उपकरण नाकामा नरहेको भन्दै फिर्ता लिएको थियो । निर्णय लिने र फिर्ता लिनुपर्ने अवस्थाका कारण सरकार अलोकप्रीय बनेको छ ।

विषादी परीक्षणको निर्णय लिने र फिर्ता लिनुपर्ने मामलामा गम्भीर समिक्षा हुँदा आपूर्ति, उद्योग तथा वाणिज्यमन्त्री मातृका यादवले यसमा भएका कमी कमोरीको व्याख्या गरेका थिए । स्रोतका अनुसार उनले सरकारका केही सचिवहरुको नाम तोकेरै असन्तुष्टि पोखेका थिए । सचिवले गुमराहमा पारेको भन्दै तत्काल कारबाही गर्नुपर्ने विषय उठाएका थिए । आक्रोशित बनेका यादव बैठक बीचमै छाडेर बाहिरिएका थिए ।

पूर्व माओवादी पक्षबाट मन्त्री बनेका यादवले आफ्नो धारणा राखेपनि कृषिमन्त्री चक्रपाणि खनाल मन्त्रिपरिषद् बैठकमा अनुपस्थित भए । विषादी परीक्षणको विषय कृषि मन्त्रालयसँग पनि जोडिएको छ । कृषिमन्त्री आजको बैठकमा तारोमा पर्ने सम्भावना थियो । मलको अभाव र मलमा भइरहेको चलखेलबारे उनीसँग बैठकमा छलफल गर्ने तय भएको स्रोतले बतायो । मलमा अरबौं कमिशन खाने चलखेल भइरहेको छ ।

वनमन्त्री शक्ति बस्नेत पनि बैठकमा अनुपस्थित भए । बैठकमा पूर्व माओवादीबाट सहभागी मन्त्री मध्ये गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र खानेपानीमन्त्री विना मगर मात्र उपस्थित थिए । प्रचण्डका विश्वासपात्र भनिएका मन्त्रीहरु अनुपस्थित हुनुलाई अथपूर्ण मानिएको छ ।