१२ बैशाख २०८१, बुधबार
Follow Us

वेलायतका खेलाडीद्धारा नेपालमा हक्कीको विश्व कीर्तिमान

नेपालब्रिटेन डट कम्
५ श्रावण २०७६, आईतवार १३:४३

लण्डन । बेलायतका हक्की खेलाडीले नेपालमा हक्की खेलको विश्व कीर्र्तिमान कायम गरेका छन् । बेलायती हक्की खेलाडी टोलीले विश्वकै सबैभन्दा बढी उचाइको भूमि अर्थात् पाँच हजार २० मिटर उचाइमा अवस्थित मुस्ताङको थोरङलामा हक्की खेलेर विश्व कीर्तिमान कायम गरेको हो ।

बेलायतबाट आएका ३४ जना व्यावसायिक हक्की खेलाडीमध्ये ३१ जनाले थोरङ्लामा हक्की खेलेका थिए । उनीहरुले यही जुलाई १६ तारिखका दिन एक घण्टा हक्की खेलेका हुन् । यो हालसम्मकै सबैभन्दा बढी उचाइमा खेलिएको हक्की खेल हो । हक्की युरोपियन मुलुकका साथै एशियाको भारतमा बढी लोकप्रिय छ । नेपालमा भने विगत चार वर्षदेखि हक्की खेल शुरु गरिएको छ ।

बेलायतबाट विश्व कीर्तिमान कायम राख्न नेपाल आएका हक्की खेलाडीलाई नेपाल भ्रमण वर्ष सचिवालयले आज यहाँ एक कार्यक्रमका बीच सम्मान गरेको छ । भ्रमण वर्ष अभियानका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले खेलाडीलाई नेपाली टोपी र भ्रमण वर्षको लोगोसहित सम्मान गर्नुभएको थियो । सो अवसरमा भ्रमण वर्ष अभियानका संयोजक वैद्यले नेपाल साहसिक, पदयात्रा, धार्मिक पर्यटनको अलावा खेलकूद पर्यटनको पनि उपयुक्त थलो हो भन्ने सन्देश दिएर विदेशी पर्यटक आकर्षण गर्ने उद्देश्यले हक्की खेलाडीलाई सम्मान गरिएको उल्लेख गर्नुभयो ।

उहाँले भ्रमण वर्ष अभियानअन्तर्गत खेलकूद पर्यटनलाई पनि विशेष प्राथमिकता दिइएको र नेपालमा निकट भविष्यमै सोलुखुम्बुको गोक्यो लेकमा हक्की प्रतियोगिता आयोजना गर्ने तयारी गरिएको जानकारी दिनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्षसमेत रहनुभएका हक्की सङ्घ नेपालका अध्यक्ष उमेशलाल श्रेष्ठले हक्की खेल प्रदर्शनले नेपाललाई विश्वमा पहिचान गराउनुका साथै साहसिक र सुरक्षित पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न सफल भएको बताउनुभयो ।

हक्की खेल आयोजना गर्ने नर्ब ट्रेक्स एण्ड एक्सिपीडिसन प्रालिका प्रबन्ध निर्देशक नरबहादुर गौतमले विश्व कीर्तिमान बनाउन आएका हक्की खेलाडीको व्यवस्थापन गरेको र यसबाट पर्यटन प्रवद्र्धनमा समेत टेवा पुगेको बताउनुभयो । राष्ट्रिय इङ्लिस हक्की टिमका सदस्य तथा प्रबन्धक एन्डी हालिडेले नेपालको उच्च क्षेत्रमा हक्की खेल्न पाउनु अविस्मरणीय क्षण बनेको उल्लेख गर्दै नेपालका उचाइमा खेलिने खेलको प्रशस्त सम्भावना रहेकाले ती क्षेत्रको उचित प्रचारप्रसार गरिनुपर्ने खाँचो औँल्याउनुभयो ।

हालै नेपालका उच्च भेग सोलुखुम्बु, जुम्ला, मनाङलगायत उच्च क्षेत्रमा बनिरहेका उच्च क्षेत्रमा खेलिने खेलकूद तालीम केन्द्रहरुले पनि सो भेगमा खेल्न मिल्ने खेल हक्की, म्याराथन, आर्चरी र हेर्न रुचाउने खेलाडी, खेलप्रेमी तथा अन्य पर्यटकलाई आकर्षित गर्दै नेपाल भ्रमणमा पर्यटकको सङ्ख्या वृद्धि गर्न टेवा पुग्ने विश्वास लिइएको छ ।

भ्रमण वर्ष २०२० ले नेपालको नयाँ र अद्वितीय उत्पादनको परिचय तथा विस्तार गराउने उद्देश्यसहितका कार्यक्रम अघि बढाएको सचिवालयले विज्ञप्तिमार्फत जनाएको छ ।