१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेकपामा जिम्मेवारी बाँडफाँट : विदेश विभागमा नेपाल, संगठनमा वामदेवको सहमति

नेपालब्रिटेन डट कम्
४ श्रावण २०७६, शनिबार ०४:०४

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय सदस्य रहेका तत्कालीन एमालेका ६ जना नेताको छुट्टै बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । बैठकमा जिम्मेवारी बाँडफाँटको विषयमा गम्भीर छलफल भएको छ ।
नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको सहमतिअनुसार तत्कालीन एमालेको भागमा परेको विभागको नेतृत्व टुंगो लगाउन बैठक बसेको नेकपा स्रोतले जनाएको छ ।
अध्यक्षद्वय ओली र प्रचण्डबीच नेकपाका ३२ वटा विभागमा भागबन्डाको सहमति यसअघि नै भइसकेको छ । ३२ विभागमध्ये १८ वटामा तत्कालीन एमाले र १४ वटामा तत्कालीन माओवादीले प्रमुखको जिम्मेवारी लिने सहमति यसअघि नै भइसकेको छ ।
नेकपा सचिवालयमा रहेका तत्कालीन एमालेका ६ नेताले बिहीबार राति आफ्नो पक्षको नेतृत्व टुंगो लगाएका छन् । अध्यक्ष एवं प्रधानमन्त्री ओली, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल सो बैठकमा सहभागी भएको स्रोतको दाबी छ । नेकपाको सचिवालय ९ सदस्यीय छ ।

बैठकले विदेश विभाग प्रमुखमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र संगठन विभाग प्रमुखमा वामदेव गौतमलाई बनाउने सहमति भएको जनाएको छ । नेपाल यसअघि पनि तत्कालीन एमालेको विदेश विभाग प्रमुख थिए । नेपाल र गौतम नेकपाभित्र रणनीतिक रूपमा शक्तिशाली नेता हुन् । ओली समूहमा रहेका गौतम पछिल्लो समय ओली समूह छोड्दै नेपाल र दाहाल समूहतिर लागेका थिए । गौतम संसदीय निर्वाचनमा पराजित भएपछि पार्टीभित्र सक्रिय भूमिकाको खोजीमा थिए । उनले अध्यक्षद्वय ओली र दाहाललाई समेत आफूलाई सक्रिय भूमिका दिन आग्रह गर्दै आएका थिए । सुरुमा संगठन विभागको प्रमुख सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापालाई बनाउनुपर्ने प्रस्ताव ओलीले गरेका थिए । तर, दाहाल र नेपालले संगठन विभागको प्रमुख गौतमलाई बनाउन प्रस्ताव गरेका थिए । संगठन विभाग एमालेको भागमा परेपछि गौतमलाई नै बनाउने सहमति ६ नेताहरूको बैठकले गरेको छ । राजधानी दैनिकमा खबर छ ।