१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन यूकेको अध्यक्षमा ललितकुमार न्यौपानेले उमेदवारी दिने

नेपालब्रिटेन डट कम्
४ श्रावण २०७६, शनिबार २१:३२

लण्डन । एनआरएन यूके अध्यक्ष पदका लागि ललितकुमार न्यौपानेले पनि उमेदवारी घोषणा गरेका छन् । शनिबार प्लमस्टिडको गेसो हलमा घोषणासभा गरेर वर्तमान कार्यसमितिका उपाध्यक्ष न्यौपानेले आउँदो कार्यकाल को अध्यक्षको लागि उम्मेदवारी घोषणा गरे ।
एनआरएन यूकेका अगुवा र साउथ ईस्ट लण्डनको नेपाली समुदायका प्रतिनिधिमाझ उनले १० बुंदे प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् । न्यौपानेले आफ्ना प्रतिबद्धतामा संस्थाको सदस्यताका लागि प्रोत्साहित गर्ने खालका कार्यक्रम गर्ने , बेलायतका ४ वटै राज्यमा एनआरएन हेल्प डेस्क राख्ने , एनआरएन सदस्यलाई विभिन्न सेवा सुविधामा छुट तथा ग्राहयताको व्यवस्था गर्ने , नेपाल हाउस प्रोजेक्ट अघि बढाउने लगायतका मुद्धा प्राथमिकतासहित उठाएका छन् ।

एनआरएन यूकेमा तीन कार्यकाल कार्यसमितिमा बसेर काम गरिसकेका उनी वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् । न्यौपानेकै संयोजकत्वमा रहेको एनआरएन यूकेको राज्य परिषद समन्वय विभागले उनकै नेतृत्वमा पहिलोपटक नर्दन आयरल्याण्ड, वेल्स र स्कटल्याण्डमा सफलतापूर्वक राज्य समन्वय परिषद गठन गरेको थियो ।

त्यसअघि एनआरएन यूकेको कार्यसमितिमा सहकोषाध्यक्ष र कार्यसमिति सदस्यका रुपमा उनले काम गरेका थिए । घोषणासभामा विभिन्न संघसंस्थाका प्रतिनिधि र एनआरएनका अगुवाहरुले न्यौपानेको उम्मेदवारीलाई शुभकामना दिए । क्षेत्रीय अवधारणामा जाने एनआरएन यूकेको धेरै अघिदेखिको अधुरो योजनालाई सफल पार्ने क्रममा कुशल नेतृत्व देखाएको भन्दै वक्ताहरुले उनलाई अध्यक्ष पदको लायक उम्मेदवारका रुपमा चित्रण गरे ।
एनआरएन आइसीसी अनररी काउन्सिल सदस्य मोहन गुरुङ , एनआरएन यूके पूर्व उपाध्यक्ष दासुराम पाण्डे , जनसम्पर्क समिति यूके उपाध्यक्ष सुरज केसी , ओएनएफ यूके पूर्व अध्यक्ष दिनेश घिमिरे , एनआरएन यूके महासचिव उम्मेद्वार फडिन्द्र भट्टराई , सचिव उम्मेद्वार जीत रानाभाट, आइसीसी सदस्य उम्मेदवार अर्कराज तिम्सिना लगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रम संचालन यति नेपाली एशोसिएसन यूकेका महासचिव डा मुकुन्द बास्तोलाले गरेका थिए।


न्यौपानेका प्रतिबद्धता:

गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष पदका उम्मेदवार ललितकुमार न्यौपानेको प्रतिबद्धतापत्र :

आदरणीय बेलायतबासी दाजुभाई तथा दिदीबहिनीहरु, गैरआवासीय नेपाली संघ बेलायतको आसन्न निर्वाचनमा अध्यक्ष पदको लागि मेरो उम्मेदवारीको सुचना यसअघि नै मैले विभिन्न माध्यमहरुबाट सार्वजनिक गरिसकेको छु । सारा गैरआवासीय नेपालीहरुको भावना, चासो र सरोकार जोडिएको यस गौरवशाली संस्थाको नेतृत्वको लागि उम्मेदवारी घोषणा गर्दैगर्दा मैले कुनै ठूला ठूला भाषण र आश्वासनहरु मात्रै यहाँहरुसमक्ष राख्ने चेष्टा गरेको छैन । बरु विगत ६ वर्षसम्म निरन्तर रुपमा गैरआवासीय नेपाली संघ बेलायतको कार्यसमितिका विभिन्न जिम्मेवारीमा रहेर काम गर्ने क्रममा हासिल गरेका विभिन्न अनुभव र सिकाइहरुको आधारमा आफ्ना केहि प्रतिबद्धताहरुलाई यहाँहरुमाझ राख्ने जमर्को गरेको छु ।

बेलायतका सबै राज्यको घरघरमा एनआरएन ,सम्बृद्ध नेपाली समाज बनाउने हाम्रो अभियान ’’ भन्ने मूल नाराको साथ मेरा प्रतिबद्धताहरु निम्नानुसार राख्न चाहन्छु ।


मेरा प्रतिबद्धताहरु:

१. गैरआवासीय नेपाली संघ बेलायतलाई बेलायतका ४ वटै राज्यमा राज्य समन्वय परिषद गठन गरी तीनलाई साधन श्रोत सम्पन्न बनाई बलियो बनाउनेछु । हरेक राज्य अन्तर्गत आवश्यकता अनुसार क्षेत्रीय र काउन्टी स्तरीय समितिहरु समेत निर्माण गरी सबै क्षेत्रमा एनआरएनएलाई घरघर पुर्याई संगठन विस्तार गरिनेछ ।जसले गर्दा स्वतस्फुर्त रुपले अधिक सदस्य बन्ने र विभिन्न समितिमा रही काम गरी एनआरएनमा आफ्नो योगदान गरी नेतृत्व विकास गर्ने अवसर धेरै लाई प्राप्त हुनेछ ।जसबाट आगामी बर्षमा सदस्यता संख्या २० हजार भन्दा बढी बनाई संसारमा सर्वाधिक सदस्य भएको एनसीसी बनाउन प्रयास गर्ने छु । यसले गर्दा चुनावको मुखेमा देखिने गरेको विकृतिको अन्त्य भइ संस्थाले सक्षम नेतृत्व पाएर बलियो हुनेछ ।

२. बेलायतबासी नेपाली का विभिन्न समस्या हल गर्न चार वटै राज्यमा हेल्प डेस्क राख्ने छु । जहाँ कानुनी ,व्यवसायिक ,शैक्षिक ,रोजगारी ,स्वास्थ्य लगायत विभिन्न विषयहरुमा विज्ञहरुको परामर्श ,राय सल्लाह सुझाव दिएर समस्त बेलायतबासी नेपालीहरुको आर्थिक ,सामाजिक अवस्थामा परिवर्तन ल्याई नेपाली समाज लाई सम्बृद्ध बनाउन प्रयास गर्नेछु ।

३. गैर आवासीय नेपाली संघले उठाई आएको नेपाली नागरिकताको निरन्तरताको मुद्धा लगायत एनआरएनमैत्री कानुनहरु निर्माणको लागि उच्च प्राथमिकताका साथ पहल गर्नेछु ।

४. गोरखा भूतपूर्व सैनिकहरुको समान पेन्सनको समस्यालाई समाधान गराउन सम्बन्धित निकायसंग समन्वय गरी उच्च प्राथमिकताका साथ प्रयास गर्नेछु ।

५. गैर आवासीय नेपाली संघको सदस्यताको कार्डबाट धेरै रेस्टुरेन्ट ,पसल, ट्राभल एजेन्सी तथा व्यवसायबाट भारी छुटको व्यवस्था गरी स्वतस्फुर्त रुपले सदस्य बनाउन प्रेरित गर्नेछु ।

६. पूर्व कार्यसमितिबाट भएका मह्त्वपूर्ण निर्णयहरु कार्यान्वयन गर्न प्राथमिकता दिनेछु । जसअन्तर्गत नेपाल हाउस अथवा एनआरएन यूकेको आफ्नो स्थाई घरको लागि तुरुन्त पहल गर्नेछु ।

७. बेलायतमा रहेका बालबालिका लाई नेपाली भाषा सिकाउने लगायत नेपाली भाषा ,कला ,संस्कृति ,खेलकुद को प्रर्बधनमा जोड दिनेछु ।साथै युवा तथा महिलाहरुलाई एनआरएनको मुलधारमा ल्याउन विविध कार्यक्रम संचालन गर्नेछु ।

८. विदेशमा सिकेको ज्ञान, सीप र पुंजी नेपालामा लगी नेपालको सबै क्षेत्रको विकासका लागि लगाउन जोड दिनेछु । नेपालमा लगानीमैत्री कानुन र वातावरण को लागि पहल गर्ने छु ।

९. संस्थालाई ठोस कार्ययोजनासहित क्यालेन्डर बनाई विधिसम्मत ढंगले संचालन गरी संस्थाको आर्थिक लगायत सम्पूर्ण काम कारबाही पारदर्शी बनाउनेछु ।

१०. संस्थाको वेबसाइटको आधुनिकीकरण गरी एक पटक सदस्य भएपछि अर्कोपटक अनलाइनबाटै नविकरण गर्ने व्यवस्थाका साथै अनलाइन भोटिंगको व्यवस्था समेत मिलाउने छु । साथै, वेबसाइटलाई लोकप्रिय बनाई उधोगी , व्यवसायीबाट विज्ञापन उठाई सस्था सञ्चालन एवम् संस्थाको कोष वृद्धि गराउने छु ।

गैरआवासीय नेपाली संघ बेलायतमा लगातार तीन कार्याकालसम्म कार्यसमितिमा रहेर काम गर्ने क्रममा जे जति देखें, बुझें र सिके , ती सबै अनुभव र सिकाईलाई सदुपयोग गर्दै अब संस्थालाई थप योगदान दिन म तत्पर छु । मेरो क्षमता र विवेकले भ्याएसम्म सबैको भावनालाई समेट्दै अघि बढ्न म प्रतिबद्ध छु । मेरो यो अभियानमा तपाईंरु सबैको साथ, सहयोग र समर्थनका लागि हार्दिक अनुरोध गर्दछु । धन्यवाद ।

ललित कुमार न्यौपाने
वर्तमान उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी

तस्विर : शिव भण्डारी