काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा जलवायु परिवर्तनको नकारात्मक असर परेको बताएका छन् । ग्रीनहाउस ग्यास उत्सर्जनमा नेपालको भूमिका नगन्य भए पनि नेपालले यसको असर खेपिरहनु परेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
वन तथा वातावरण मन्त्रालयको आयोजनामा राजधानीमा आयोजित जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीको आज उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।

“नेपालको भू बनावटका कारण संसारभरका मानिस रुचिपूर्वक प्राकृतिक सुन्दरताको अवलोकन गर्न मात्र होइन अनुसन्धान गर्न पनि यहाँ आउने गरेका छन् ” प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले विश्वस्तरमा बढ्दो तापक्रम, ग्लेसियरको तह पातलो हुँदै गएको अवस्था र अस्वाभाविक वर्षाका कारण जनजीवनमा गम्भीर र नकारात्मक असर परिरहेको बताए ।
“जलवायु परिवर्तनकै कारण वालीनाली प्रभावित भएका छन्, आवास तथा संरचनाको क्षति भइरहेको छ ” प्रधानमन्त्री ओलीले भने, “यी सबै कारणहरुले अर्थतन्त्रमा ठूलो घाटा भइरहेको छ ।”
“हाम्रा सामु जलवायु परिवर्तका असर र चुनौतिहरुको सामना गर्न जनतालाई बढी सशक्त बनाउने र त्यस्ता असरहरुलाई सम्बोधन गर्न तयार रहने बाहेका उपाय छैनन्” प्रधानमन्त्री ओलीले भने, “हाम्रो संविधानको धारा ३० ले स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको आधारभूत अधिकारलाई सुनिश्चित गरेको छ । यो धाराको पूर्ण कार्यन्वयन गर्न सरकार प्रतिवद्ध छ ।”
सरकारले हरेक वर्ष प्राकृतिक प्रकोपलाई व्यवस्थापन गर्न ठूलो परिमाणमा स्रोतको व्यवस्था गर्ने गरेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले आगामी मार्च महिनामा नेपाल सरकारको आयोजनामा सगरमाथा सम्वादको आयोजना गर्न लागिएको जानकारी दिए ।

“त्यो अन्तर्राष्ट्रिय मञ्चमा मानव जातिका समकालीन विषयवस्तुउपर गम्भीर विमर्शका लागि विश्वका नेता, वैचारिक नेता र सरोकारवालाहरुको जमघट हुनेछ ” प्रधानमन्त्री ओलीले भने, “ आउँदो पहिलो सम्वादको विषय जलवायु परिवर्तन नै हुनेछ ।”