१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सर्वोच्चलाई अटेर गर्दा उपत्यकामा डुबान

नेपालब्रिटेन डट कम्
३० असार २०७६, सोमबार ०३:४०

काठमाडौं – भूमाफियाले हडपेको जग्गा फिर्तासम्बन्धी सर्वोच्च अदालतको आदेश र छानबिन समितिको प्रतिवेदन कार्यान्वयन नहुँदा राजधानीका नदी वरपर बर्सेनि बाढी र डुबानको सास्ती व्यहोर्नुपरेको छ।

उपत्यकास्थित बाग्मताुमती, इच्छुमती (टुकुचा), धोवीखोला, मनोहरा, गोदावरीलगायत नदी तथा खोलाको प्राकृतिक बहाव नै छेकेर भूमाफियाले जमिन अतिक्रमण गर्दा वर्षायाममा नदी तथा खोला बस्तीमा पसेर ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ। उपत्यकाका अधिकतर नदी तथा खोला अतिक्रमणकै योजनाअनुसार करिडोरमा बाटो खुलाएर नदीलाई सीमित घेरामा कैद गरिएको छ। खोलाको प्राकृतिक बहाव छेकेर भूमाफियाको सेटिङमा नदीको धार साँघुरो बनाइएको छ।

शुक्रबार र शनिबार अविरल वर्षापछि आएको बाढी र डुबानका कारण उपत्यकामा मात्रै नौजनाको मृत्यु भइसकेको छ। ललितपुरमा ६ र काठमाडौंमा तीनजनाको मृत्यु हुनुका साथै बाढी र डुबानले ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएको गृह मन्त्रालयले जनाएको छ।

त्यसको मुख्य कारण नदी अतिक्रमण रहेको सरकारी अधिकारीहरू स्वीकार्छन्।

काठमाडौंको चक्रपथभित्र मात्रै २०४७ देखि २०५२ को अवधिमा भूमाफियाले करिब एक हजार आठ सय ६० रोपनी सरकारी तथा सार्वजनिक जमिन हडपेर निजी बनाएका थिए। त्यसमध्ये आठ सय रोपनीभन्दा बढी जमिन नदी तथा खोला किनारको रहेको भूमिसुधार मन्त्रालयको अभिलेखमा उल्लेख छ।

उपत्यकास्थित तीन जिल्लामा मात्रै करिब १० हजार रोपनी सरकारी तथा सार्वजनिक जग्गा भूमाफियाले अतिक्रमण गरेको सरकारी अधिकारीहरूको दाबी छ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि भूमाफियाले राजधानीका नदीकिनार हडप्ने ‘मिसन’ चलाएका थिए।नागरिक दैनिकमा खबर छ ।