७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाल सरकारको अकर्मण्यताका कारण रौतहट डुबानमा, भारतलाई सरापेर हुँदैन्

नेपालब्रिटेन डट कम्
२८ असार २०७६, शनिबार ११:१२

काठमाडौं। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक एवम् प्रतिनिधिसभा सदस्य अनिल झाले नेपाल सरकारको अकर्मण्यताका कारण रौतहट डुबानमा परेको आरोप लगाएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै अध्यक्ष मण्डलका संयोजक झाले भने,‘हामीले गर्नुपर्ने काम चाहीँ हामी गर्दैनौं, अनि अरुले बाँध बाँध्यो भनेर हुँदैन । अर्काको बाँध किन हेर्नुपर्यो, मैले धेरैपटक संसदमा नै बाँध बाँध्नको लागि अनुरोध गरेको छु । भारतले आफ्नो नागरिकको सुरक्षा गर्न बाँध बनाएको हो । हामीले पनि हाम्रो बाँध बाँध्नुपर्छ । भारतलाई सरापेर हुँदैन् ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले लगातारको वर्षाका कारण बाढी, पहिरो पीडित बनेकालाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरे । उनले भने,‘पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउनुपर्छ । बेपत्ता भएकाहरुको शिघ्र खोजी कार्य सुरु गर्नुपर्छ । र, घाईतेहरुलाई पनि उपचार गराउनुपर्छ ।’ झाले अहिलेपनि ठूलो संख्यामा बाढि तथा पहिरोमा फसिरहेको सुनाउँदै उनीहरुको तत्काल उद्धार गर्नुपर्ने भनाई राखे ।
सरकारको विपद व्यवस्थापन समितिको बैठक बसिरहेको भन्ने सुन्नमा आएपनि अहिलेसम्म राहतको घोषणा नभएकोले तत्काल बैठकका निर्णयहरु सार्वजजिनक गर्नपनि उनले सरकारलाई आग्रह गरे । उनले सिंगो रौतहट डुवानमा परेको सुनाउँदै बाढि पीडितलाई सरकारले उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरे । उनले थपे,‘ईतिहासमा यो भन्दा ठूलो बाढी कहिल्यै आएको थिएन् । यो वर्ष ठूलो बाढी आयो । ठूलो क्षति भएको छ ।’
बाढि, पहिरो पीडितहरुलाई उद्धारा तथा राहतको लागि राजनीतिक दलहरुले आफ्ना नेता तथा कार्यकर्ताहरु परिचालित गरिरहेको सुनाउँदै राजपा नेपालले पनि ठूलो संख्यामा कार्यकर्ताहरु परिचालित गरिरहेको झापको भनाई छ । उनले पार्टीले आफ्नो हैसियतअनुसार पीडितहरुलाई सहयोग गर्ने घोषणा पनि गरे । उनले आफू हिजोदेखि नै निरन्तर सम्बन्धित निकाय र यसका प्रमुखहरुसँग सम्पर्कमा रहेको पनि सुनाए । उनले भने,‘म काठमाडौंमा छु, म यहीँ बसेरपनि मैले गर्नुपर्ने आफ्नो दायित्व पूरा गरेको छु । सरकारसँग निरन्तर सम्पर्कमा छु । भारतीय राजदुतसँगपनि कुरा गरिरहेको छु । प्रधानमन्त्रीजीसँग कुरा हुन पाएको छैन । तर, आजमात्रै पनि गृहमन्त्रीलाई फोन गरेर विशेष ध्यानाकार्षण गराएको छु ।’
फरक प्रसँगमा झाले आफूहरुले सदनमा उठाएका एजेण्डाहरुको सम्बोधन नभएसम्म सदन अवरुद्ध राख्ने जनाए । त्यस्तै, उनले ईस्युका आधारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सदन र सडकमा सहकार्य जारी राख्ने स्पष्ट पारे ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता, पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सरकारले बाढी, पहिरो पीडितलाई आजै राहतको प्याकेज घोषणा गर्ने स्पष्ट पारेका छन् । उनले भने,‘अहिले केन्द्रिय राहत व्यवस्थापन समितिको बैठक जारी छ । सरकारले पीडितहरुलाई विशेष राहतको घोषणा गर्छ ।’
सरकारले उद्धार तथा राहतको लागि हेलिकप्टर पनि तैनाथ (स्ट्याण्डवाई) राखेको जनाउँदै बस्नेतले भने,‘सरकारले त्रिपाल, खाद्य सामाग्री, पानीको उचित व्यवस्थालगायत सबै तयारी अवस्थामा राखेको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी लगायत सबै तयारी अवस्थामा छन् ।’ उनले आवश्यक सबै सुरक्षा निकायलाई परिचालन गर्ने जनाए ।
उनले भक्तपुरमा यो वर्ष हनुमन्ते खोलाको बाढीले विगतजस्तो ठूलो क्षति नपुर्याएको दाबी गरे । उनले आफूहरुले बाढी व्यवस्थापनको लागि योजना बनाएर काम गरेकोले यो वर्ष त्यस्तो ठूलो क्षति नभएको स्पष्ट पारे ।
उनले भने,‘अघिल्लो वर्ष ११३ मिलिलिटर पानी पर्दा पनि क्षति भएको थियो, तर यो वर्ष १३२ मिलिलिटर पानी पर्दापनि ठूलो क्षति भएको छैन् । भक्तपुरमा अहिले खास क्षति र डुवान छैन् ।’
सरकारले खोला तथा नदिको छेउमा तटबन्ध निर्माण गरेको र पानीको बहाव नियन्त्रण गर्ने काम पनि गरेको सुनाए । बाढि तथा पहिरोका कारण अवरुद्ध रहेका सबै सडक तथा राजमार्गहरु सुचारु गर्ने काम पनि तिव्र गतिमा भैरहेको उनले सुनाए ।
अहिले सबै नेपालीहरुले बाढि, पहिरोमा परेका पीडितहरुलाई उद्धार तथा राहत गर्नुपर्ने बेला भएकोले सोही अनुसार सबै दलले आफ्ना नेता तथा कार्यकर्ता परिचालन गर्नुपर्ने बस्नेतको भनाई छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले बाढि, पहिरो पीडितलाई आफ्नो दलका सांसदहरुले एक महिनाको तलब सहयोग गर्ने स्पष्ट पारेका छन् ।
उनले भने,‘हाम्रो पार्टीको केन्द्रिय कार्यसमिति बैठक जारी छ । हामी हात फुकाएर सहयोग गर्छौं । राहत तथा उद्धारको लागि हाम्रो पार्टीको पूरै नेटवर्क परिचालन गर्छौं ।’ पौडेलले अहिले सार्वजनिक भएको जनधनको क्षतिको विवरण बाहिर आएजतिमात्रै नभएर त्यो भन्दा अझै धेरै संख्या रहेको सुनाए । उनले भने,‘अहिले जनधनको क्षतिको पूर्ण विवरण आएको छैन् ।’
सरकारले बाढि तथा पहिरो प्रभावितलाई तत्काल राहतको कार्यक्रम ल्याएर सम्बोधन गर्नुपर्नेमा त्यसमा ढिलाई भैरहेको उनको गुनासो छ । उनले भने,‘पीडितको राहतको लागि सरकारले ठोस ढंगबाट राहतका कार्यक्रम ल्याउनुपर्छ । ढिला भैसक्यो । २० दिनपछि राहत दिएर हुँदैन् ।’
पीडितहरुको उद्धार तथा राहतमा सबैले स्वयमसेवी ढंगबाट परिचालित हुन आवश्यक रहेको पनि पौडेलको भनाई छ । उनले भने,‘हामीले नेता तथा कार्यकर्ताहरुलाई आह्वान गरिसकेका छौं । हामीले आफ्नो संगठनात्मक क्षमता अनुसार परिचालन गरिरहेका छौं । कसरी जाने भन्ने विषयमा पार्टीभित्र अहिले पनि छलफल जारी छ ।’
उनले असार, साउनमा त सधैं बाढि, पहिरोको जोखिम र खतरा रहेको जान्दाजान्दैपनि सरकार यसप्रति गम्भिर नभएको आरोप लगाए । उनले थपे,‘असार र साउनमा बाढि र पहिरो आउँछ भन्ने कुरा त सरकारलाई थाहा छ नि, तर पनि यसको व्यवस्थापनमा हामी किन लाग्दैनौं । दिर्घकालिन रुपमा यसको समाधान खोज्नुपर्छ । यसको लागि जोखिमपूर्ण वस्ती राम्रो ठाउँमा सार्नुपर्छ । जनताको पक्षमा जोसुकै सँगपनि कुरा गर्न आँट हुनुपर्छ ।’ उनले नेपालबाट गर्नुपर्ने कामहरु तत्काल गर्नुपर्नेमा सरकारले त्यो पनि नगरेको गुनासो पोखे ।
यसअघिका सरकारले त बाढि, पहिरो व्यवस्थापनमा ठोस कदम चाल्न नसकेपनि अहिलेको दुई तिहाई बहुमतको सरकारले पनि दिर्घकालिन योजना बनाएर व्यवस्थापन गर्न नसकेको उनको गुनासो छ । उनले भने,‘पूर्वाधारमा के के गर्नुपर्छ, तटबन्ध निर्माण गर्नुपर्ने हो कि, वा अन्य आवश्यक के के गर्नुपर्ने हो, त्यो सबै गर्नुपर्छ । यसमा ढिलाई गर्नुहुँदैन् ।’
फरक प्रसँगमा उनले वर्तमान सरकारले अत्यधिक धेरै गलत काम गरेको आरोप लगाए । उनले भने,‘यो सरकार अहिले नांगिएर प्रस्तुत भएको छ । प्रधानमन्त्रीलाई महत्वपूर्ण कुरै थाहा हुँदैन, अनि सार्वजनिक रुपमा माफी माग्नुहुन्छ । खुलेआम भ्रष्टाचार भएको छ । कतिसम्म भने भ्रष्टाचारीलाई यही सरकारले संरक्षण गरेको छ ।’
सरकारका गलत कामकारबाहीबारे कांग्रेसले राजपा नेपालसँग सहकार्य गर्ने पनि उनले विश्वास दिलाए । उनले भने,‘हामीले सरकारका गलत कामहरुको खवरदारी गरिरहेका छौं ।’ आफूहरुले उठाएका मुद्दा सम्बोधन नभएसम्म संसद अवरुद्ध भैरहने उनको चेतावनी थियो ।
कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले अविरल वर्षाले ठूलो जनधनको क्षति भएको र अझैपनि उद्धार तथा राहतमा जुट्नुपर्ने बेला भएकोले सबै नेपालीहरुले यो कार्यमा सहकार्य गर्नुपर्ने आग्रह गरे । उनले राजनीतिक दलहरुले पनि आफ्ना नेता तथा कार्यकर्ता विलम्ब नगरी परिचालन गर्नुपर्ने बताए ।