१३ बैशाख २०८१, बिहीबार
Follow Us

हरीयो पासपोर्टको पीडा

नेपालब्रिटेन डट कम्
१७ कार्तिक २०७३, बुधबार ०७:३१


डा. रामेश कोइराला ।
तिहारको रामरमाइलोबिच छापामा खबर आयो, एकजना नेपाली नेता हरीयो पासपोर्ट लिएर विदेश भ्रमणमा जाँदा त्यहाँको अध्यागमनमा रोकिएछन्। सायद नेताजीलाई पहिलोपटक भएर हो, बडो पीडा अनुभव भएछ। तर नेपाली पासपोर्टको विदेशी हैसियतले जन्माएका हाम्रा पीडाहरू अनन्त छन्।

मेरा एक अग्रज एकपटक मस्कोबाट अमेरिका जाने भएछन्। सेरेमेतोभा एयरपोर्टको अध्यागमनमा अमेरिकी भिसाका साथ लाइन लागेका तिनको पासपोर्ट हेरेपछि अध्यागमनका मानिसले सायद आफ्नो कम्प्युटरमा खराब देशहरूको तालिका हेरे होलान् र लगभग उफ्रेर आफ्नो सहयोगी बोलाए, ‘ओई! सेर्गेइ। यहाँ नेपाली आयो’। उनका हाकिम आए, पासपोर्टलाई ओल्टाइपल्टाइ गरे अनि रुसीमा भने, ‘तिमी कसरी अमेरिका जाँदैछौ?’ जवाफ ‘प्लेनमा’ पनि हुन सक्थ्यो। तर उनको प्रश्नले ‘तरिका’को नभएर एउटा अदना नेपालीलाई किन अमेरिकाले प्रवेश-आज्ञा दियो भन्ने घोर आश्चर्यको सही जवाफ खोजेको थियो। ती अग्रजले गैर आवासीय नेपाली र आसन्न सम्मेलनबारे बताए रे। सेर्गेइ पुरै आश्वस्त भएनछन्, अब रुसी छाडेर अंग्रेजीमा सोधे, ‘नेपालको सम्मेलन अमेरिकामा? वाह! अंग्रेजी बोल्न आउँछ?’ अग्रजले पनि सकेको मिहिनेत गरेछन्। ‘खाँट्टी अंग्रेजी लवज सुनेरमात्र अमेरिका जान पाइयो, पासपोर्टले त झण्डै बिताएको’- आजपर्यन्त उनलाई हरीयो पासपोर्टभन्दा लवजले नै अमेरिका प्रवेश दिलाएको अनुभूति छ। भाड में जाए नेपाली पासपोर्ट!

केही अनुभूति मेरा पनि गाँस्दैछु। २०४५ तिर सरकारी छात्रवृतिमा सोभियत संघ जाने भइयो। नागरिकताभन्दा दुरुह त्यो नेपाली पासपोर्टमा बनिबनाउ स्ट्याम्प लागेका देशहरू हुन्थे, २५ वटा जति- भारत, बंग्लादेश, अमेरिका…। र, हामीलाई हातैले थपिदिएका थिए, सोभियत संघ। युगोस्लाभियाबाहेक त्यही अतिरिक्त लेखिएको सोभियत संघले संसारका साम्यवादी देशमा हाम्रो पहुँच बुझाउँदथ्यो।

त्यसताका रसियामा हाम्रो नेपाली पासपोर्ट बढो इज्जतिलो थियो। रसियामा पढ्न ओइरिएका हरेक विदेशीको सपनाको देश ‘पश्चिम जर्मनी’ हाम्रालागि बिना भिसाको गन्तब्य थियो। जाडो होस् या गर्मी, छुट्टीमा जर्मनी जान विदेशी विद्यार्थीहरू एकाबिहानै जर्मनीको दुतावासमा अन्योलग्रस्त लाइनमा लाग्दै गर्दा हामी कुखुराको साप्रो र बियर खाँदै पोल्याण्डको सिमाना नाधिसकेका हुन्थ्यौँ। वाह! जिन्दगी।

अनि हाम्रो इज्जतमा आँखा लाग्यो। देशमा प्रजातन्त्र आयो। पासपोर्ट अब त्यति गाह्रो रहेन। अनि केही नेपालीले पैसामा आफ्नै देशको इज्जत बेच्न थाले। यता नेताले देश बेच्ने, उता नेपालीले पासपोर्ट बेच्ने। गजबसंग चल्यो व्यापार। नेपाली पासपोर्टमा नेपालीमात्र हैन, बिना भिसा बंगाली र भारतीयसमेत जर्मनी र अन्य पश्चिम युरोपेली मुलुकमा लुक्न थाले। यो फोटो बदलिने र उतै हराउने खेलले जर्मनी अब हाम्रालागि दूर भयो। कुनैबेलाको ‘बिना भिसा’को मुलुक जान अब भारतीय वा केन्याका साथीहरूभन्दा बढी पापड बेल्नु पर्ने भयो।

नेपाल फर्किएर टिचिङ अस्पतालमा सर्जरी पढ्दैगर्दा जापान जाने मौका मिल्यो। सम्मेलनमा जापान हिँडेको, पहिला त काठमाण्डौँको जापानी दुतावासले नै यो र त्यो कागत माग्यो। म नेपाल फर्किन्छु या फर्किन्न भन्नेमा आश्वस्त पार्नु कति गाह्रो रहेछ, त्यहीबेला जानियो। सायद आश्वस्त भयो होला र म जापान उडेँ। केही दिनको सम्मेलनपछि जुगल काका (भूर्तेल)को सहरतिर लागेँ। घुमघामबिच केही नेपाली भेटियो। आजपर्यन्त सम्झन्छु, एकजना नेपालीले बडो हित चिताएर भन्नुभएको,’ अब डाक्साब, यतै भास्सिने। हामी काम खोज्दिहाल्छौँ र दुई-चारबर्ष पैसो कमाएर फर्किनु पर्छ’। उहाँको सुझाव सही होला। तर ‘म त नेपालमा शल्यचिकित्सक, इज्जत छ, केही गर्ने आँट छ। सारा कुरा पैसोमै त कसरी तौलिनु र?’ मानिन। फर्किएँ। लाग्छ कति नेपालीहरू त्यसपछिका १२- १५ बर्षमा कति उतै ‘भास्सिए’ होलान् र आगामी दिनमा कति ‘फर्किने गरी जाने’ बेवकुफ नेपालीहरूको जापान यात्रालाई दुरुह बनाए होलान्। कुनै दिन लाजिम्पाटको ओरालोमा बिहानैदेखि लागेको लाममा केही इच्छुकहरूलाई यही सोध्न मन छ, ‘तपाईँ आफ्ना सन्तानलाई सजिलो वा अफ्ठ्यारो, कस्तो पार्न जापान जाँदै हुनुहुन्छ?’ पिटाइ त नखाइएला नि!

यी त भए हामी जनताले हाम्रै पासपोर्टको चीरहरण गरेका कुरा। संसारमा सबैभन्दा कमसल पासपोर्टमध्ये हाम्रो हरीयो बुट्टेदार पासपोर्ट पनि पर्दछ। त्यस्तो गरिमामय अवस्था ओगटेपछि त्यो पासपोर्टले पनि हाम्रो चीरहरण गर्नु स्वभाविकै हो नि।

आजका दिनमा नेपाली पासपोर्टले अग्रिम भिसा नलिईकन २५ वटा जति देश जान योग्य बनाउँदो रहेछ। अलिकति नाम चलेको र जाउँजाउँ लाग्ने देशमा जम्मा ‘सिंगापुर’। दोस्रो विश्वयुद्ध, मलाया युद्धदेखि आजपर्यन्त गोर्खालीले आफ्नो सुरक्षा गरेकोमा अलिकति पैँचो तिरेको पनि होला, अनि जमिनमुनि लुकेकोसमेत भेटिहाल्छु भनेर पनि होला, सिंगापुरले अझसम्म हाम्रो हरीयो पासपोर्टको इज्जत बचाइदिएको छ। कुन दिन त्यहाँ जानसमेत दिल्लीमा लामो लाइनमा उभिनु पर्नेछ, थाहा छैन।

एकपटक चीन जाने भएँ। काठमाण्डौँ- बैँकक- साङ्घाई रुट थियो। थाइ एयरवेज्‌बाट दिउँसो उडेर बैँककको एयरपोर्टमा जम्मा तीन घण्टाको ट्रान्जिट थियो। नेपाली हरीयो पासपोर्टलाई अति नै बेइज्जत गर्नेतवरले ट्रान्जिटमा समेत भिसा लिनुपर्ने बनाउने देशमा त्यतिबेलासम्म हङकङमात्र थियो। त्यो पनि ड्रागन एयरलाइन्सबाट जाँदा नचाहिने, अरुबाट जाँदा चाहिने। कारण? दु:ख दिनेबाहेक कुनै कारण हुनसक्दैन। न यसमा हाम्रो सरकार बोल्न सक्छ न त त्यस्तै ब्यवहार त्यहाँको पासपोर्टलाई नेपालमा गर्न सक्छ। अँ, त कुरा बैँकक ट्रान्जिटको थियो। काठमाण्डौँको अध्यागमनमा बसेका अधिकृतलाई गमन-पत्र, हरीयो पासपोर्ट र चीनसम्मैको बोर्डिङ पास बुझाएँ। उनले गन्तब्य हेरे, मलाई हेरे र पासपोर्ट हेरे। फोटा र बैयक्तिक विवरणभन्दा उनलाई भिसामा ज्यादा रुची रहेछ।

‘बैँकक भएर जाने? खै त थाइ भिसा?’
‘बैँककमा घुम्ने भए पो भिसा लिन्छु नि। ट्रान्जिटमा केको भिसा?’
अहँ! ती अधिकृत ‘खुसी’ नभई मलाई जान नदिने छाँटमा थिए। म उनलाई खुसी पार्ने मुडमा थिइन।
‘हुँदैन’।
‘टिकट लिँदादेखि चीनको भिसा लिँदासम्म कतै नभनेको नियम तपाईँले भनेर हुन्छ? टिकट मेरो हो, फर्किने टिकट पनि छ, यदि बैँककबाट फर्काएछ भने मै फर्किन्छु, मैरे पैसा जान्छ। नभएका नयाँ नियम लगाएर रोक्ने हैन नि सर तपाईँको काम’, म निकै उचो स्वरमा बोलेँ। के बोलेँ नि, चिच्याएँ नै। तिनी अलिक मत्थर भए।
‘तपाईँ किन चाइना जान लाग्नु भएको?’
र मैले जिन्दगीमा त्यति घटिया जवाफ कहिल्यै दिएको थिइँन। दिएँ।
‘गुच्चा खेल्न’।
‘के रे?’
‘साङ्घाईमा अन्तर्राष्ट्रिय ढ्यामपुलुस प्रतियोगिता हुँदैछ र म त्यसैमा भाग लिन जाँदैछु। तपाईँलाई कुनै मर्का?’
र म उडेँ, नेपाली हरीयो पासपोर्टको पहिलो हेयता नेपाली अधिकृतबाटै अनुभव गर्दै। न त बैँककमा भिसा चाहिन्थ्यो, न त कसैले खोज्यो नै। न त म गुच्चा खेल्न नै चीन गएको थिएँ।

अमेरिकी भिसाको हण्डर त सबैलाई थाहै छ। हरीयो पासपोर्टले भिसा पाउनु एसएलसी पास गर्नु भन्दा ठूलो उपलब्धि हो, आम नेपालीलाई। बल्लतल्ल दशथरिका कागजात पुर्‍याएर अन्तर्वार्ताका लागि सिसाको झ्यालअगाडि ठिङ्ग उभिँदा ज्यादातर नेपाली पसिनामा भिजेको देखेको छु। ‘किन जान लाग्नुभयो?’मा ‘साथीले बोलायो’ र ‘के गर्नु हुन्छ’मा ‘ट्रक चलाउँछु’ भन्ने शेर्पा दाइलाई ‘हुन्छ’ भनेको पनि देखियो भने ‘फर्किनु हुन्छ त?’मा ‘अँ, मेरी श्रीमति गर्भवती छिन्, दुई महिनामा त फर्किनै पर्छ’ भन्ने हस्तकलाको ब्यापार प्रवर्धन गर्न अमेरिका जान सुरिएका नेवार यूवालाई ‘ए! अब गर्भवतीको हेरचाह गर्ने बेला भएछ, नजानुस्’ भन्दै नकारेको पनि देखियो। हो, हरेक कन्सुलेटको ध्याउन्न गैरकानूनी आप्रवासी नहुन् भन्ने नै हुन्छ। तर, हामी हरेकलाई ‘नफर्किने’ हैसियतमा पुर्‍याउनमा हाम्रै देश हाँक्ने नेतृत्व बढी दोषि छ। तीसबर्षअघि समान हैसियतको दक्षिण कोरिया आज अमेरिका जान भिसा नलाग्ने देशमा सम्मिलित हुँदा हामी महिनौँ लगाएर महाराजगंज धाउने अवस्था त्यत्तिकै आएको होइन। हाम्रा नेतृत्व र हाम्रै कर्मले हो।

यसरी अमेरिकी भिसा लगाएर म पनि निकैपटक अमेरिका गएँ। प्रवेश गर्ने अध्यागमनको कर्मचारीले चश्मा खोलाउँछन्, औँलाका छाप लिन्छन् र सोध्छन्, ‘किन आयौ?’। हरेकपटक उही जवाफ, ‘घुम्न’। उनी मेरो हरीयो पासपोर्ट हेर्छन् र अविश्वासिलोपारामा छाप हान्छन्। अनि फर्केर जब जोन अफ केनेडी विमानस्थलको अध्यागमनमा पुग्छु, त्यहाँको कर्मचारीले लामो निश्वास लिएको झैँ लाग्छ, ‘यो संभाव्य गैरकानूनी आप्रवासी देश फर्कियो’। अनि म चाहिँ लामो खुइय काढ्दै हुन्छु, ‘यो विरानो देशबाट बल्ल बिदा हुँदैछु’। त्यतिले नपुगेर सुरक्षा-जाँचका नाममा गजबको प्रताडना पाइन्छ। जुत्ता, पेटी, वालेटदेखि मोबाइलसम्म एक्सरेमा हालेर पेन्ट समात्दै जिउ जचाउन जानुपर्छ। र यस्तो जाँच केही धर्म र देशका मानिसलाई अलिक राम्ररी गरिन्छ, भोग्नेलाई थाहै छ। अनि, हामी यसरी राम्रो जाँच गरिने देशमा गनिन्छौँ र त हाम्रा भूतपूर्व महामहिम राम्ररी जचाउँन जानुभएको छ।

अँ, तपाईँ लण्डनको हिथ्रो पुग्नु भएको छ? त्यहाँ त त्यसरी ‘राम्ररी’ जाँचेर पनि नपुग्ने रहेछ। सबै पार गरेर प्लेन चढ्ने गेटनिर पुग्दा बोर्डिङ पास जाँच्न केही सुरक्षाकर्मी हुन्छन्। उनीहरूले तपाईँको पास हेर्छन् र दायाँ वा बायाँतिर लाग्ने छुट्याउँछन्। म दुवैपटक दायाँ लाग्नेमा परेँ। ‘यो के हो?’ सोधेको थिएँ। ‘र्‍याण्डम चेकिङ’ रे। मसंगै नेपालीमा गफिइने अमेरिकी पासपोर्टधारी गैर-आवासीय नेपाली बाँया लाग्दा उस्तै रंगरुपको मजस्ता नेपाली हरीयो पासपोर्टधारीलगायत मुसलमानहरू दुवैपटक त्यो र्‍याण्डम चेकिङमा दायाँतिर परेको देखियो। हो, नेपालमाजस्तै समावेशिताको ढोँग त्यता पनि हुँदोरहेछ, इक्का-दुक्का गोरालाई पनि दायाँ पारेर। अनि फेरि जुत्ता खोल्, पेटी खोल्, मुख आँ गर्, हात, कपाल र मोजाबाट उनीहरूलाई कागत दलेर केही ‘स्याम्पल’ लिन दे, त्यो कागत कुनै मेसिनमा हालेर जाँचेको हेर्। बस्, प्रार्थना गरेर बस् कि त्यो मेसिन अनाहकमा नकराओस् र कतै थुनिनु नपरोस्। हैट! यस्तो पनि पीडादायक विदेश यात्रा हुन्छ? हुन्छ। हामी हरीयो पासपोर्टवालाको यात्रा यस्तै हुन्छ।

अघिल्लो बर्ष एउटा अमेरिकी संस्थाबाट घानामा गएर त्यहाँका बिरामीको मुटुको अपरेसन गरिदिने स्वयंसेवी प्रस्ताव आयो। जाने-आउने टिकट आफ्नै खर्चमा भए पनि त्यहाँको मुटुरोगीको अवस्था जानेर यसो अफ्रिका पनि हेरिने, अलिअलि धर्म पनि हुने सोचेँ र हुन्छ भनेँ। थाहा थिएन, त्यो घानाजस्तो देशले समेत हाम्रो पासपोर्टलाई त्यति हेप्छ भनेर। पुलिस रिपोर्ट बनाउन रत्नपार्कमा एकदिनभरि लाइन लागेँ, अर्को दिन त्रिपुरेश्वरको कन्सुलर अफिसमा छाप लगाउन घाम तापेँ। दुईजनाको रिकमेन्डेसन, होटलको बुकिङ, बैँक स्टेटमेन्ट, अस्पतालबाट जागिरको पत्र, के के हो के के मिलाएँ। दिल्ली जान त मन मरिसकेको थियो, धन्न नेपालको ट्राभल एजेन्सीले त्यहाँको काम केही पैसा लिएर गरिदिँदो रहेछ। यति हण्डर गरेर म दुबई हुँदै आक्रा पुगेँ। अध्यागमनले फेरि चश्मा खोलायो, औँलाको छाप लियो र एउटा कागत दिएर सबै गएको ग्रिन लाइनतिर नगएर अर्कैतिर जान भन्यो। त्यहाँ फेरि मेरो पासपोर्ट लिएर एउटाले सोधे, ‘यो नेपाल कहाँ छ?’
खराब पासपोर्टको लिस्टमा भए पनि तिनलाई थाहा रहेनछ, हाम्रो देश कहाँ छ भनेर। म पनि बाठो भइ टोपलेँ, चीनको नजिक छ भनेर। उनले झोलाको फेरि एक्सरे गरे, नपुगेर खोल्न लगाए र भित्र अपरेशन गर्दा लगाउने चश्मा बारे सोधखोज गरे। म डाक्टर भन्ने सुनेपछि जान दिए। मैले पनि त्यही मौकामा सोधिहालेँ, ‘किन मलाईमात्र यसरी जाँच गरेको?’
‘तिम्रो पासपोर्टका कारणले’। अनि रमाइलो कुरा बताए, ‘तिमी भारतीयजस्तै देखिन्छौ, तर धन्न तिम्रो देश पाकिस्तान, भारत र बंग्लादेशनजिक रहेनछ। नत्र त हामीलाई त्यताबाट आएका मानिसमा ड्रग्स स्मग्लिङको शंका हुन्छ नि त’।
हे, प्रभु! अब त हाम्रो हरीयो पासपोर्टको इज्जतको धज्जी उडाउन हाम्रै देशले समेत नपुग्ने भइसकेछ।
स्वास्थ्य क्षेत्रमा त हामीभन्दा निकै तन्नम देशका बिरामीको अपरेशन गरियो, ‘गोरो’ भएकोमा अतिरिक्त इज्जत पनि पाइयो र फेरि आउने वाचाका साथ फर्कियो पनि।
तर, अहँ! म जानेवाला छुइन।

हुँदाहुँदा केहीअघि दिल्ली गएँ। मेरो पासपोर्टमा कुनैबेला गएको पाकिस्तानको भिसा देख्नेबित्तिकै दिल्लीका अध्यागमनका अधिकृतले मेरो पासपोर्टलाई यसरी कोट्याए कि त्यहाँ कुनै आतङ्ककारी नेपाली पासपोर्ट बोकेर दिल्ली छिर्दैछ र देशलाई बचाउने जिम्मा अब उनको एक्लो काँधमा छ। हुँदाहुँदा उनले मेरो पासपोर्टको मेसिन रिडेबल पन्ना नघोटेर अमेरिकी भिसाको पन्ना घोट्नसम्म भ्याए।

नेताजी, बुझ्नुभयो, यस्तो छ हामी हरीयो पासपोर्टवाहक आम नेपालीको कथा।

यिनै परिप्रेक्षमा कुनै दिन टिभी-अन्तर्वार्तामा उपेन्द्र महतो बोल्दैगरेको सम्झन्छु। उनका चाहना ठूला थिएनन्, ‘नेपाली हरीयो पासपोर्ट लिएर ‘इज्जत’साथ दुनियाँ घुम्ने’। बस्। त्यो अन्तर्वार्ता हेरेको पनि दशक बितिसक्यो होला। तर, अहँ! न नेतृत्वलाई यो चाहनाभित्रको अलंकार बुझेर इज्जत कमाउने परिश्रम गर्ने मन भयो न त हामीलाई नेतृत्व फेर्ने जाँगरै चल्यो। हामी बेलाबेलामा ढुङ्गा हानेर वा टायर बालेर हाम्रो आन्दोलनकारी छवि कायम राख्दैछौँ र विभिन्न कलेवरमा तिनै नेताहरूलाई आफ्नो र पासपोर्टको आबारू सुम्पिँदैछौँ।

अन्त्यमा, जबसम्म हामी हरिकंगाल देशबाट उभोँ लाग्दैनौँ तबसम्म जति नै पासपोर्टमा सगरमाथा, लुम्बिनी वा बाघका तस्विरहरू थपे पनि हाम्रो हरीयो पासपोर्टमा इज्जत थपिँदैन। बरु यस्ता पीडादायक अनुभूतिहरू थपिइरहन्छन्। विडम्बना: पदासिनहरू जीवनपर्यन्त रातो सोच्दछन् र हामीलाई पीतपीडा दिइरहन्छन्।

(डा. रामेश कोइरालाको बल्गबाट साभार)