८ बैशाख २०८१, शनिबार
Follow Us

कूटनीतिक मर्यादा नाघेर ‘रअ’ प्रमुखसँग भेट

नेपालब्रिटेन डट कम्
८ श्रावण २०७६, बुधबार ०३:०५

 

काठमाडौं – भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल काठमाडौं आई केही उच्च नेतालाई भेटेर फर्किएका छन्। करिब एक महिनाअघि उनले ‘रअ’ को नेतृत्व पाएका थिए। यो जिम्मेवारी पाएपछि पहिलोपटक आइतबार नेपाल आएका उनले सोदी दिन बेलुका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग काठमाडौंस्थित भारतीय दूतावासमा र सोमबार बिहान सत्तारुढ नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग उनकै निवास खुमलटारमा भेट गरे।

कांग्रेस सभापति देउवासँग ‘रअ’ प्रमुख गोयलले भेटेको विषयलाई स्रोतले पुष्टि गरे पनि देउवाको सचिवालयले भने अस्वीकार गरेको छ। उनका स्वकीय सचिव भानु देउवाले सभापति देउवाले ‘रअ’ प्रमुखसँग भेटवार्ता नगरेको बताए। तर भारतीय दूतावास स्रोतले सभापति देउवासँग भेट भए पनि खासै कुरा केही नभएको दाबी गरेको छ।

नेकपा अध्यक्ष दाहालको सचिवालयले पनि सुरुमा यो विषयलाई गोप्य नै राख्न खोजेको थियो। तर पछि गोयलसँग भएको भेटलाई दाहालको सचिवालयले पुष्टि ग¥यो। गोयलले दाहालसँग छोटो समय भेट गरेको सचिवालयले जनाएको छ। ‘प्रधानमन्त्रीसँग भेट गरेपछि सत्तारुढ दलका अध्यक्षका हिसाबले अध्यक्षज्यूसँग पनि रअ प्रमुख गोयलले भेट गरेका हुन्,’ दाहालको सचिवालयका एक सदस्यले भने, ‘भेट औपचारिक मात्र भएकाले सामान्य कुराकानी मात्र भयो।’ नागरिकमा खबर छ ।