१९ बैशाख २०८१, बुधबार
Follow Us

के एनआरएन युकेको नेतृत्वमा सहमति हुन्छ ?

नेपालब्रिटेन डट कम्
६ श्रावण २०७६, सोमबार १४:१३

जनमतमा भोट दिन पेजको तल जानु होला

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको निर्वाचन आगामी १४ सेप्टेम्बरमा हुँदैछ । निर्वाचनको लागि ५ जनाले आकांक्षा देखाएका छन् । नेतृत्व हातपार्न वर्तमान कार्यसमितिका उपाध्यक्षहरु शेर सुनार, पुनम गुरुङ, प्रेमगाहा मगर, सुशीला राई र ललित न्यौपाने सकृय रुपमा सदस्यता वितरणमा खटिएका छन् । ३१ जुलाईसम्म सदस्यताको लागि अन्तिम मिति तय गरिएको छ । सदस्यता वितरणको चटारोका बीच अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेकाहरुसंग सदस्यता वितरणको अपडेट र सहमतिको सम्भावनाका बारेमा नेपाल ब्रिटेन डटकमले जिज्ञासा राखेको थियो । हेरौं जस्तो तस्तैः

ललित न्यौपाने

सदस्यता–

म अहिले सदस्यता वितरणमा सकृय रुपमा लागेको छु । स्वस्फूर्त रुपमा सदस्यता लिनेहरुको संख्या निकै कम छ । सदस्य बन्नै मान्दैनन् । सुन्नमा आए अनुसार अरु उम्मेदवारहरुले सदस्यको पैसा समेत हालिदिएका छन् । सदस्यता शुल्क जम्मा १० पाउण्ड हो । मैले सदस्यता शुल्क हालेर बन्नेको मात्र सदस्यता उठाएको छु । मेरो कुनै चुनावी प्यानल छैन । आफ्नै एजेण्डा लिएर आफैँ घोषणापत्र लेखेर चुनावमा आएको छु । आफ्नै सकृयतामा ५ सय भन्दा बढी सदस्य बनाउने योजनामा छु ।

सहमतिः
सबै उम्मेदवार बीच सहमति गर्न सक्यो भने निकै राम्रो हुन्छ । चुनाव गर्दा समाजमा विभाजन ल्याउछ । हार्ने टोली बाहिर जान्छ त्यसले संस्थाभित्र मुठभेडको अवस्था ल्याउँछ । सहमतिको लागि छलफल गर्न म तयार नै छु तर मैले खास एजण्डाहरु तय गरेको छु, त्यसलाई लिएर जाने उम्मेदवार कोही आयो भने म उसैलाई सहयोग गरेर आईसीसी सदस्यमा जान्छु तर मेरो एजेण्डालाई कसैले उठाएन भने हारे पनि जिते पनि चुनावमै जाने हो ।

प्रेम गाहामगर

सदस्यताः

एनआरएन युकेको उपाध्यक्ष भएर युकेका बिभिन्न क्षेत्रमा पुगेर नेपाली समुदायसँग छलफल गर्ने अवसर पाएँ । सदस्यता वितरण गर्न जाँदा निकै उत्साहित भएको छु । सबै तिरबाट सकारात्मक जवाफ पाएको छु । सदस्यता वितरणमा अन्य उम्मेदवारको जस्तो आफैँले पैसा हालेको छैन । सदस्यहरु आफैँले सदस्यता शुल्क तिरेका छन् । नैनिटन, केन्ट, स्वीडन, आयरल्याण्ड, नटिंघम, वर्मिघन, प्लम्पस्टेड, फानब्रो, टनब्रिज, डोवर, मेडस्टन, फोक्सटन् , आशफोड क्षेत्रमा पुगेर सदस्यहरुसंग अन्तरक्रिया गरेको छु । अहिलेसम्मको सबै क्षेत्रको रेस्पोन्स हेर्दा कम्तिमा ४ हजार सदस्यता मेरो समूहले संकलन गर्ने देखिन्छ ।

सहमतिः
अध्यक्ष पदको लागि सहमतिको सम्भवना छैन । लोकतान्त्रिक प्रकृया अनुरुप निर्वाचनमा जाने हो । निर्वाचनको नतिजा मेरो लागि स्वीकार्य हुनेछ । धेरैले अर्का उम्मेदवार शेर सुनारसँग सहमति हुन्छ भनेर हल्ला फिजाएका छन् भन्ने सुनेँ । त्यो पुरै गलत कुरा हो । गलत प्रचारको पछि नलागि मेरै नेतृत्वमा गैरआवासीय नेपाली संघ युकेको मार्गदिशा तय गर्न समस्त बेलायतवासी नेपाली समुदायलाई आग्रह गर्दछु ।

पुनम गुरुङ

सदस्यताः
‘हाम्रो एनआरएन राम्रो एनआरएन’ नारा सहित म अहिले गैरआवासीय नेपाली संघ युकेको अध्यक्ष पदमा उम्मेदवारको रुपमा प्रस्तुत भएकी छु । चुनावी अभियानलाई तीब्रता दिएकी छु । धेरै तिरबाट निकै राम्रो हौसला मिलेको छ । गाउँले, जिल्ला भेला देखि समुदायका बिभिन्न भेलामा पुग्दा पहिलो त मेरो भिजन र महिला भएको कारणले होला दिदी बहिनीमा निकै राम्रो उत्साह पाएँ । बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले समेत फोनबाट भेटघाटमा मलाई आर्शिवाद दिनु भएको छ । जहाँ गए पनि मानिसहरु उत्साहका साथ सदस्यता लिएका छन् । त्यसले मेरो आत्मवल बढेको छ । यस्तै बढ्दै गयो भने ४ हजार ५ सय भन्दा बढी सदस्य हुने देखिन्छ । अरु उम्मेदवारले बनाएका थुप्रै सदस्यहरुले समेत मलाई सहयोग गर्ने विश्वास दिलाएका छन् ।

सहमतिः
निर्वाचन अघि सहमतिको लागि सम्भवना नकार्न सकिन्न । छलफल गर्न सकिन्छ तर सहमतिको नाममा लोकतान्त्रिक प्रकृयालाई पनि रोक्नु हुन्न भन्ने मेरो धारणा छ । नेपाली समुदायको अपेक्षा र रेस्पोन्स् हेर्दा मैले पछि हट्नु पर्ने कारण देखेको छैन । त्यसले अन्य अध्यक्ष पदको लागि आकांक्षीहरु साथीहरुसंग म मिलेर काम गर्न चाहान्छु । मेरा एजेण्डा र योजनालाई सहयोग गर्न आग्रह गर्दछु । सहमति नभए निर्वाचनको लागि तयारी त गरेकै छु । चुनावमा जान्छु ।


सुशीला राई

सदस्यताः
सदस्यता बनाउँदै अहिले स्कटल्याण्ड आइपुगेकी छु । साथीभाई इष्टमित्र भेटघाटको क्रम चल्दैछ । बेलायतमा ठूलो संख्यामा भूपुगोर्खाहरु छन् त्यसैले सदस्यता वितरणमा सामान्य समस्या आएको छ । धेरैलाई भूपुगोर्खा एनआरएन होइनन् भन्ने भान परेको रहेछ तर पनि सबैलाई सम्झाएर सदस्यता वनाउँदै छु । सदस्य बन्नेहरुले आफैँ सदस्यता शुल्क हालेका छन् । पहिला २५ पाउण्ड सदस्यता शुल्क हुँदा त सबैले आफैँ तिरेका थिए । अहिले मेरो सदस्यताको लागि १२ वटा समूह सकृय छ । कति सदस्य आउछन् भनेर अहिलेनै भन्न सकिन्न तर १ हजार भन्दा बढी सदस्यहरु बन्छन भन्ने लागेको छ । सबै पक्षको सहयोगले उत्साहित छु ।

सहमतिः
नेतत्वमा सहमति गर्न म सकारात्मकनै छु । तर पहिलो सर्त हो समावेशी टिम बन्नु पर्छ । नेतृत्व गर्ने व्यक्तित्व सामाजिक क्षेत्रमा हिँडेको सकृय रुपमा योगदान दिएको हुनुपर्छ । गैरआवासीय नेपाली संघमा कसैको जित वा हार हुँदैन त्यसैले निर्वाचनमा जान समेत तयारीमा छु । सबै पक्षले सहमतिमा नेतृत्व चयन हुनु पर्ने वताए भने म बाधक बन्दिनँ । मेरो एजेण्डा अनुसारको कार्यसमिति बनेमा अर्को कुनै जिम्मेवारी लिएर सहमतिमा जान सकिन्छ ।

शेर बहादुर सुनार

सदस्यताः
एनआरएन युकेको सदस्यता वितरणको क्रममा मेरो निकै नमिठो अनुभव छ । त्यसले संघको भविष्य कहाँ पुग्ला भन्ने चिन्ता लागेको छ । जहाँ पुगे पनि जातीय कुरा मात्र गर्छन् । पुरै जातीय सद्भाव विग्रियको पाएँ । जातीय नारामा एनआरएन युकेको चुनाव गयो । मलाई सिधै कुन जातको हो भनेर समेत सोधे । वेलायतका प्रमुख संस्थाहरु तुमधिं युके र मगर संघ युकेले आआफ्ना उम्मेदवार अघि सारेर समाजलाई विभाजन तिर लाने काम भयो **। संस्थामा काम गरेकाको मूल्यांकन भएन । यो संस्था भित्र अल्पसंख्यकहरुको स्थान छैन भन्ने सन्देश जाने भयो । सदस्यता वितरणमा समेत पैसाको खोलो बगेको छ । सित्तैमा सदस्यता वितरण गर्ने काम भैरहेको छ । अल्डरशट क्षेत्रमा मानिसहरु आतंकित छन् । भेट्यो की एनआरएन युकेको सदस्य बनाइदेलान् भनेर भाग्ने गरेका छन् । पहिलाको चुनावमा भन्दा सदस्यहरुमा यो वर्षको चुनावमा चासो छैन । एनआरएनको मान्छे भेट्दा डराउने अवस्था छ । यो निर्वाचनले थुप्रै बिकृति ल्याएर आउने सम्भावना देखिन्छ । जबसम्म अनलाइनको सदस्यतालाई मात्र मान्यता दिइँदैन तबसम्म एनआरएन युकेको निर्वाचन स्वतन्त्र हँदैन । थुप्रै चुनौतीको बीच सदस्यता वितरणलाई तिब्र पारेको छु । शुरुमा ३ देखि ४ हजार सम्मको सदस्यता बनाउने अपेक्षा थियो तर जातीय सेन्टिमेन्टको कारणले त्यो सम्भव नहुने देखियो ।

सहमति
म पुरानो मान्छे भएको कारणले कसैलाई बाहिर पारेर नेतृत्व लिन चाहान्नँ । मिलेर जाने कुरामा मेरो असहमित छैन । म एनआरएनएको भविष्य देख्न चाहने मान्छे हो त्यसैले सहमतिको बाटोनै उत्तम विकल्प हो । मैले वर्तमान अध्यक्ष र संरक्षकहरुलाई पटक पटक सहमतिको लागि बसौं भनेर आग्रह गरेको छु । उहाँहरुले त्यति चासो देखाउनु भएन । अव सहमतिको लागि बाटो बन्द हुने दिन आइसके । ३१ जुलाई भन्दा पहिला सहमतिको लागि प्रयास भएन भने त्यो सम्भावना सकिन्छ । चुनावमा गयो भने एनआरएनए युकेको भविष्य धरासयी हुन्छ ।

मेरो उम्मेदवारी समाजको लागि परीक्षण हो । म चुनावमा जान तयार नै छु । सम्पूर्ण तयारी गरेको छु, अबको चुनावले फैसला गर्ने छ । के यो संस्था जातीयहरुले मात्रै नेतृत्व लिने हो ?

(**अध्यक्ष पदको लागि उम्मेदवार शेर बहादुर सुनारले यसअघि नेपालब्रिटेन डट कमलाई दिएको भनाईले सामाजिक सदभाव खल्बलिने सम्भावना भएको भन्दै आफ्ना भनाईहरु फिर्ता लिएका छन् । उनले तमुधिं युके र मगर संघ युके नाम मुछिएको प्रति गुनासो गरेका छन् । उनले बेलायती डायस्पोरामा रहेको जातीय समन्वय, सदभाव एवंम सहकार्यको परम्परालाई खलबलल पुराउन सक्ने भन्दै सबै पक्षसंग सचेत रहन अनुरोध गरेका छन् )

जनमत

[democracy id=”12″]