८ बैशाख २०८१, शनिबार
Follow Us

७ प्रतिबद्धता सहित सुशिला राईले गरिन् एनआरएन यूकेको अध्यक्षमा उम्मेदवारी दिने घोषणा

नेपालब्रिटेन डट कम्
२९ असार २०७६, आईतवार २०:११

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेकी उपाध्यक्ष सुशिला राईले आगामी कार्यकालको लागि अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेकी छन् । संघको सेप्टेम्वरमा हुने निर्वाचनमा अध्यक्ष पदमा औपाचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने राई चौथो उम्मेदवार हुन् । यसअघि संघका उपाध्यक्षहरु पुनम गुरुगं, शेर सुनार र प्रेम गाहामगरले उम्मेदवारी घोषणा गरेका थिए ।

आइतबार अल्डरसटमा आयोजित आफ्नो चुनावी घोषणासभामार्फत उनले उम्मेदवारी औपचारिक घोषणासहित ७ बुंदे प्रतिबद्धता सार्वजनिक गरेकी छन् ।

एनआरएन यूकेलाई एकताबद्ध, सशक्त र मजबुद बनाउन र यूकेमा रहेका प्रवासी नेपालीको सुखदुखमा दरिलो साथी बनाउनका लागि आफु संस्थाको नेतृत्वमा आउन चाहेको राईले बताएकी छन् ।

वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेकी राईले संस्थाको भैपरी तथा राहत वितरण विभागको संयोजकको जिम्मेवारी पनि सम्हालेकी छन् । त्यसभन्दा अघिल्लो कार्यसमितिकी महिला संयोजक उनकै नेतृत्वमा केहि च्यारिटी कार्यक्रम समेत सम्पन्न भएका थिए । सन् २००७ मा बेलायत आएदेखि नै एनआरएन अभियानमा जोडिएकी उनी त्यसअघि नेपालमा रहंदादेखि नै विभिन्न संघसंस्था र सामाजिक कार्यहरुमा संलग्न रहंदै थिइन् ।

बोलेर भन्दा काम गरेर देखाउने सामाजिक अभियन्ताका रुपमा उनीहरुले राईको प्रशंसा गरेका थिए । एनआरएन अभियानमा पनि लामो समयदेखिकोे आबद्धता र अनुभवको आधारमा उनी भावी नेतृत्वका लागि लायक रहेको धारणा वक्ताहरुले राखेका थिए ।

राईको चुनावी प्रतिबद्धतापत्र विजयविक्रम लिंगदेनले पढेर सुनाएका थिए ।

घोषणासभामा काउन्सिलर प्रवेश केसी, प्रवासी नेपाली मञ्च यूके अध्यक्ष राजेन्द्र पुडासैनी, प्रगतिशिल मञ्च अध्यक्ष सुरेश गौतम, तमु धिं यूके अध्यक्ष नन्दजंग गुरुंग, ग्रेटर रश्मोर नेपाली कम्युनिटी अध्यक्ष जीव बेल्वासे, नेपाल आदिवासी जनजाती महासंघ यूके अध्यक्ष जंग सुनुवार र उपाध्यक्ष लिला सेलिंग माबो, नेपाली जनसम्पर्क समिति यूके उपाध्यक्ष कोपिला सुब्बा, मगर संघ यूके उपाध्यक्ष राम गलामी, किरांत राई यायोख्खा यूके अध्यक्ष कल्पना राई, गेसो उपाध्यक्ष मानबहादुर गुरुंग, संखुवासभा जिल्ला समाज यूकेका वरिष्ठ उपाध्यक्ष नैनसिं गुरुंग, तेह्थुम जिल्ला समाज यूके पूर्व अध्यक्ष सुर्य खापुंग, किरांथ याक्थुम चुम्लुंगकी कमला लिम्बू, एनआरएन यूके सचिव उम्मेदवार भोलाविक्रम राई, किरात याक्थुम चुम्लुंग सल्लाहकार नरकुमारी लिम्बू, लगायत बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिले राईलाई शुभकामना दिएका थिए ।

डा. सुमाया राईको अध्यक्षतामा गरिएको घोषणासभामा विमला लिम्बूले स्वागत मन्तव्य राखेकी थिइन् भने लक्ष्मी राईले उम्मेदवार सुशिला राईका व्यक्तिगत तथा सामाजिक जीवनसम्बन्धी विभिन्न जानकारीहरु प्रस्तुत गरिन् । कार्यक्रमको सञ्चालन खुशी लिम्बूले गरेका थिए ।


सुशिला राईका ७ प्रतिबद्धता

१. गैरआवासीय नेपालीको नेपाली नागरिकताको निरन्तरताको विषयलाई कडा रुपमा उठाउने छु । एनआरएन अन्र्तराष्ट्रिय समितिमार्फत नेपालका राजनीतिक दलहरुमार्फत लविङ गर्ने कार्यलाई सशक्त बनाइ नेपाल सरकारलाई दबाब दिई प्रवासी नेपालीको अधिकार स्थापित गराउन लागि पर्नेछु ।
२. गोरखा भूतपूर्व सैनिकहरुको समान पेन्सन लगायतको मुद्दालाई समाधान गराउन गोरखा भूतपूर्व सैनिक संस्थाहरुसित समन्वय गरी प्रभावकारी रुपमा उनीहरुको समस्यालाई उठाई नेपाल तथा बेलायत सरकारलाई दबाब दिई माग पूरा गराउन पहल गर्नेछु ।
३. बेलायतमा हुर्किरहेका हाम्रा छोराछोरीहरुलाई नेपालसितको निरन्तर सम्पर्कमा राख्न तथा नेपाली कलासँस्कृति, भाषा, पहिरनप्रति आकर्षण जगाउन कार्यक्रम ल्याउने छु ।
४. बेलायतमा अझै पनि धेरै प्रवासी नेपाली महिलाहरु घरायसी कामबाट बाहिर निस्की सामाजिक कार्यमा आउन सकेका छैनन् । जबसम्म आधा जनसंख्याको हिस्सा ओगटेका महिलाहरुको सामाजिक कार्यमा प्रभावकारी सहभागिता हुँदैन तबसम्म यहाँको प्रवासी नेपाली समुदाय बलियो हुन सक्दैन । त्यसैले उनीहरुको नेतृत्व विकासका लागि कार्यक्रम ल्याउने छु ।
५. बेलायतका नेपालीहरुको साझा घर नेपाल हाउस बनाउने योजना लामो समयदेखि पूरा हुन सकेको छैन । मेरो कार्यकालमा सो योजनालाई उच्च प्राथमिकता दिई अगाडि बढाउनेछु ।
६. युकेमा रहके प्रवासी नेपालीहरुलाई आपतविपतमा सहयोग जुटाउनका लागि एउटा कल्याणकारी कोषको स्थापना गर्नेछु ।
७. अंग्रेजी भाषा नबुझ्ने वृद्धवृद्धा बाबाआमाहरुलाई अत्यावश्यक काममा सहयोग गर्नका लागि स्वयमसेवक परिचालन गर्नेछु । गैरआवासीय नेपाली संघ भनेको सामूहिक नेतृत्वमा चल्ने संस्था हो । त्यसैले माथिका अजेण्डाबाहेक कार्यसमितिमा छलफल गरी संरक्षक, सल्लाहकार, पदाधिकारी र सदस्यहरुबाट आएका रचनात्मक र सृजनात्मक परियोजनाहरुलाई स्थान दिई संस्थालाई बलियो र गरिमामय बनाउने मेरो पहल हुनेछ । अन्त्यमा बेलायतमा रहनुभएका सबै प्रवासी नेपाली बाबाआमा दाजुभाइ दिदीबहिनीहरुमा गैरआवासीय नेपाली संघ युकेकोयही जुलाई ३१ सम्म सदस्यता लिइदिन हुन र सेप्टेम्बर १४ मा हुने मतदानमा मलाई अमूल्य मत दिनहुन विनम्र अनुरोध गर्दछु ।

निवेदक
सुशीला राई उपाध्यक्ष एनआरएनए युके
(२०१७–२०१९) अध्यक्षको प्रत्याशी एनआरएनए युके (२०१९–२०२१)

१४ जुलाई २०१९