१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन नागरिकता प्राप्तिको लागि ढुक्क रहन कांग्रेस नेता महरको आग्रह

नेपालब्रिटेन डट कम्
२४ असार २०७६, मंगलवार २१:४३

लन्डन । नेपाली कांग्रेसका युवा नेता एवम् नेविसंघ पूर्व अध्यक्ष नैनसिंह महरले दोहरो नागरिकता प्राप्तिका लागि ढुक्क रहन गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन्।

नेपाली कांग्रेसको नेतृत्वमा बनेको नेपालको संविधानले दोहरो नागरिकता हुनेछ भनी कवुल गरिसकेका कारण संविधान अनुसार पनि दोहोरो नागरिकताको प्रवन्धबाट कोही टाढा जान नसक्ने नेता महरले बताए।

नेपाली जनसम्पर्क समिति बेलायत को आयोजनमा गत आइतवार अल्डर्शटमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै नेता महरले नेपालीको सीप, क्षमता, अनुभव र लगानी नेपालको समृद्धिमा लगाउन पनि दोहरो नागरिकता हुनुपर्ने धारणा राखेका थिए। उनले आप्रवासी नेपालीको माग पुरा गराउन कांग्रेस कटिवद्ध भएको बताएका थिए।

गोर्खा सैनिकको विषयमा बोल्दै नेता महरले भने, “रुलअफ ल र प्रजातन्त्रको जननी मानिने बेलायतले साठी हजार गोर्खा सैनिकले ग्रेट बेलायत निर्माण गर्न गरेको सहादतलाई भेदभाव पूर्ण तरिकाले हेर्नु हुँदैन।”

बेलायत, भारत र नेपाल बीचको त्रिपक्षीय सम्झौताबाट बेलायत भाग्न नमिल्ने र बेलायती सैनिक सरह गोर्खा सैनिकले पनि सेवा सुविधा पाउनुपर्नेमा उनले जोड गरेका थिए।