८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए स्विडेनको अध्यक्षमा दिनेश श्रेष्ठले उम्मेदवारी दिने

नेपालब्रिटेन डट कम्
१० श्रावण २०७६, शुक्रबार १८:३६

स्विडेन । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्विडेनको आगामी कार्यकाल २०१९–२०२१ को लागी अध्यक्ष पदमा दिनेश श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

विगत ६ वर्षदेखि संस्थाको विभिन्न पदमा रहेर काम गर्दै अबको नेतृत्व सम्हाल्न अध्यक्षमा उम्मेदवारी घोषणा गरेका श्रेष्ठ वर्तमान कार्यसमितिका महासचिव समेत हुन् ।

एनआरएनलाई नारामा जस्तै सबैको साझा संस्थाको रुपमा विकास गर्ने, सदस्यहरूका भावनाको प्रतिनिधित्व गर्ने, संस्थालाई आर्थिक रुपमा थप सबल बनाउने, स्वीडेनमा अत्यन्त महत्वपूर्ण र आवश्यक देखिएको परोपकारी अक्षयकोष स्थापनाको गर्ने, संस्थाभित्रका विकृतिहरू हटाउन पहल गर्ने, समाजको बृहत्तर हित र नेपाली समुदायमा जो कोहीलाई पर्न सक्ने दुख, विपदको समाधानको लागि हेल्प डेक्सको स्थापना गर्ने जस्ता मुख्य एजेण्डाहरू उनले आफ्नो चुनावी घोषणा पत्रमा अघि सारेका छन् ।

त्यसैगरी उनले अन्य देशहरूबाट स्थानान्तरण भएर आएका नयाँ साथीहरूको लागि चाहिने आवश्यक सहयोग र त्यसका लागि अपनाउनु पर्ने प्रक्रिया र स्विडेनको कानुन सम्बन्धि ज्ञानको लागि सम्बन्धित दक्ष व्यक्ति वा कानुनी व्यवसायी मार्फत उचित सल्लाह र परामर्श दिने व्यवस्था हेल्प डेक्स मार्फत गर्ने, एनआरएनको दोश्रो पुस्ताका भाइ बहिनीहरूका लागि मातृभाषाका कक्षा सञ्चालनको लागि पहल गर्ने लगायतका प्रतिबद्धतासमेत गरेका छन्।

प्रवासमा भावनात्मक तथा एकताको मार्गमा संगै अगाडि वढ्नु पर्छ भन्ने चाहना राख्ने, त्यसको लागि सबै तह तप्काका व्यक्तिहरूसँग समन्वय गरी संस्थालाई एक दरिलो खम्बा बनाउनका लागि प्रणका साथ आफ्नो उम्मेदवारी दिएको डिसी नेपाल प्रतिनिधिसँगको कुराकानीमा उनले बताए।

संघको निर्वाचन आउँदो १७ अगष्टमामा हुँदैछ्।