१५ चैत्र २०८०, बिहीबार
Follow Us

धवलागिरि अञ्चल अस्पतालमा स्तनपानकक्ष स्थापना

नेपालब्रिटेन डट कम्
१ श्रावण २०७६, बुधबार ०७:३३

धवलागिरि अञ्चल अस्पताल बागलुङले स्तनपानकक्ष स्थापना गरेको छ । आमा र शिशुको स्वास्थ्यलाई मध्यनजर गर्दै अस्पताल परिसरमै स्तनपानकक्ष सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ ।

सार्वजनिकस्थलमा आफ्ना शिशुलाई स्तनपान गराउन महिलाले असजिलो महसुस गर्ने र त्यसले आमा तथा बच्चाको स्वास्थ्यमा असर गर्ने भएकाले अस्पताल परिसरमै स्तनपानकक्ष तयार गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बी पोखरेलले बताउनुभयो । “समयमै स्तनपान नगराउँदा आमा तथा शिशु दुवैलाई समस्या हुने गर्छ”, डा पोखरेलले भन्नुभयो, “यो ठूला शहरका धेरै अस्पताल र सार्वजनिकस्थलमा अभ्यास भइसकेको विषय हो, हामीले ढिलै भए पनि सञ्चालन गरेका छौँ ।”

पछिल्लो समय धवलागिरि अञ्चल अस्पताललाई सुविधासम्पन्न, विश्वासिलो र भरपर्दो अस्पतालका रूपमा विकास गर्न अस्पतालको नयाँ व्यवस्थापन समितिले धेरै सुधार प्रयास गरिरहेको छ । अस्पतालमा हालै मात्र नवनिर्मित अस्पतालको ‘बी’ ब्लक भवन सञ्चालनमा आएसँगै सेवा प्रवाहमा सहजता आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले बताउनुभयो ।

अस्पतालमा स्वास्थ्य उपचारका लागि आउने आमा तथा शिशुलाई स्तनपानकक्षले निकै सहज हुने अध्यक्ष रानामगरले जानकारी दिनुभयो । “स्तनपान गराउने कक्ष नहुँदा अस्पतालमा आउने सुत्केरी आमालाई निकै असहज भएको थियो”, मगरले भन्नुभयो, “गोप्य स्तनपानकक्ष स्थापनाले आमा तथा शिशु दुवैलाई सहज हुनेछ ।” अस्पतालको टिकट काउण्टर नजिकै स्थापना गरिएको स्तनपानकक्षमा आमाले शिशुलाई स्तनपान गराउनुका साथै आराम गर्ने व्यवस्थासमेत गरिएको छ ।

सुरक्षित मातृत्व सेवाअन्तर्गत अस्पतालले स्थानपानकक्षको स्थापना गरेको डा पोखरेलले जानकारी दिनुभयो । अस्पताललाई नयाँ व्यवस्थापनमा सञ्चालन गरी जनताको स्वास्थ्य सेवामा सुधार ल्याउन अस्पतालमा विभिन्न कक्ष स्थापना गर्ने सन्दर्भमा स्तनपानकक्ष निर्माण गरेको अस्पताल विकास समितिका सदस्य शालिकराम शर्माले जानकारी दिनुभयो । “हामी नयाँ व्यवस्थापनमा अस्पताल सञ्चालन गरिरहेका छौँ”, शर्माले भन्नुभयो । यसअघि अस्पतालका कर्मचारी तथा सेवाग्राहीले स्तनपानकक्ष नहुँदा सास्ती भोग्दै आएका थिए । स्तनपानका लागि सुरक्षित ठाउँको अभावमा बच्चा जन्माएका आमा लज्जित हुने गरेका थिए । स्तनपानकक्षमा एकै पटक १० आमा बसेर स्तनपान तथा आराम गर्न सक्नेछन् ।

विसं २०६७ मा बागलुङ जिल्ला अस्पताललाई स्तरोन्नति गरी अञ्चल अस्पातल बनाइए पनि अञ्चल अस्पतालले प्रदान गर्ने सेवासुविधा गुणस्तरीय नभएको बिरामीको गुनासो बढेसँगै व्यवस्थापन समितिको पहलमा विशेषज्ञ चिकित्सकको समेत आगमन भएको छ । सोह्र विशेषज्ञसहित २३ चिकित्सकको दरबन्दी भएको अञ्चल अस्पतालमा हाल नौ विशेषज्ञ र १७ मेडिकल अधिकृतले सेवा प्रदान गरेको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले बताउनुभयो । अञ्चल अस्पतालमा फोहर व्यवस्थापन, शुद्ध खानेपानी, पार्किङलगायतका सुविधासमेत प्रदान गर्न थालिएको छ । अञ्चल अस्पतालमा विशेषगरी स्वास्थ्य बिमा प्रभावकारी भएसँगै बिरामीको चाप ह्वात्तै बढेको छ ।