१२ बैशाख २०८१, बुधबार
Follow Us

मेची राजमार्ग आंशिकरूपमा सञ्चालन

sarusaru
६ श्रावण २०७६, सोमबार ०२:३१

पहिरो झरेपछि अवरूद्ध बनेको मेची राजमार्गको राँके-फिदिम खण्ड आजदेखि आंशिक रूपमा सञ्चालनमा आएको छ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका-३ मा पर्ने पाङ्ग्रेभिरमा पहिरो खसेर गत बुधबारदेखि अवरूद्ध बनेको मेची राजमार्ग आजदेखि आंशिक रूपमा खुलेको हो।

प्रजिअ मुरारी वस्तीका अनुसार सडकमा झरेको पहिरो पन्छाइएसँगै आंशिक रूपमा सडक खुलेको हो। यद्यपी सडकभन्दा माथि अझै ठूलो परिमाणमा पहिरो रहेकाले विशेष सतर्कताका साथ सवारी आवतजावतको व्यवस्था मिलाइएको प्रजिअ वस्तीले बताए।

पाङ्ग्रेभिरमा सडकबाट स्काभेटरले भेटेसम्म पहिरो हटाउने कार्य सकिएसँगै आज करिब पाँच दर्जन सवारीले पहिरो पार गरेका थिए।

पहिरोको वारिपारि रोकिएका पेट्रोलियम पदार्थ, खाद्यान्न तथा कृषि उपज बोकेका सवारी साधन पार गराइएको प्रजिअ वस्तीले बताए।

‘सडकमाथि ठूलो परिमाणमा पहिरो अडिएको छ। कतिबेला झर्छ भन्ने टुङ्गो हुँदैन’, प्रजिअ वस्तीले भने, ‘झरेको पहिरो पन्छाउँदै सवारी आवागमन सञ्चालन गर्ने प्रयत्न भइरहेको छ।’

पहिरो जुनसुकै बेला झर्न सक्ने भएकाले दुइटा स्काभेटर तयार अवस्थामा राखिएको छ भने आवश्यक सतर्कताका लागि उक्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

सडकलाई दिउँसोमात्रै सञ्चालन गर्ने तयारी गरिएको छ।

‘पहिरो झरिसक्न कैयौं दिन लाग्ने देखिन्छ। ठूलो वर्षा भए अझै पहिरो खस्न सक्छ’, प्रजिअ वस्तीले भने, ‘रातको समयमा सडक सञ्चालन गर्न तत्काल सम्भव छैन।’

जिल्ला विपत् व्यवस्थापन समिति पाँचथरले पाँचथर र इलाममा उपलब्ध सम्पूर्ण स्रोत र साधनको उपयोग गरेर सडक सञ्चालन गर्ने प्रयत्न गरिरहेको उनको भनाइ छ।

यस्तै, पहिरोबाट सडक लामो समय अवरूद्ध हुनसक्ने अवस्थालाई दृष्टिगत गर्दै यहाँ नौ किलोमिटर लामो वैकल्पिक सडक स्तरोन्नतिको कार्य शनिबारदेखि सुरू भएको छ।

मेची राजमार्गको गुम्बाडाँडाबाट निवु खोला हुँदै राँके बजार जोड्ने उक्त सडकको स्तरोन्नतिको कार्य अघि बढाइएको प्रजिअ वस्तीले जानकारी दिए।

उक्त सडकको ४.५ किलोमिटरमा साना सवारीका साधन निर्बाध सञ्चालन भए पनि बाँकी खण्डमा वर्षाका कारण समस्या भएकाले ढुङ्गा सोलिङ थालिएको छ। उक्त सडक सोमबारसम्ममा सञ्चालनमा आउने प्रजिअ वस्तीको भनाइ छ।

पाङ्ग्रेभिरमा बुधबार राति पहिरो झरेपछि बिहीबार, शुक्रबार र शनिबार सवारी आवागमन ठप्प भएको थियो।

यात्रुहरूले करिब ३० मिनेट पैदल यात्रा गरेर करिब एक किलोमिटर मुनिबाट पहिरो पार गर्दै आएका थिए।

पहिरोको दुवैतर्फ रहेका सवारीका साधनले यात्रुलाई गन्तव्यमा पुर्‍याइरहेका थिए। पहिराका कारण पाँचथर, ताप्लेजुङ र पूर्वी तेह्रथुममा उत्पादित कृषि उपज सवारीका साधनमै कुहिने अवस्था आएको थियो।
सेतोपाटी