१३ बैशाख २०८१, बिहीबार
Follow Us

भारतीय राष्ट्रपति मुखर्जी पशुपतिमा पूजाअर्चनापछि दीक्षान्त समारोहमा

नेपालब्रिटेन डट कम्
१८ कार्तिक २०७३, बिहीबार ०५:०३

काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पशुपतिनाथ मन्दिरमा लाखबत्ती र पञ्चामृत अभिषेकसहितको विशेष पूजा गर्ने भएका छन् । राष्ट्रपति मुखर्जीले पशुपतिमा विशेष पूजा गर्ने र त्यसका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । राष्ट्रपति मुखर्जीको स्वागतका लागि पशुपतिनाथ मन्दिरमा भव्य स्वागतको तयारी भएको छ । पशुपतिनाथ मन्दिरको पश्चिम प्रवेशद्वारसहितका स्थानमा पुुष्पमालाले सजाइएको छ । राष्ट्रपति पशुपति आउँदा विशेष साँस्कृतिक झाँकी प्रस्तुत हुनेछ । सन्ध्या पुस्तकालयले परम्परागत बाँसुरी, ज्यापु पुचःले धिमे, सिर्जनशील युवा क्लबले साँस्कृतिक झाँकी प्रस्तुत गर्दैछन् । राष्ट्रपति मुखर्जीले पशुपतिनाथको दक्षिण मुहार अघोरतर्फबाट पञ्चामृतसहितको रुद्राभिषेक पूजा गर्र्न कार्यक्रम छ । राष्ट्रपति मुखर्जीलाई मन्दिरको दक्षिण ढोकाको भित्री चाँदीको छेकवार हटाई आसन ग्रहणको व्यवस्था गरिएको छ । यसैबीच बिशिष्ठ अतिथिको पूजा अर्चनालाई कारण देखाउँदै पशुपति परिसरमा सर्वसाधारणको प्रवेशलाई निशेध गरिएको छ । यसैबीच पशुपति आसपासका क्षेत्रमा सडक खाली गरिएको छ ।

प्रमुख दलका शीर्ष नेतासँग भेट
नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणब मुखर्जीको आज ब्यस्त कार्यतालिका रहेको छ। मुखर्जीसँग आज उनका कलेज समयका मित्र समेत रहेका पूर्व राष्ट्रपति रामबरण यादव सहित प्रमुख दलका शिर्ष नेताले भेटवार्ता गर्नेछन् । मुखर्जीसँग आज दिउँसो एक बजे राष्ट्रपति डाक्टर यादबले भेटवार्ता गर्ने कार्यक्रम छ । त्यस्तै साँझ नेपाली कांग्रेस, नेकपा एमाले र मधेस केन्द्रित दलका नेतासँगको भेट तय गरिएको छ। मधेस केन्द्रित दलका नेतासँग साँझ छ बजे, कांग्रेस नेताहरु सात बजे र त्यसपछि नेकपा एमालेका नेताले सामुहिक भेट गर्ने कार्यक्रम छ । मधेस केन्द्रित दलका लागि विस मिनेट, कांग्रेस र नेकपा एमालेका नेताहरुका लागि पन्ध्र मिनेटको समय निर्धारण गरिएको छ । यसअघि हिजो मुखर्जीसँग राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले शिष्टाचार भेट गरेका थिए । भेटमा मुखर्जीले नेपालमा नयाँ संबिधान जारी भएकोमा बधाई दिएका थिए ।

आज पनि राजधानीको आवागमन प्रभावित
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका क्रममा आज सार्वजनिक सडक प्रभावित हुने भन्दै बैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । भारतीय राष्ट्रपति मुखर्जी काठमाडौं विश्वविद्यालयले दिने मानार्थ विद्यावारिधि लिन बिहीबार नेपाली सेनाको अडिटोरियम हल भद्रकाली जाँदा त्यस क्षेत्रको सवारी अबरोध हुनेछ। दिक्षान्त समारोहपछि मुखर्जी हायात होटेल फर्कँदा पनि त्यस क्षेत्रका सडकखण्ड खाली गराइने हुँदा यातायात अस्तव्यस्त हुने बताइएको छ । प्रहरीका अनुसार बिहान ९ देखि ११ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, थापाथली, जोरपाटी क्षेत्रमा अवरोध हुनेछ । त्यस्तै, दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, पुरानो बसपार्क, थापाथली, जोरपाटी, कोटेश्वर, पुतलीसडक, प्रदर्शनीमार्ग क्षेत्रमा सवारी अवरोध हुनेछ । साँझ ५ बजेदेखि बेलुकी ७ बजेसम्म सिंहदरबार, भद्रकाली, न्युरोड गेट, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, सोह्रखुट्टे, जयनेपाल, कोटेश्वर, नागस्थान, ठमेल क्षेत्रमा मुखर्जीको सवारी छ । यसैगरी, साँझ साढे ६ बजेदेखि बेलुकी साढे ८ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घन्टाघर, पुरानो बसपार्क, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जयनेपाल, कोटेश्वर, पुरानो बानेश्वर, शंखमूल क्षेत्रको सडक प्रयोग नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । बेलुकी पौने ८ बजेदेखि बेलुकी पौने १० बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, बत्तीसपुतली क्षेत्रमा सवारी छ । शुक्रबार भने भने एकपटक मात्र सडक अवरोध हुनेछ । मुखर्जी हायात होटेलबाट जनकपुर जान विमानस्थल जाँदा सडक अवरुद्ध हुनेछ । बिहान ९ बजेदेखि ११ बजेसम्म बौद्ध, चुच्चेपाटी, चाबहिल, मित्रपार्क, गौशाला, तिलगंगा, एयरपोर्ट सडक अवरोध हुने ट्राफिक प्रहरीले जनाएको छ । मुखर्जी जनकपुरबाट पोखरा पुगी काठमाडौं फर्किएर विमानस्थलबाटै भारत फर्कने कार्यक्रम छ ।