१५ चैत्र २०८०, बिहीबार
Follow Us

दिनहुँ भेटिन्छन् नक्कली प्रमाणपत्रधारी

नेपालब्रिटेन डट कम्
६ श्रावण २०७६, सोमबार ०२:३१

भक्तपुर। प्रहरी थुनामा दैनिक खाना लिएर जाने झन्झटले नक्कली प्रमाणपत्रधारी कारबाहीबाट उम्कन सक्ने अवस्था उत्पन्न भएको छ । प्रवेशिकाको प्रमाणपत्रको सत्यापन
(भेरिफिकेसन) गर्न पुगेकामध्ये कतिपयको नक्कली प्रमाणपत्र भएको पत्ता लागेपछि उनीहरूलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ । त्यस क्रममा प्रहरीको जिम्मा लगाइएका उनीहरूलाई मुद्दाको किनारा नलाग्दासम्म बिहान र साँझ प्रहरी चौकीमा खाना पु¥याउनुपर्ने हुन्छ । परीक्षा नियन्त्रण कार्यालय (पनिका)का पदाधिकारीहरूले भने खाना लगिदिने कर्मचारीको अभावले त्यस्ता व्यक्तिलाई प्रहरीको जिम्मा नलगाउने तर्क गर्ने गरेका छन् ।
पनिकाका अनुसार सत्यापनका लागि अचेल दैनिक डेढ सयदेखि तीन सयवटासम्म प्रमाणपत्र पेस हुने गरेको छ । तीमध्ये दैनिक एउटा वा दुईवटा प्रमाणपत्र नक्कली हुने गरेको छ । त्यस्ता प्रमाणपत्रधारीलाई ‘तपाईंको प्रमाणपत्र नक्कली हो, पुलिसलाई बोलाइदिऊँ ?’ भनेर पनिकाका कर्मचारीले भनेपछि उनीहरू तत्काल त्यहाँबाट भाग्ने गरेका छन् । त्यस्ता प्रमाणपत्र पनिकाको झ्यालबाट बुझाउँदा कतिपयले हेल्मेट र मास्कसमेत खोलेका हुँदैनन् । प्रमाणपत्र बुझाएको आधा घण्टाभित्रै सत्यापन गर्ने गरिएको छ ।
परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले नक्कली प्रमाणपत्र भएकाहरूलाई मुद्दा चलाउँदा त्यसको किनारा नलागुन्जेलसम्म भातभान्सा गराउनुपर्ने हुन्छ भन्दै थपे, “प्रत्येक दिनजसो नक्कली प्रमाणपत्र फेला पर्छ । मुद्दाको किनारा नलाग्दासम्म त्यस्ताहरू दैनिक थपिँदै जान्छन् । उनीहरूका लागि हाम्रा कर्मचारी प्रहरी चौकीमा दैनिक भात बोकेर जान समस्या छ । त्यसैले बदमासलाई समाएर कारबाही गर्न नसकिएको अवस्था हो । ”
अचेल जागिरमा आवेदन दिन विभिन्न संस्थाले प्रवेशिकाको प्रमाणपत्र पनि सत्यापन गराउनुपर्ने नियम बनाएका छन् । त्यसबाहेक वैदेशिक रोजगारीमा जाने वा विदेशमा अध्ययनका लागि जानेका लागि पनि यो अनिवार्य गरिएको छ । गाेरखापत्र दैनिकमा खबर छ ।