१५ चैत्र २०८०, बिहीबार
Follow Us

यी हुन् एनआरएन युकेको उपाध्यक्ष पदका उम्मेदवार !

नेपालब्रिटेन डट कम्
७ श्रावण २०७६, मंगलवार १९:३१

लण्डन । आगामी सेप्टेम्बर १४ मा हुने गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेको निर्वाचनको चटारोले छपक्कै छोपेको छ । कतिले रहरले नै सही, नेतृत्वमा आउन एनआरएन यूकेमा होडबाजी नै चलेको छ । नयाँ नेतृत्वको लागि हुने निर्वाचनमा ५ जनाले अध्यक्ष पदको लागि उम्मेदवारी नै घोषणा गरिसकेका छन् । संघको अहिलेको बिधानले ४ राज्य परिषदको उपाध्यक्ष र २ खुल्ला पदको परिकल्पना गरेको छ । संघको महासचिब राज कुमार त्रिपाठीका अनुसार कति जना उपाध्यक्ष रहने भन्ने बिषय निर्वाचन समिति र साधारणसभाले टुंगो लगाउने छ । संघको अहिलेको बिधानले ४ राज्य परिषदको उपाध्यक्ष र २ खुल्ला पदको परिकल्पना गरेको छ । त्रिपाठीका अनुसार, कति जना उपाध्यक्ष रहने भन्ने बिषय निर्वाचन समिति र साधारणसभाले टुंगो लगाउने छ । उपाध्यक्ष पद संख्या एकिन हुन् नसक्दा अन्योल कायम छ ।

यस अघि ललित न्यौपाने, प्रेम गाहा मगर, पुनम गुरुङ, सुशीला राई र शेरबहादुर सुनारले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । वर्तमान कार्यसमितिका उपाध्यक्ष रहेका पाँचै जनाले पुनः उपाध्यक्ष भएर काम गर्न इच्छा देखाएका छैन् । त्यसैले अगामी निर्वाचनमा गैरआवासीय नेपाली संघ युकेको उपाध्यक्षमा नयाँ अनुहारले प्रवेश पाउने सम्भावना देखिएको छ । उपाध्यक्ष पदको लागि बेलायतमा सकृय युवा व्यवसायीहरुले चासो देखाएका छन् ।

[democracy id=”11″]

सुनिल खड्का

यही सिलसिलामा वकिङ निवासी एक जना सफल व्यवसायी तथा समाजसेवी सुनिल खड्काले उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेका छन् । बेलायतको नेपाली डायस्पोरामा स्वच्छ छवि बनाएका खड्का बलियो प्रत्यासी मानिएका छन् ।
विगत १८ वर्षदेखि बेलायत बस्दै आएका चितवनका खड्का एनआरएनए अभियानमा लामो समयदेखि आवद्ध छन् । एनआरएनए यूके सल्लाहकार एवं परोपकार समितिको सदस्य सचिव, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका सदस्य, चितवन एड ट्रष्ट (क्याट) यूकेका पूर्व उपाध्यक्ष एवं सल्लाहकार खड्का दान र कल्याणकारी कार्य ‘पर्याय’ बनिसकेका छन्।

कमल पौडेल


यसैगरी एनआरएन युकेको उपाध्यक्ष पदमा कमल पौडेलले पनि उम्मेदवारी दिने भएका छन् । उनले लामो समययता रेमिट्यान्सको व्यवसाय गर्दै आएका छन् । सन् २००१ मा अध्ययनका लागि युके आएका उनले सन् २००३ देखि आइएमइ मनी ट्रान्सफर चलाउँदै आएका छन् । यसबाहेक उनको इन्भेष्टभेष्ट कम्पनी, व्यवस्थापन कम्पनी, प्रोपर्टी व्यवसायमा लगानी छ । उनी आएमइ ग्लोबल होल्डिंग्स युके र नेपाल जीएफडिआइ युकेका पनि निर्देशक छन् । उनको नेपालमा आइएमई लाइभ इन्स्योरेन्स, ग्लोबल आइएमई बैँक, हाथवे फाइनान्स, आइएमई कोअपरेटिभ, हाथवे इन्भेष्टमेण्टअन्तर्गत हाइड्रो आदिमा पनि लगानी छ । नेपालको बाग्लुङमा जन्मिएका पौडेल विदेशमा रहेका नेपालीहरूको साझा संगठनका रूपमा रहेको गैरआवासीय नेपाली संघ युकेको कार्यसमितिमा रहेर समाजसेवा गर्ने उद्देश्यले आफ्नो उम्मेदवारी अघि सारेको बताउछन् । संस्थामा इमान्दारीपूर्वक काम गर्ने संकल्प तथा साथीभाई अनि अग्रजहरुको सल्लाह बमोजिम उम्मेदवारी दिने सोच बनाएको उनले बताए ।

बिष्णु खरेल

युवा व्यवसायी तथा समाजसेवी बिष्णु खरेलले पनि उपाध्यक्षमा उमेदवारी दिने भएका छन् । करिब दुई दशक अगाडी बेलायत आएका खरेल परोपकारी काममा निकै सक्रिय छन् । आफूले केही लिनुभन्दा पनि नेपाली समाजलाई केही दिनसक्छु भनेर एनआरएनए अभियानमा होमिएको खरेलले बताए । नेपालका भूकम्प पिडीतहरुलाई करिब ५ लाख रुपैयाँ सहयोग गरेका खरेल लामो समयदेखि विभिन्न सामाजिक काममा सकृय छन् । अब गैरआवासीय नेपाली संघ मार्फत समाजमा थप केही गरौं भन्ने भावना बोकेर उपाध्यक्षमा उम्मेदवार निर्णयमा पुगेको उनको भनाई छ । बेलायतमा रेष्टुरेन्ट व्यवसायमा सकृय उनको नेपालमा रियलस्टेड, सिनेमा, हाइड्रो लगायतको क्षेत्रमा लगानी रहेको छ ।

पशुपति पोखरेल

यस्तै बेलायतको लेस्टर शहरमा बसोबास गर्दै रेस्टुरेन्ट ब्यवसाय गर्दै आइरहेका पशुपति पोखरेलले पनि एनआरएनए यूकेको निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । पाल्पाका पशुपति पोखरेल २००८ देखि वेलायतमा बसोबास गर्दै आएका छन् ।
नेपालमा रहँदा विद्यार्थी संगठन र रेडक्रसमा सक्रिय उनले एनआरएनए युकेको सल्लाहाकारमा तीन कार्यकाल विताएका छन् । उनी साझा नेपाली समाजको पनि सल्लाहाकार हुन् ।

रोजिना प्रधान राई

बेलायत निवासी एक महिला अभियन्ता रोजिना प्रधान राई पनि एनआरएनए यूकेको आसन्न निर्वाचनमा होमिने भएकी छन् । रोजिनाले सेप्टेम्बरमा हुन लागेको संघको नवौं कार्यसमितिका लागि महिला उपाध्यक्षमा उम्मेदवारी दिने जनाएकी छन् ।
उनले आफ्नो अभियानमा साथ दिन बेलायतवासी नेपालीसमक्ष अपिल गरेकी छन् । रोजिहिरा लिमिटेड कम्पनीकी प्रवन्ध निर्देशक रोजिना बेलायतको नेपाली डायस्पोरामा सक्रिय छन् । उनले विभिन्न संस्थामार्फत समाजसेवामा आफ्नो उपस्थिति जनाउँदै आएकी छन् । रोजिहिरा फाउण्डेशनकी अध्यक्ष उनी ब्लाइन्ड रक्स यूकेको उपाध्यक्ष, किरात राई यायोख्या महिला विभागको महासचिव, नेपलिज वुमन एसोसिएसन यूकेको आजीवन सदस्य, हयूमन राइट्स यूकेको सदस्य पनि छिन् । काठमाडौंमै जन्मे हुर्केपनि अहिलेको स्थानमा आइपुग्न धेरै संघर्ष गर्नुपरेको उनले सुनाइन् । एङ्लिया रस्किन युनिभर्सिटीबाट विजनेश एडमिनिस्ट्रेसनमा मास्टर्स गरेकी उनले युनिभर्सिटी अफ वेष्ट लन्डनमा नर्सिंङ अध्ययन पूरा गरेकी छिन् ।

सुरोज मास्के

यसैक्रममा एनआरएन यूकेको वर्तमान कार्यसमितिका सचिव सुरोज मास्केले पनि आफ्ना चुनावी एजेण्डाहरु सार्वजनिक गर्दै उपाध्यक्ष पदमा आफ्नो उमेद्वारी घोषणा गरेका छन् ।
संघको सचिवको रुपमा रहँदा उनलाई व्यापार बिभागको जिम्मेवारी दिईएको थियो । उनले पाएको जिम्मेवारी अनुरुप प्रभावकारी कार्यसम्पादन गरेका थिए ।

फूलप्रसाद कँडेल


आगामी अधिवेशनमा व्यवसायी फूलप्रसाद कँडेलले २०१९–२०२१ को कार्यकालका लागि उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

विगत लामो समयदेखि एनआरएन यूकेलाई नजिकबाट हेदै कँडेल विभिन्न संघसंस्थामा आबद्ध छन् । बाग्लुंग समाजको आजीवन सदस्य हुँदै चित्तवन समाज यूके (क्याट ) का आजीवन सदस्य, पशुपतिनाथ मन्दिर लन्डनका आजीवन सदस्य, ब्यूकोट हेल्प् नेटवर्कका सल्लाहकार हुन् । बागलुङ जिल्ला अग्रल सिले निवासी कँडेलले बेलायतमा रेस्टुरेन्ट व्यवसाय गरेर विगत १५ वर्षदेखि बस्दै आएका उनी हाल एनआरएन यूकेको साधारण सदस्य छन् ।

लालबहादुर ( एलबिजेड) गुरुङ

एनआरएन यूकेका युवा संयोजक लालबहादुर ( एलबिजेड) गुरुङले आउँदो कार्यकालको लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । एनआरएनए यूकेको गत निर्वाचनमा अत्याधिक मतसहित युवा संयोजकमा विजयी भएका थिए गुरुङ । उनले आफ्नै संयोजनमा नेपालबाट महानायक राजेश हमाल र चर्चित टेलिभिजनकर्मी दिलभुषण पाठकलाई बेलायत ल्याएर एक बृहत अन्तरसम्वाद कार्यक्रम आयोजना गरेका थिए । बेलायतको प्रतिष्ठित युसिएल ( युनिभर्सिटी कलेज लण्डन) मा समेत यहाँका नेपाली युवा र विद्यार्थीहरुको सहभागितामा उनले अन्तरक्रिया गराएका थिए । टिडवर्थ नेपाली कम्युनिटी यूकेका पूर्व अध्यक्ष समेत रहेका गुरुङले बेलायतमा गोर्खा र युवाहरुसंग निकै नजिक रहेर काम गर्दै आएका छन् । एक सफल इभेन्ट आयोजकका रुपमा बेलायतमा थुप्रै नेपाली सांस्कृतिक कार्यक्रम र नेपाली फिल्महरुको प्रदर्शनी उनले आयोजना गर्दै आएका छन् ।

भीम सारु

व्यवसायी तथा रोयल इञ्जिनियर्सका अधिकृत भीम सारुले एनआरएन यूके उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । समाजसेवामा चासो राख्ने सारु इमेज लिमिटेडका मालिक तथा सञ्चालक र रोयल इन्जिनियर्स अधिकृत छन् । बेलायत स्थित ब्रिटिस गोर्खा भेट्रानको सक्रिय सदस्यका रुपमा कामगर्दै आएका ननिटन मिडल्यान्ड,निबासी सारुको स्थायी घर पाल्पा हो । उनी बेलायत आएको २७ वर्ष बितिसकेको छ । उनी बेलायतमा पोस्टर, ब्यानर डिजाइन र प्रिन्टिङमा चर्चित छन् ।