१३ बैशाख २०८१, बिहीबार
Follow Us

एक वर्षमा विदेश गएका ४ सय २२ युवाको मृत्यु

नेपालब्रिटेन डट कम्
२६ असार २०७६, बिहीबार ०७:५९

काठमाण्डौ । दैनिक हजारौ युवा कामका लागि विदेश जानुपर्ने बाध्यता छ । विदेश गएर गर्नुपर्ने दुःख उस्तै छ । दुःख मात्रै होइन, विदेशमा काम गर्न गएका करिब ५ सय युवा एक वर्षमा मृत्यु हुने गरेको छ । तर सरकार भने रेमिट्यान्समा मात्रै रमाइरहेको छ ।

बैदेशिक रोजगारका लागि २०७५ श्रावण देखि २०७६ जेठ सम्म ४ लाख ६७ हजार ७ सय ४१ जना नेपाली युवा बिदेशिएका छन । विदेश जाने मध्ये एक वर्षमा झण्डै ५ सय जनाको मृत्यु हुने गरेको छ । वैदेशिक रोजगार प्रबद्र्धन बोर्डकाअनुसार २०७५ साल श्रावण १ गतेबाट २०७६ असार २५ सम्म विदेशमा मृत्यु हुनेको संख्या ४ सय २२ रहेको छ ।

यसरी दैनिक करिब २ जना नेपाली युवाले विदेशी भूमिमा ज्यान गुमाएर कफिनमा फर्किनुपरेको छ । त्यसैगरी अगंभगं तथा बिरामी भएकाको संख्या ३ सय १२ जना रहेको बोर्डको तथ्याङ्कमा रहेको छ ।

यसरी विदेशमा ज्यान गुमाउन बाध्य युवाहरुको विषयमा सरकार गम्भीर बन्न सकेको छैन । केही आर्थिक सहायतको व्यवस्था गरिए पनि त्यसरी हुन मृत्यु रोक्नका लागि सरकारले स्वदेशमै रोजगारी सृजना गर्नेतर्फ ध्यान दिएको छैन ।

अवैधानिक रुपमा विदेश पुगेर मृत्युवरण गरेका कामदारका परिवारले सरकारबाट क्षतिपूर्ति नपाउने भएकाले मृतकको संख्या एक बर्षका अवधिमा निकै माथि रहेको अनुमान छ । बोर्डले अवैधानिक रुपमा श्रम स्वीकृति नलिई गएका र श्रम अवधि नाघेका कामदारको मृत्यु भएमा क्षतिपूर्ति नदिने गरेको प्रवक्ता दीन बन्दु सुवेदीले बताए ।

धेरै मुत्यूहुनेमा साउदी अरब, कतार, यूएई, कुवेत, बहराइन, दक्षिण कोरिया, लेबनान लगायतका मुलुकमा जाने युवाहरु रहेको सुवेदी बताउँछन् ।

वैदेशिक रोजगारको क्रममा विदेशमा विविध अभियोग लागि जेलमा रहेका नेपालीहरुलाई निःशुल्क कानूनी प्रतीरक्षा दिने व्यवस्था मिलाइएको छ । त्यसैगरी मृतकको घरसम्म शव वाहनको सुविधा उपलव्ध गराइएको गराईदै आएको छ । यसरी केही फितलो काम मात्रै गर्दै आएको सरकारले युवाहरुलाई विदेश जान बाध्य हुनुपर्ने अवस्थाको अन्त्यलाई भने नारामै सिमित राखेको छ ।