१२ बैशाख २०८१, बुधबार
Follow Us

मुख्यसचिवसँग प्रधानमन्त्री रुष्ट

sarusaru
२८ असार २०७६, शनिबार ०४:४१

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीको क्रियाकलापप्रति असन्तुष्टि प्रकट गरेका छन्। पछिल्लो समयमा सचिवहरूका कारण सरकार विवादमा परेपछि प्रधानमन्त्री ओली मुख्यसचिवसँग रुष्ट भएका हुन्। तरकारीको विषादीमा भारतीय दूतावासको पत्रमा आफूलाई गुमराहमा पारेको भन्दै सार्वजनिक रूपमा माफी मागेका प्रधानमन्त्री ओलीले सचिवलगायत प्रशासनिक काममा कडाइ गर्न मुख्यसचिवलाई निर्देशन दिएका छन्।

‘प्रशासकले समन्वय, निर्देशन र कार्यान्वयन गराउने कुरामा गम्भीरतापूर्वक ध्यान पुर्‍याउनुपर्छ’, उनले मुख्यसचिवप्रति इंगित गर्दै भने। पछिल्लो समयमा मन्त्री र सचिवबीच परस्पर बाझिने कुरा बाहिर आएकोमा प्रधानमन्त्री ओलीले चासो राखेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा सिंहदरबारमा भएको आव ०७५/७६ को वार्षिक समीक्षामा प्रधानमन्त्रीले मन्त्री र सचिवलाई समन्वय गरेर काम गर्न निर्देशन दिए।

सरकारका सदस्य वा उच्च पदाधिकारीको परस्परमा बाझिएका धारणा सार्वजनिक हुन नहुने बताउँदै प्रधानमन्त्रीले रिर्पोटलाई पुष्टि नगरी विश्वास गर्न नहुने धारणा व्यक्त गरे। ‘रिर्पोट सुनेर वास्तविकता के हो ? पत्ता लगाउनोस’, उनले भने, ‘कर्मचारीले कतिसम्म जिम्मेवारीपूर्वक काम गरेका छन् हेर्नुहोस्।’

उनले ६० प्रतिशत काम गरेर सय प्रतिशतको मूल्यांकन हुने परिपाटीको अन्त्य गर्न सुझाए। उनले थपे, ‘अब विगतका कमजोरीबाट पाठ सिक्दै समयसारिणी बनाएर काम अघि बढ्नुपर्छ, आउने वर्ष कुनै तर र यदिलाई सहन गर्न सकिदैन।’ प्रधानमन्त्री ओलीले विकास निर्माणको कामको अनुगमन प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए। उनले राष्ट्रिय गौरवका आयोजनामा भएको सुस्तताप्रति असन्तुष्टि जनाए।

उनले राष्ट्रिय गौरवका आयोजनामा साउन १ गतेदेखि प्रभावकारी रूपमा काम अगाडि बढेको देख्न पाइने विश्वास व्यक्त गरे। उनले विनियोजन विधेयक पारित भइसकेको अवस्थामा अन्तिम समयमा आएर काम गर्न थालिएकोप्रति आक्रोश प्रकट गरे। ‘अवस्थामा खासै अन्तर देखिएन। यसतर्फ सबैले गम्भीर हुनुपर्छ’ उनले भने, ‘बाटो किन बनेन ? भन्दा अर्को निकायले पोल सारिदिएन भन्ने परिपाटी अन्त्य हुनुपर्छ। अब काममा ढिलासुस्ती हुनुहुँदैन।’

सरकारका सबै सदस्य, उच्च प्रशासकलगायतले जिम्मेवारीबोध गर्नुपर्ने कुरामा जोड दिँदै ओलीले नयाँ कामका लागि अगाडि बढाइएका प्रयासलाई तुहाउने गरी कोही पनि गैरजिम्मेवार बन्न नहुने उल्लेख गरे।

प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा कसैलाई नछाडिने बताए। भ्रष्टाचार र अनुचित कार्यप्रति कडाइ गरिएको बताउँदै उनले भने, ‘मातहतका कर्मचारीलाई भनिदिनोस्, हरेकको अनुगमन भइरहेको छ। कुनै पनि बेला कोही पनि गिरफ्तारीमा पर्नसक्छ। सबैमाथि विश्वास गरिन्छ, तर हरेकमाथि निगरानी पनि गरिन्छ।’ उनले अख्तियारको पदाधिकारीलाई पनि नछाडेकोले अरू पनि नउम्किने दाबी गरे।

ओलीले भने, ‘आधा काम गरेर योजना अलपत्र पार्नेलाई कारबाही गर्नेपर्छ।’ उनले राजधानीको विकास र निर्माण तथा सौन्दर्यमा सम्बन्धित सबै मन्त्रालयलाई विशेष ध्यान पुर्‍याउन निर्देशन दिए। आगामी वर्ष सबै मन्त्रालय तथा निकायबीच समन्वयात्मक र सक्रियताका साथ काम हुने विश्वास व्यक्त गर्दै उनले नेपालको पर्यटनजस्तो आर्थिक विकासको मेरुदण्डकाविरुद्ध हुने सबै षडयन्त्रलाई परास्त गर्नुपर्ने उल्लेख गरे। ‘जलमार्ग कहाँ अड्कियो ? ’ उनले प्रश्न गरे।

प्रधानमन्त्रीको निर्देशमा प्रेस सल्लहाकार कुन्दन अर्यालले मन्त्रीबीच बाझिने कुरा आउन नहुने र गलत ब्रिफिङ भएको विषयमा सचेत रहन निर्देशन आएको अन्नपूर्णलाई बताए। ‘उहाँबाट यस्ता विषयमा सचेत हुन निर्देशन भयो। अनि जलमार्ग, मेलम्ची, सिक्टा जस्ता आयोजनामा किन ढिलाई भएको भनेर गम्भीर सरोकार व्यक्त भएको थियो’, अर्यालले भने।
अन्नपूर्ण पोष्ट