१४ बैशाख २०८१, शुक्रबार
Follow Us

१५ लाख घुससहित तीन इन्जिनियर अख्तियारको फन्दामा

नेपालब्रिटेन डट कम्
४ श्रावण २०७६, शनिबार १४:३२

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ जना इन्जिनियरलाई १५ लाख घुससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्का एक जना चालक पनि रहेका छन् ।
अख्तियारले शनिबार कर्णाली नदी व्यवस्थापन कार्यालय बर्दियामा कार्यरत इन्जिनियर कमल सिटौला, विश्वेश्वर प्रसाद साह, हरी प्रसाद चौधरी र सवारी चालक टंक प्रसाद ओझालाई घुससहित नियन्त्रणमा लिएको हो ।

निर्माण योजना तारजाली भर्ने कामको बिल रकम भुक्तानी गरे वापत सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियारको नेपालगन्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई १५ लाख घुस लिइसकेको अवस्थामा बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर १ बाट नियन्त्रणमा लिइएको अख्तियारको नेपालगन्ज सम्पर्क कार्यालयका शाखा अधिकृत नारायणदत्त उपाध्यायले जानकारी दिए । राजधानीमा इन्जिनियरहरुको सम्मेलन चलिरहँदा बितेको दुई दिनमा मात्रै आधा दर्जनको हाराहारीमा इन्जिनियर घुससहित समातिएका छन् ।