४ बैशाख २०८१, मंगलवार
Follow Us

एसईईमा नयाँ व्यवस्था, माथिको आदेशमा सबैले पूरक परीक्षा दिन पाउने

नेपालब्रिटेन डट कम्
७ श्रावण २०७६, मंगलवार ०२:२२

काठमाडौं–परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले ‘माथिको आदेश’मा पूरक परीक्षाको सिद्धान्त विपरित दुई भन्दा बढी विषयमा कम ग्रेड ल्याउने विद्यार्थीलाई पनि परीक्षामा सामेल गराउन लागेको खुलेको खबर छ ।
गत वर्ष पनि यस्तै व्यवस्थाअनुसार परीक्षा लिइएको थियो । तर परीक्षा अव्यवस्थित भएपछि यस वर्ष बढीमा दुईवटा विषयसम्म त्यस्तो नतिजा ल्याउने विद्यार्थीलाई परीक्षामा सामेल गराउने सूचना पनिकाले सार्वजनिक गरेको थियो । यद्यपि ‘माथिको आदेश’मा सूचना परिमार्जन गर्नुपरेको पनिकाका पदाधिकारीहरूले बताएका छन् । पूरकको सिद्धान्तअनुसार बढीमा दुई विषयसम्मको पुनः परीक्षा दिन पाइन्छ । नयाँ सूचनाअनुसार परीक्षार्थीले चाहेजति सबै विषयमा पूरक परीक्षा दिन पाउने छन् ।
परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले पूरक परीक्षाको मर्म नै बढीमा दुई विषयसम्म पुनः परीक्षा दिन पाउने बताए । उनी भन्छन्, “त्यसैअनुरूप सूचना प्रकाशित गरेका थियौँ । माथिबाट सबै विषयमा परीक्षा गर्नू भनियो । यो पूरक परीक्षाको मर्म नै होइन । यसले प्रवेशिकाको स्तरलाई कमजोर तुल्याउने छ । ” हालै प्रकाशित २०७५ सालको एसईई परीक्षाको नतिजा लाजमर्दो छ । यसलाई ढाक्न शिक्षा मन्त्रालयले नै सबै विषयमा पूरक परीक्षा दिन पाउने व्यवस्था गराएको शिक्षाविद्हरूको आशङ्का छ । आजको गोरखापत्र दैनिकमा यो खबर छापिएको छ ।