८ बैशाख २०८१, शनिबार
Follow Us

सरकारविरुद्ध कांग्रेस आक्रामक

नेपालब्रिटेन डट कम्
२८ असार २०७६, शनिबार ०३:१६

काठमाडौं -असार ५ गते नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाही इञ्चार्ज कुमार पौडेलको प्रहरी ‘इन्काउण्टर’ मा मृत्यु भयो। सदनमा प्रमुख प्रतिपक्षी कांग्रेस मात्र नभइ सत्तारुढ दलकै सांसदले घटना ‘इन्काउण्टर’ नभइ नियन्त्रणमा लिएर ‘हत्या’ गरेको दाबी गरे। सांसदहरूले गृहमन्त्रीको जवाफ मागे। घटना भएको तीन सातापछि असार २४ गते प्रतिनिधिसभामा गृहमन्त्री रामबहादुर थापाले जवाफ दिए। उनले घटनाको बचाउ गर्दै इन्काउण्टर नै भएको जवाफ दिए। गृहमन्त्रीले सदनलाई ढाँटेको भन्दै संसदीय छानबिन समितिको माग गर्दै प्रतिपक्षी कांग्रेसले वेल घेराउ ग¥यो। कांग्रेसलाई साथ दिँदै अर्काे प्रतिपक्षी दल राजपा पनि विरोधमा मिसियो।

कुमारको मृत्यु प्रकरण र सर्लाहीमै १३ वर्षीय बालकको मृत्युपछि भएको प्रदर्शनमा गोली लागेर मृत्यु भएका नारायणसिंह महतोका विषयमा पनि कांग्रेस–राजपा एक ठाउँमा उभिएका छन्। दुवै घटना छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने उनीहरूको माग छ। ‘संसदीय समिति गठन नगरेसम्म सदन चल्न दिँदैनौं’, प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले भने, ‘राज्य व्यवस्था वा अन्य समितिले नभइ सदनबाटै छानबिन समिति बन्नुपर्छ।’

विगतमा सदनमा प्रभावकारी भूमिका नखेलेको भन्दै आलोचना खेप्दै आएको कांग्रेस यति बेला सरकारविरुद्ध आक्रामक देखिन थालेको छ। सदनमा प्रतिपक्षी कमजोर बन्दा सरकारमा दम्भ बढेको भन्दै कांग्रेसले आलोचना खेप्दै आएको छ। ‘सुरुमा हामीले रचनात्मक प्रतिपक्षीको भूमिका खेल्यौं। सुविधाजनक बहुमत पाएको सरकारलाई कांग्रेसले काम गर्न दिएन भन्ने आरोप लाग्ला भनेर केही समय चुप लागेकै हौं’, शुक्रबार केही सञ्चारकर्मीसँगको अन्तक्र्रियामा प्रमुख सचेतक खाँणले भने, ‘अब हामी आक्रामक रूपमा प्रस्तुत हुन्छौं। हामीले विरोधको शैली परिवर्तन गरिसकेका छौं।’ अन्नपूर्ण पोस्टमाखबर छ ।