१२ बैशाख २०८१, बुधबार
Follow Us

टेलिभिजनमा मन्त्रीको भाषण सुनेर जनता वाक्क

नेपालब्रिटेन डट कम्
१० श्रावण २०७६, शुक्रबार १८:०६

काठमाण्डौैं । “राष्ट्रको मुहार आम जनताको आस्थाको धरोहर नेपाल टेलिभिजनको सेवा साच्चिकै आम जनताको जीवन र जगत्सँग जोडिएको हुनुर्पछ । जनताले अत्यधिक रुचाएको देशकै गौरव र सम्मानित संस्था टेलिभिजनको दायित्व अनअपेक्षाभन्दा अरु हुनैसक्दैन । मन्त्रीको भाषणभन्दा जनताको चित्कार टेलिभिजनको पर्दामा आउनुप¥यो ।” नेपाल टेलिभिजनको सिंहदरबारस्थित छायाङ्कन स्टुडियोमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा भन्दै हुनुहुन्थ्यो, “म मन्त्रीको भाषण पहिला आउनुपर्दैन, देशमा कहीँ ठूलो दुर्घटना भएको छ, भने त्यहाँको वस्तु विवरण, जनताले भोगेको सास्ती, उद्धार राहतका कुरा पहिला आउनुप¥यो ।”

नेपाल टेलिभिजनको गत आव २०७५/०७५ को समीक्षा र चालू आवको कार्ययोजनाबारे आज भएको समीक्षामा मन्त्री बाँस्कोटाले नेपाल टेलिभिजन देशको सम्मानित र जनताले अत्यधिक रुचाएको संस्था भएकाले जनताको भावनालाई केन्द्रित गरेर जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “टेलिभिजन व्यक्ति र दलभन्दा माथि राष्ट्रको माध्यम बन्नुपर्छ, ‘चारतारे र लालतारे’ कुरा गरेर समय बर्बादी नगरौँ, संस्थाको काम छोडेर चियामा गफिनुभन्दा सिर्जनशील भएर संस्थाको हितमा समर्पित बनौँ, अब कडा अनुगमन गरिन्छ । लक्ष्य प्राप्ति मात्रै टेलिभिजनको दीर्घ जीवन हो ।”

संस्थामा अनुशासन, कर्तव्य र जिम्मेवारी सिङ्गो संस्थाको सफलतासँग जोडिएको विषय हो भन्दै मन्त्री बाँस्कोटाले देश र जनताको भावनासँग जोडिएको टेलिभिजनको व्यावसायिकतालाई केन्द्रमा राखेर जिम्मेवारीपूवर्क अघि बढ्न आग्रह गर्नुभयो ।

“आज परिस्थिति अर्कै छ । प्रतिस्पर्धी बजारको चुनौतीलाई चिर्न सबैको सहकार्य जरुरी छ । टेलिभिजनको सङ्ख्या र प्रकृति बढ्दो छ । हजारौँको भीडमा नेपाल टेलिभिजन पृथक छ, र पृथक राखिरहनुपर्छ यसले सिङ्गै देश बोक्छ । कुनै वर्ग, कुनै जाति, भाषा वा कुनै दल, विचार, दर्शन र मान्यता मात्रै बोक्दैन यसले त हिमाल, पहाड र तराई तथा समग्र देशको चित्रलाई प्रतिनिधित्व गर्छ,” सञ्चारमन्त्री बाँस्कोटाले भन्नुभयो ।

उहाँले टेलिभिजनले प्रविधिमा रुपान्तरण, विषयवस्तु र प्रस्तुतीमा फरक शैली अपनाएर बढीभन्दा बढी जनताको पहुँचमा जानसक्नुनै सफलताको कडी हो भन्नुभयो । नीतिगत सुधारका काम पनि अघि बढाइएको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले टेलिभिजन र रेडियो नेपाललाई गाभेर सार्वजनिक प्रशारणको रुपमा अघि बढाउन कानून निर्माणको चरणमा रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल टेलिभिजनका अध्यक्ष डा महेन्द्र विष्टले टेलिभिजनको सेवालाई समय सापेक्ष प्रविधिमैत्री र विषयवस्तुको गुणस्तर अभिवृद्धि गर्ने गरी काम थालिएको उल्लेख गर्नुभयो । टेलिभिजनको जनशक्ति र स्रोत साधनको भरपूर उपयोग गरी प्रतिस्पर्धी बजारमा आफ्नो संस्थालाई अब्बल बनाउने योजना सुनाउनुभयो ।

टेलिभिजनको गत आवको समीक्षा र आगामी कार्ययोजना प्रस्तुत गर्दै टेलिभिजनका महाप्रबन्धक सचिन रोकाले आव २०७५÷०७६ मा ‘नेपाल टेलिभिजनको रुपान्तरणको वर्ष’ को रुपमा घोषणा गरी काम अघि बढाएकोमा प्रविधि विस्तार भएको उल्लेख गर्नुभयो । उहाँले नेपाल टेलिभिजनका चारवटै च्यानललाई हाई डेफिनेसन ९एचडी० प्रविधिमा रुपान्तरण गरिनु अघिल्लो वर्षको सबैभन्दा ठूलो उपलब्धि हो भन्नुभयो ।

आम्दानी बढाउने र खर्च घटाउने रणनीतिक कार्ययोजनाका साथ काम अघि बढाइएको जानकारी दिँदै महाप्रबन्धक रोकाले यो वर्ष ‘विषयवस्तुमा सुधार र पहुँचमा विस्तार’ भन्ने नाराका साथ काम अघि बढाइने उल्लेख गर्नुभयो ।

नेपाल टेलिभिजन सञ्चालक समिति सदस्य टङ्क पन्तले टेलिभिजनको जनशक्तिलाई प्रतिस्पर्धी बजारमा प्रविधि र विषयवस्तुको सुधार गरी खरो रुपमा प्रस्तुत गरिनुपर्ने खाँचो औँंल्याउनुभयो ।

नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन शाखाका अध्यक्ष निराजन खनाल, टेलिभिजन कर्मचारी सङ्घका अध्यक्ष गोविन्द धिताल र टेलिभिजन कर्मचारी युनियनका अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतले संस्थागत सुदृढीकरणसँगै कर्मचारीको वृत्तिविकाससँग जोडिएका कामलाई प्रभावकारी रुपमा अघि बढाइनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल टेलिभिजनमा गत आवमा उत्कृष्ट काम गर्ने विभिन जिल्लाका नौ जना जिल्ला समाचारदातालाई नगद रु १० हजार र प्रशंसा–पत्रसहित सम्मान गरिएको थियो । टेलिभिजनमा ३० वर्ष सेवा गर्ने कर्मचारीलाई स्वर्ण पदक र २० वर्ष सेवा गर्ने विभिन्न कर्मचारीलाई दीर्घ सेवा पदकद्वारा सम्मान गरिएको थियो । तीसबै पुरस्कार सञ्चारमन्त्री बाँस्कोटाले वितरण गर्नुभएको थियो । सोही अवसरमा टेलिभिजनको समाचार निर्देशिका, शैली पुस्तिका, ड्रेस कोड र टेलिभिजनको आगामी कार्ययोजनासम्बन्धी पुस्तक विमोचन गरिएको थियो ।

विसं २०४१ माघमा परियोजनाका रुपमा स्थापना भएको नेपाल टेलिभिजनले विसं २०४२ पुस १४ गतेदेखि औपचारिक प्रसारण शुरु गरेको थियो । हाल १९ वटा भूसतही प्रसारण केन्द्रमार्फत ५२ प्रतिशत भूगोल र ७२ प्रतिशत जनसङ्ख्यामा पहुँच विस्तार गरेको छ । भूउपग्रहमार्फत विश्वका १४६ भन्दा बढी देशमा नेपाल टेलिभिजनका चारवटै प्रसारण हेर्न सकिन्छ । नेपाल टेलिभिजनमा सबै सेवाका गरी करीब ४०० कर्मचारी छन् ।